ऐँठनको सफलताको उपज टीकापुरको माटो हो : साहित्यकार ओझा

शेयेर गर्नुहोस


टीकापुर ०३ मंसिर /
२०७९ को मदन पुरस्कार विजेता ऐँठन उपन्यासका लेखक विवेक ओझाले ऐँठनको सफलता टीकापुरको माटो भएको बताएका छन् ।
शनिबार टीकापुरमा डल्फिन मिडिया प्रालिद्वारा संचालित हाम्रो पत्र डटकमले गरेको सम्मान कार्यक्रममा ओझाले यस्तो बताएका हुन । “मेरो बाल्यकाल देखि पढाइ लेखाइ सबै टीकापुरमा बित्यो । मेरो सिकाइमा टीकापुरको माटो मिसिएको छ । त्यसैको उपजबाट ऐँठन उपन्यास जन्मिएको हो ।” उनले भने, “त्यसकारण पनि स्थानीय क्षेत्रबाट पाएको सम्मान र मायाले झन बढी आत्मबल बढ्दो रहेछ र बढेको छ ।” सशस्त्र द्वन्दबाट सरकार पक्ष र बिद्रोही पक्ष भन्दा बढी बिचिप्त तेस्रो पक्ष हुने गरेको कुरालाई उपन्यासमा समेटिएको बताउँदै साहित्यकार ओझाले मदन पुरस्कार प्राप्त गरेपछि साहित्य क्षेत्रमा आगामी यात्राका लागि सहज भएको बताएका छन् ।
“पुरस्कारले एउटा सम्मान र साहित्य क्षेत्रको एउटा खुड्किला पार गराएको छ, भने अर्कोतिर जिम्मेवारी पनि थपेको छ ।” उनी भन्छन्, “सायद मैले यो पुरस्कार नपाएको भए साहित्यमा मेरो यात्रा निकै कठिन र लेखनबाट बिदा हुनुपर्ने अवस्था आउथ्यो ।” उनले ऐँठन लेख्न पाँच वर्ष लागेको बताए । “पाँच वर्ष लगाएर मैले ऐँठन बजारमा ल्याए । जुन समय निकै कठिन थियो । सबै कामकाज छोडेर एकोहोरो लेखनमा लाग्न मेरो आर्थिक अवस्थाले पनि मलाई छुट दिएको थिएन । तर पनि सबै कुरा छोडेर मैले त्यसैमा समय बिताए ।” ओझाले भने, “आज त्यसको परिणाम आएपछि त्यो पाँच वर्ष मेरो खेर गएको रहेनछ भन्ने लागेको छ ।”
साहित्यकार ओझाले नेपालमा व्यावसायिक साहित्य लेखन निकै कठिन रहेको बताए । साहित्य लेखेर पुस्तक बेचेर जीवन निर्वाह गर्न नसकिने धारणा छ । “सानो बजार, त्यसैमा थोरै पाठ्क भएका कारण पुस्तक लेखेर मात्रै जीवन निर्वाह गर्न सकिने अवस्था छैन ।” उनी भन्छन्, “त्यसैले पनि कैयौं साहित्यकारहरु साहित्य क्षेत्रमा टिक्न सकेका छैनन् भने, टिकेकाहरुलाई पनि समस्या छ ।”
ऐँठन लेख्दा मदन पुरस्कारको अपेक्षा थियो कि ? भन्ने प्रश्नमा ओझा भन्छन्, “ऐँठन उपन्यास लेख्दा पुरस्कारको कुनै परिकल्पना थिएन । पुस्तक निस्केपछि आशा चाहिँ थियो । जुन आशाले सार्थक्ता पायो । त्यस्तै प्रकाशित भएका दुबै कृति ऐलानी र ऐँठनको पहिलो शब्द ऐ संयोग कि जानीजानी त्यस्तो भएको भन्ने प्रश्नमा पनि ओझाले भने , “ऐँठनको नाम मैले लेख्दासम्म उपरान्त राखेको थिए । पछि अधिकांशबाट उपन्यासको नाम उपरान्त भन्दा ऐंठन राख्न सुझाव आएपछि ऐँठन रहेको हो । उसरी भन्दा संयोग मात्रै हो ।” डल्फिन मिडिया प्रालीका अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हाम्रो पत्र डटकमका कार्यकारी सम्पादक योगेश रावलले गरेका थिए ।
साथै ओझालाई शनिबार नै टीकापुर उद्योग वाणिज्य संघले समेत सम्मान गरेको छ । ऐँठन उपन्यासका लेखक ओझालाई संघका अध्यक्ष चक्रपाणी सापकोटाले दोसल्ला ओढाएर सम्मान गरेका छन । उनको शिक्षा आरम्भ टीकापुरस्थित न्यू लाईट एजुकेशन होमबाट सुरु भएको थियो । उनले माध्यमिक तहसम्मको अध्ययन सोही विद्यालयबाट गरेका थिए । उनले उच्च माध्यमिक तहको अध्ययन समेत टीकापुरबाटै गरेका छन । उनले बिरेन्द्र विद्या मन्दिर उच्च माविबाट कक्षा १२ उत्तीर्ण गरेका थिए ।
उनले स्नातकोत्तर तहसम्मको अध्ययन भने काठमाण्डौंबाट भयो । उनी सानै उमेरदेखी साहित्यतर्फ आकर्षित भएका थिए । उनले आफ्ना दाई सुशिल ओझाको लेखनबाट प्रभावित भएर साहित्यतर्फ आकर्षित भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *