कष्टकर जीवन बिताउन बाध्य छन बाढी पिडितहरु

शेयेर गर्नुहोस

भजनी २०/ कैलालीको भजनी नगरपालिका वडा नं. ५ का लालबहादुर साउँद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आउनुभएको छ ।
गतबर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि लालबहादुर साउँद त्यही शिविरमा टहरा बनाएर बस्दै बस्दै आउनुभएको हो । “घरमा पानी पस्यो बस्न नसक्ने अवस्था भयो । हामी आफ्नो जान जोगाउन अब सबै सुरक्षित स्थानको खोजी गर्दै जाँदा सामुदायिक वनको जग्गामा आश्रय लिन पुगेका हौं ।” लालबहादुरले भन्नुभयो, “अहिले हामी बाढीको त्रासबाट त सुरक्षित छौं । तर, खानेपानी, बिजुली बत्ती र सर्पदंशको त्रासले भने छोडेको छैन ।”
गत वर्षको बाढिबाट प्रभावित भएका भजनी नगरपालिका वडा नं. ३, ५, ७, ८ र ९ का करिब ५ सय ५० घरधुरी भन्दा बढी एक वर्षदेखि सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएका छन् । बर्सेनि वर्षायाममा विस्थापित हुँदै आएका नागरिकहरूले शिविरमा बसेपछि बाढीको छुटकारा पाए पनि त्यसभन्दा जटिल समस्या शिविरमा छन् ।
भजनी नगरपालिका वडा नं. ९ का निर्मल राजीले पनि एक वर्षदेखि शिविरमा बस्दै आउनुभएको छ । बाढीबाट विस्थापित भएपछि स्थानीयको पछिपछि लागेर निर्मल सामुदायिक वनको शिविरमा पुग्नुभएको थियो । त्यहाँ उहाँले खरले छाएको अस्थायी घर निर्माण गरी सपरिवार त्यहीशिविरमा बस्दै बस्दै आउएका छन् । “बाढीले प्रभावित भएपछि घर छोडेर शिविरमा बस्नुप¥यो । शिविरमा बसेकालाई स्थानीय सरकारले राहतबाट पनि बन्चित ग¥यो ।’ निर्मलले भन्नुभयो, “हामीले कष्टपूर्ण जीवन बिताउँदै आएको स्थानीय सरकारलाई थाह छ तर थाह भएर पनि सरकारले हाम्रो दुःखमा मलम लगाउन सकेन ।’
भजनी नगरपालिका वडा नं. ५ जोगेनी विकले बाढीको त्रासबाट छुटकारा मिले पनि त्योभन्दा बढी काष्टपूर्ण जीवन शिविरमा बिताउनु परेको बताउँनुभयो । “दिउँसोको समयमा सबै घरको बाहिर भित्र सबै हुन्छन् । कुराकानी हुन्छ दिन कटेको थाह हुँदैन ।’ जोगेनीले भन्नुभयो, “साना–साना बालबालिका छन् । वनमा बस्न परेको छ । रातिको समयमा जंगली जनावरको निकै डर हुन्छ ।” उहाँले शिविरमा शौचालय नभएका कारण रातिको समयमा जंगलभित्र टाढाटाढा जानुपर्ने हुँदा निकै समस्या हुने गरेको बताउनुभयो ।
भजनी नगरपालिका वडा नं ७ की पार्वती चौधरी जंगलमा रहरले नभई बाध्यताले बस्नुपरेको बताउँनुहुन्छ। “घर फर्केर जाउँ बाढीको बितण्डाले रातदिन जागराम बस्नुपर्ने हुन्छ । यतै बसौं भने जंगली जनावरको त्रास उस्तै छ ।” पार्वतीले भन्नुभयो, “शौचालयको व्यवस्थापनका लागि सम्बन्धी निकायले ध्यान दिएको छैनन् वनमा नै शौच गर्नुपर्ने अवस्था छ । विद्युतको व्यवस्थापन छैन । रातितिर सर्प, कीराफट्याङ्ग्राले हानी नोक्सानी गर्छ कि भने डर हुन्छ ।” उहाँले आफूहरु सबै क्षेत्रबाट पीडित भएर बसेको बताउँदै पहुँच भएकाहरुले जग्गा शिविरमा पनि घर निर्माण गरेको बताउनुभएको छ ।
“हामीले अहिले पनि ओत लाग्नेसम्मको टहरो निर्माण गरेका छौं । हामी १२ महिना २४ घण्टा यहिँ बस्छौं । केही ब्यक्तिले जग्गाको आशामा जग्गा अतिक्रमण गरेका पनि छन् । बाहिरबाट कोही आएको थाहा पाएपछि तुरुन्तै यहाँ पुग्ने गर्छन् । अरु बेला उनीहरुको घर हुन्छ तर उनीहरु हुँदैनन् ।” उहाँले वास्तविक पीडित हो भने बस्नुहोस् नभए जग्गा अतिक्रमण गरी बस्न पाइँदैन भन्दा डर देखाउने, धम्की दिने गरेको बताउनुभयो ।
सामुदायिक वनमा बस्दै आएका नागरिकहरुलाई वन खाली गर्नका लागि वन कार्यालयले पटक–पटक पत्र काटे पनि बाढी प्रभावितहरुले अर्को विकल्प नभएसम्म आफूहरु त्यहाँबाट कतै नजाने बताउँदै आएका छन् । स्थानीय सरकाले पनि बाढी पीडितलाई अन्य कुनै ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था नदेखेपछि अहिलेसम्म पनि कुनै प्रतिक्रिया दिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले स्थानीय सरकारले मात्रै चाहेर अतिक्रमित जग्गा खाली गराउन नसकिने भन्दै त्यसका लागि सामुदायिक वन र प्रशासन पनि चाहिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *