कृषिमा बजारीकरण र चौपाया प्रमुख समस्या

शेयेर गर्नुहोस


टीकापुर १२ वैशाख /
किसानहरुका समस्या समाधानको प्रयास सहित किसानसँगको अन्तरक्रिया कार्यक्रममा किसानहरूले
समयमा बीउबिजन, मलखादको उपलब्धता, बजारीकरणको समस्या सहित सामुदायिक चौपाया प्रमुख चुनौतीको रुपमा रहेको बताएका छन् ।
टीकापुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा भएको उक्त कार्यक्रममा बडघर जितबहादुर चौधरीले किसानले उत्पादन गरेको वस्तुको बजारीकरण प्रमुख समस्याको रुपमा रहेको बताएका छन् । उनले किसानहरूलाई समयमा बीउबिजन उपलब्ध नहुनु अर्को चुनौती रहेको बताए । “यहाँ दुई किसिमको किसानहरू छ । एउटा परम्परागत र अर्को व्यावसायिक । त्यो किसानलाई वर्गीकरण गरेर स्थानीय सरकारले सहयोग र समन्वय गर्न सक्यो भने वास्तविक किसानको पहिचान हुनसक्छ ।” उनले भने, “यहाँ व्यवसायको नाममा अनुदान खाने काम भएको छ । वास्तविक किसानहरूले अभावमा पनि कृषि पेशालाई अंगालेको देखिन्छ ।”
केरा व्यवसायी चक्रबहादुर घर्तीमगरले कृषि पेशाबाट किसानले उत्पादन जानेको भए पनि सामुदायिक पशुचौपायाका कारण बर्सेनि कृषि योग्य जमिन खाली हुने अवस्थामा पुगेको बताएका छन् । चौपाया व्यवस्थापन नभएसम्म जतिसुकै लगानी गर्दा पनि कृषिले फड्को मार्न नसक्ने उनको दाबी छ । कृषक तथा टोल विकास संस्थाकी अध्यक्ष मायादेवी सोनाहाले अरुको जग्गा भाडामा लिएर व्यावसायिक कृषि गर्दै आएको बताउँदै चौपायाले कृषिबाट विस्थापित हुने स्थितिमा पुगिएको गुनासो गरिन ।
“दुनियाँका चौपाया ल्याएर हाम्रो वडामा व्यवस्थापन गरिएको छ । त्यो नामको मात्रै व्यवस्थापन हुँदा आज किसानहरूले खेती गर्न छोडेका छन् । हामी छोड्ने स्थितिमा छौँ ।” मायादेवीले भनिन्, “यदि गौशालामा निगरानी बढाउन सक्यो भने र स्थानीय नागरिक सचेत भयो भने कृषिमा ठूलो सम्भावना छ ।” केरा व्यवसायी खुशीराम चौधरी बजारीकरणको समस्याले उत्पादन भएको वस्तु लागत मुल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । बजारीकरणमा बिचौलियाहरुका कारण किसानहरूमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उनको गुनासो छ ।
“किसानलाई सरकार सहुलियत दिन चाहान्छ भने उत्पादन हुने सबै वस्तुको मूल्य निर्धारण गर्ने काम राज्यले गरिदिनुपर्छ । अर्को उत्पादन भएको वस्तु खरिद गर्ने काम राज्यले गर्न सक्नुपर्छ ।” उनले भने, “यदि गर्न सक्यो भने राज्यले कृषिको नाममा दिने अनुदान, सहयोग दिनुपर्दैन । बरु प्राविधिक सहयोग गर्न सक्यो भने किसानलाई राहत हुन्छ ।” बंगुर पालक किसान पतीराम चौधरीले सीप नसिकेर व्यवसाय सञ्चालन गर्दा ठूलो नोक्सानी बेहोर्नु परेको बताउँदै किसानलाई प्राविधिक सहयोग र तालिम आवश्यक रहेको बताएका छन् । उनले सीप अभावका कारण भएको लगानी खेर जाने गरेको बताए । “मैले एक सय ७ बंगुर पालेको थिए । त्यसमध्ये ७६ बंगुर मरे । त्यसमा पनि २८ बंगुर बच्चा पाउने थिए । ती कसरी मरे मैले पत्ता लगाउन सकिन ।” उनले भने, “यदि मैले त्यसको पुर्व जानकारी लिएर काम गरेको भए त्यसो हुँदैनथ्यो होला । अर्को कुरा वडामा प्राविधिकको व्यवस्था गरिदिएको भए पनि मैले बंगुरबाट लाखौं घाटा खानुपर्ने स्थिति आउँदैन थियो होला ।”
कृषि प्राविधिक बीरबहादुर चौधरीले स्थानीय सरकारले एक वडा एक प्राविधिकको व्यवस्थापन गर्दै किसानको खेतसम्म प्राविधिक पुग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले किसान एग्रोभेट प्रती पुर्ण आश्रीत भएको बताए । “खेतीमा रोग लाग्छ । त्यो रोगको पहिचान नहुँदै किसान नजिकैको एग्रोभेटमा पुग्छ र बिसादी ल्याएर अन्धाधुन्ध प्रयोग गर्छ । त्यसबाट रोग घट्नुको साटो बड्छ ।” उनले भने, “यदि वडामा प्राविधिक भए समयमै रोगको पहिचान भएर त्यसको समाधान पनि समयमा हुनसक्छ । जसबाट किसानको उत्पादन बढ्नसक्छ । भने अन्धाधुन्ध प्रयोग हुने बिसादीका कारण माटोको उर्वरा शक्ति घटनबाट जोगाउँछ ।”
वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले कृषिबाटै आत्मनिर्भर बनाउनका लागि वडाले टोल विकास संस्थालाई जागरुक बनाउने बताएका छन् । “कृषिलाई व्यावसायिकरण गर्न एउटा टोल विकास संस्थालाई परिक्षणको रुपमा अदुवा खेती विस्तारको योजना वडाले बनाएको छ । यसवर्ष त्यसमा सफलता हासिल भयो भने वडाका १८ वटै टोल विकास संस्थालाई व्यवसायसँग जोड्ने छौं ।” वडा अध्यक्ष चौधरीले भने, “त्यसमा केही स्थानीयको पनि लगानी आवश्यक हुन्छ । केही लगानी र त्यसको बजारीकरण वडा कार्यालयले गर्छ ।” उनले कृषि सहकारीसँग समन्वय गरेर तरकारी संकलन केन्द्र स्थापनाको तयारी पनि थालिएको बताएका छन् ।
नगरपालिकामै दरबन्दी अनुसार कृषि प्राविधिक नभएको बताउँदै त्यसको व्यवस्थापनका लागि नगरपालिकाले सुचना आव्हान गरिसकेको बताउँदै वडा अध्यक्ष चौधरीले वडाले स्थानीयको सहभागिता र साझेदारी खोजेको बताएका छन् । “हामीसँग काम गर्ने इच्छाशक्ति छ । त्यसैअनुसार धेरै कामहरू पनि भएका छन् । अब त्यसलाई परिणाममा ल्याउनका लागि साझेदारीमा काम गरौं ।” उनले भने, “एक घर एक करेसाबारी कार्यक्रमलाई अबलम्बन गर्दै आगामी योजना बनाऔं ।” उनले सिमित स्रोतसाधनका बाबजुद नागरिकहरूका धेरै अपेक्षा पूरा गर्नुपर्ने बाध्यता वडा कार्यालयलाई रहेको बताए । कार्यक्रममा वडा सदस्य खम्म ठकुल्लाले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *