कृषिमा प्रेरणादायी बन्दै वडा अध्यक्ष ठकुल्ला

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ११ चैत /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा आउनु पहिलेदेखि नै कृषिमा आवद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ । सात बिघा क्षेत्रफलमा उखु खेती, माछा पालन, गुड मिल, तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले यसवर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताउनुभयो ।
“हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गर्थ्यौं । आज आधुनिक कृषि गर्दै आएका छौं ।” वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, “सामाजिक क्षेत्रमा लाग्नको लागि पनि कृषि महत्त्वपूर्ण छ । राजनीति गरेर पैसा कमाउन सकिँदैन । कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो छ ।” कृषिबाटै समृद्धिको सपना देख्नुभएका ठकुल्लाले आफुले मात्रै नभई गाउँका युवाहरूलाई समेत कृषिमा प्रेरित गर्दै आउनुभएको छ । उहाँले स्थानीयलाई कृषिमा प्रेरित गर्नकै लागि कृषि सहकारी संस्था स्थापना गर्नुभयो ।
“गाउँका स्थानीयलाई सहभागी गराएर स्थापना गरेको कृषि सहकारी आज कृषकहरूका लागि निकै लाभदायक बनेको छ । सहकारीको करोडौंको सम्पत्ति जोडिएको छ ।” वडा अध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “हामीले आदर्शका कुरा गर्छौं तर हाम्रो स्तर कहाँ छ त्यसको खोजी गर्दैनौं । राजनीतिमा युवाहरूलाई जोड्नु पहिले व्यवसायमा जोड्न सके त्यसले समृद्धिलाई भेटन सहज हुन्छ ।”
वडाको दुर्गम क्षेत्र जुन क्षेत्र बर्षौदेखी खंडहर बन्दै गएको श्रीलंकालाई कृषि क्षेत्रको हब बनाउने योजना थाल्नुभएको छ । नगरपालिका वडा नं. ८ श्रीलंका नगरपालिकाबाट निकै विकट क्षेत्र हो । कर्णाली नदी पारी रहेको श्रीलंका बर्दिया जिल्लासँग नजिक भएपनि टीकापुरबाट टाढा छ । त्यहाँका किसानहरू जंगली जनावरका कारण आजित छन् । नजिकै जंगल भएपछि लगाएको अन्न्न बाली जंगली जनावरले नष्ट गर्ने भएपछि पटकपटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यो विकल्प वडा अध्यक्ष ठकुल्लाले रोज्नुभएको थियो । त्यहाँ यसवर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती विस्तार गरियो ।
अन्य अन्न बाली जस्तो जंगली जनावरले नष्ट नगर्ने आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसानहरू खुशी भएका छन् । व्यवसायी किसान धनसिंह साउँदले एक बिघा क्षेत्रफल मात्रै करिब ८० क्विन्टल आलु फलेको बताउनुभयो । समूह मार्फत व्यावसायिक आलु खेती गर्नुभएका साउँदले नसोचेको उत्पादन दिएको बताउनुभयो । उक्त समुहमा वडा अध्यक्ष ठकुल्ला पनि आबद्ध रहनुभएको छ । “जंगली जनावरबाट बाली बचाउनकै लागि आलु खेती गरेका थियौं । उत्पादन सोचेभन्दा राम्रो भयो ।” उहाँ भन्नुहुन्छ, “बजारीकरणको समस्या नभए आउँदो वर्ष ४० देखि ५० बिघामा आलु खेती गर्ने योजना बनाएका छौं ।”
यतिबेला उत्पादन भएको आलु प्याकेजिङ्गको काम हुँदै आएको छ । आलु प्याकेजिङ्ग गरेर कोहलपुर कोल्डस्टोरमा लैजाने तयारी भएको अर्का किसान भिम महरले बताउनुभयो । “केही किसानले कोहलपुर त केही किसानले कैलालीको पहलमानपुर कोल्डस्टोरमा लैजाने तयारी गरिरहनुभएको छ ।” महरले भन्नुभयो, “आलुका लागि श्रीलंका निकै लाभदायक बनेको छ । अब त्यहाँका किसानका लागि आलु खेती महत्त्वपूर्ण बन्नेछ ।”
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले किसानहरूलाई आलुको बीउ तथा उत्पादन भएको तरकारीको भण्डारणका साथै ढुवानीमा सहयोग गर्न थालेपछि किसानहरूले तरकारी खेतीमा भविष्य देखेका छन् । साउँदले आलु खेती मात्रै नभई २३ बिघामा गहुँ खेती पनि गर्नुभएको छ भने त्यहीँ मात्रामा मकै खेती समेत विस्तार गरेको उहाँ बताउनुहुँन्छ । उहाँले आलु खेतीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भन्दै त्यसका लागि भारतिय तरकारीलाई विस्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
यतिबेला स्थानीय किसानहरु भारतीय तरकारीको आयात रोक्नुपर्ने माग गर्दै आएका छन् । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको बताउँदै त्यसले किसानलाई कृषिबाट टाढा गर्न खोजेको स्थानीय कृषक रामबहादुर चौधरी बताउनुहुँन्छ । उहाँले भारतिय तरकारी भन्दा स्थानीय उत्पादन केही महंगो हुने गरेको बताउँदै बिचका बिचौलियाहरुले स्थानीय उत्पादनलाई हतोत्साहित गर्ने काम गरेको बताउनुभयो । “उत्पादन राम्रो छ तर बजारको निकै समस्या छ । सिजनमा उत्पादन भएको वस्तुबाट लगानी उठाउनै मुस्किल हुन्छ ।” चौधरीले भन्नुभयो, “त्यसको मुख्य कारण भनेको भारतीय तरकारी हो । स्थानीय उत्पादनलाई सरकारले स्थापित गर्न सक्यो भने कृषि प्रतिको आकर्षण अझै बढ्ने छ । आशा छ समुह जनप्रतिनिधि पनि जोडिएको हुँदा त्यसको समाधान हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *