आफ्नै फुलबारी रमाउने सिताराम

शेयेर गर्नुहोस


लक्ष्मण बिक,.
टीकापुर २७ कार्तिक
/यतिबेला नेपालीहरुको दोस्रो महान् पर्व सबैको घर आँगनमा आइसकेको छ ।
यो समयमा हिन्दू समाजले भाइटिका तथा अन्य शुभ कार्यमा फूलको माला लगाउने गर्दछन् । विशेषगरी फूलको माला आफ्नो दिदीबहिनीहरुबाट लगाउने आयू बढ्ने तथा चिताएको पूरा हुने जनविश्वास रहेको पाइन्छ । यो समयमा अहिले टीकापुरका एकमात्र पुष्प व्यवसायी सीताराम चौधरी आफ्नो फूलबारीमा नै समय बिताउँदै आइरहेका छन् । तिहार नजिकिएसँगै उनी फूलमा गोडमेल तथा फूल व्यवस्थापनमा नै बढी व्यस्त हुने गरेका छन् ।
विगतका वर्षहरुमा सिकाइको रुपमा नै लिएको यो व्यवसायीलाई अहिले सीतारामले व्यवसायिक रुपमै अगाडि बढाइरहेका छन् । साँझ-बिहान फूल व्यवसायमा लाग्ने सीतारामलाई भने यो व्यवसायबाट कुनै पनि चाडवाड घरपरिवारमा बसेर मनाउने फुर्सद हुँदैन । गतवर्ष सीतारामले १० कठ्ठा क्षेत्रफलमा फूल खेती गरे तापनि अहिलेको विषम परिस्थितिमा सो क्षेक्रलाई घटाएर ८ कठ्ठामा मात्रै फूल खेती गरेका छन् । सीतारामको फूलबारीमा विशेषगरी, सयपत्री फूल ढकमक्क फुलेका छन् । यो अवस्थामा तिहार लक्षित फूल खेती गरेका सीतारामको फूलबारीमा फूल पूणर्रुपमा तयार भइसकेका छन् ।
चाडवाडबाहेक अन्य कुनै पनि समयमा शुभ/अशुभ कार्यका लागि उनलाई विभिन्न ठाउँबाट फोन सम्पर्क गर्दै फूल अर्डर हुने गरेको सीताराम बताउँछन् । ‘म जहिले पनि टीकापुर क्षेत्रमा लागि नौलो काम काम गर्ने व्यक्ति हुँ । विगतका वर्षहरुमा मैले विभिन्न क्षेत्रमा सम्भवतः पहिलो हुने गरी काम गरेको छु ।’ सीतारम भन्छन्, ‘यो फूल खेती पनि टीकापुरको लागि नौलो हो । मेरो उद्देश्य भनेको नयाँ-नयाँ काम गर्ने जाने नै हो । ’
फूलको बजारीकरणमा अहिलेसम्म कुनै किसिमको समस्या नभएको बताउँदै उनको खुला फूल तथा तयारी अवस्थाका मालाहरु बिक्री गर्न भ्याइ/नभ्याई भएको छ । उनको फूलको माला छिमेकी जिल्ला बर्दिया, कञ्चनपुर, डोटी, बझाङ, बाँके, बर्दिया, सुर्खेतसम्म पुग्ने गरेको छ ।
कोरोना भाइरसको विषम परिस्थितिमा लगभग धेरैभन्दा धेरै क्षेत्रमा प्रभाव परिरहेको बेला समेत सीतारामलाई फूल व्यवस्थापन गर्न भ्याइ/नभ्याई भएको बताएका छन् । उनको फूलबारीमा मनै लोभ्याउने सयपत्री फूल तथा पुतलीहरु खेलेको देख्दा कसैको पनि मन नलोभ्याउला भन्न सकिँदैन । कोरोना भाइरसका कारण कतै फूल बिक्री हुने होइन की भनी चिन्तामा रहेका सीतारामलाई अहिले माग अनुसार फूल पुर्‍याउन सकिदैन की भन्ने चिन्ता भएको छ । सीतारामले गरेको मिहेनत अनुसार भएको आम्दानीबाट खुसी छन् ।
यो पेशामा सुदूरपश्चिम क्षेत्रमै आफू एक्लो भएकोले फूलको आपूर्ति गर्न कठिनाइ भइरहेको बताउँदै अन्य बेरोजगार युवाहरु समेत आफूसँग जोडिन आग्रह गर्दै आएका छन् । त्यसका लागि उनी जहिले पनि तयार रहने तथा निःशुल्क प्राविधिक ज्ञान समेत दिने बताएका छन् ।
यो व्यवसायबाट उनको घर परिवार तथा अन्यलाई समेत अस्थायी रुपमा रोजगार प्रदान गरेको सीताराम बताउँछन् । आगामी दिनमा सीतारामले सयपत्री फूलमात्रै नभएर विभिन्न रङ्गहरुका ग्ल्याडुलस तथा गोदावरी फूल समेत लगाएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *