आयोजना सम्बन्धि अन्तरक्रिया गोष्ठी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २१ भदौ /
रानी जमरा कुलरीया सिचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले गत आर्थिक वर्षमा सञ्चालन भएका र चालू आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा रानी जमरा कुलरीया मुल कुलो समितिका अध्यक्ष कुमारराज शाहीले टीकापुर क्षेत्रका लागि आयोजना वरदानको रुपमा आएको बताएका छन् । अध्यक्ष शाहीले कृषि क्षेत्रमा किसानहरूलाई आत्मनिर्भर बनाउने काममा आयोजनाको भुमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसमा किसानहरु इमानदार हुन जरुरी रहेको बताए । उनले शीत भण्डार नयाँ प्रबिधिमार्फत निर्माण हुने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा कृषक शिव थापाले किसानहरूप्रती स्थानीय सरकार जिम्मेवार बन्न नसकेको बताउँदै बजारीकरणमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताएका छन् । “हाम्रो फार्ममा उत्पादन भएको दुधको बजार मूल्य ५४ छ । त्यही दुध ब्यापारीले उपभोक्तालाई ७० मा बिक्री गर्ने गरेका छन् । यसबाट किसान पनि मरेको छ भने उपभोक्ता पनि ।” शिवले भन्नुभयो, ” हाम्रो लगानी एक लिटर दुधमा ६५ रुपैयाँ खर्च हुन्छ । बजारीकरण छैन । ११ रुपैयाँ सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।”
त्यस्तै धनसिंह साउँदले टीकापुरका लागि शीत भण्डार महत्त्वपूर्ण रहेको बताउँदै त्यसको निर्माणका लागि ढिलाई गर्न नहुने बताएका छन् । उनले आयोजनाको काम अन्तिम चरणमा रहेकोले अझै पनि शीत भण्डार निर्माणको काममा ढिलाई गरे किसानहरूका लागि दुर्भाग्य हुने बताएका छन् । कार्यक्रममा सुमती चौधरीले अनुदानमा कृषकहरुलाई एक किसिमको अनुदान भन्ने तर त्यसको खर्च पछि १५ देखि २० प्रतिशत बढी रकम तिर्नुपरेको बताएकी छन् । उनले अनुदान पाइसकेका कृषकहरुलाई आयोजनाले निरन्तर निगरानीमा राख्न आवश्यक रहेको बताएकी छन् ।
रानी कुलो समितिका अध्यक्ष लालबिर चौधरीले अनुदान पाएका कृषकहरुले बजारमा आफ्नो बस्तु बिक्री गर्दा अन्यको भन्दा थोरै भएपनि सस्तोमा उपभोक्तालाई उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले एकल महिलाहरूलाई कोटाको आधारमा नभई मागको आधारमा जतिसक्दो बढी सहयोग गर्न आवश्यक रहेको बताएका छन् । किसान भिमबहादुर महरले आयोजनाको समयावधि सकिनै लाग्दा किसानहरूलाई दीर्घकालीन रुपमा कृषिमा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । उनले किसानहरूलाई दीर्घकालीन रुपमा यथास्थितिमा राख्नको लागि बजारीकरणलाई सबल बनाउनु पर्ने भन्दै अनुदानमा मात्रै सिमित नराखी दिगोपनाका कार्यक्रमलाई सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।
कृषि कार्यक्रम कार्यान्वयन इकाईका तोजना अधिकृत दीलिपजंग रानाले गत आर्थिक वर्षमा आयोजनाले भौतिक प्रगति ९५ प्रतिशत र बित्तीय प्रगति ७४ दशमलव २४ प्रतिशत गरेको बताएका छन् । आयोजनाको कार्यालयमा कृषि औजार उपकरणका लागि किसानहरूबाट १ हजार, १ सय ३० जनाको आवेदनमा ४ सय ८८ जना कृषकलाई ६ सय ५१ वटा कृषि यन्त्रहरु वितरण गरिएको बताइएको छ ।
आयोजनाले चालू आर्थिक वर्षमा २७ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । जस्मा २६ करोड ९५ लाख चालू तर्फ र ४० लाख पुजिगत तर्फ बजेट विनियोजन भएको योजना अधिकृत रानाले बताएका छन् । उनले उक्त बजेट मध्ये ८६ लाख नेपाल सरकारको र २६ करोड ४९ लाख रुपैयाँ बिश्व बैंकको लगानी रहेको बताएका छन् ।
कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरतप्रसाद कडेलले आवश्यकताको आधारमा किसानलाई अनुदान दिने गरेको बताएका छन् । उनले किसानको सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरेर मात्रै अनुदान दिने गरेको बताउँदै कतिपय अनुदानकै लागि मात्रै पनि अनुदान माग्न आउने गरेको बताएका छन् । “हामी जीवन निर्वाहका लागि कसैलाई अनुदान दिदैनौँ ।” कडेलले भने, “व्यवसायीक रुपमा काम गर्नेहरुलाई अनुदान दिन्छौं । जुन व्यवसाय दीर्घकालीन होस र अरुले पनि त्यसबाट प्रत्यक्ष फाइदा लिन सकुन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *