केरामा पानामा रोगको संक्रमण

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०८ भदौ /
कैलालीको टिकापुर क्षेत्र भित्र केरा खेतीमा पानामा रोग देखा परेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान टोलिले केही केरा बारीबाट लिएको नमुनाको ल्याब परिक्षणले केरा खेतीमा पानामा रोगको संक्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन ।
टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफलका लागि गत साउन १० गते टीकापुर आएको नेपाल कृषि अनुसन्धान परिषदले टोलीले ९ वटा बारीको अवलोकन गरेको थियो । बारीबाट राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्का सहित सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका उपप्राध्यापक सन्तोष उपाध्याय र आशिष घिमिरले करिव ८ हजार केराका बोटलाइ प्रत्यक्ष्य अवलोकन गर्नुभएको थियो ।
अवलोकन गर्दा पानामा विल्ट सँग मिल्दो जुल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सिका बीजाणुहरू भेटिएका थिए । त्यसपछि प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ देखिएको पिसिआर प्रोडक्टलाइ हङकङ स्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा सिक्इयुन्सिंग गर्दा टिआर ४ भएको पुष्टि भएको थियो । अहिले ग्रिन हाउसमा तिन भिन्न भिन्न जातका केरामा कृत्रिम रूपमा राखेर यसको लक्षणहरूको विकासक्रमलाई अध्ययन भइरहेको डा. खड्काले बताउनुभयो । “हामीले अहिले पनि अध्ययन गरिरहेका छौँ । त्यसको अनुसन्धानका लागि तीन सदस्यीय समिती पनि बनिसकेको छ ।” उहाँ भन्नुहुन्छ, “त्यो बेला केही बारीको मात्रै नमुना ल्याएका थियौं, अब सबै बारीको नमुनाको परिक्षण गरेपछि त्यसको नतिजा अनुसार अगाडि बढ्नुपर्छ ।”
केरा व्यवसायी तथा केरा व्यवसायी महासंघ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान सशंकित बनेको बताउनुभएको छ । उहाँले लाखौं लगानी गरेको केरामा संक्रामक रोग देखिएपछि केरा खेतीबाट विस्थापित हुनुपर्ने चिन्ता किसानमा देखिन थालेको बताउनुभयो । “रोग पुष्टि भएपछि हामीले सबै किसानहरूलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ ।” धामी भन्नुहुन्छ, “छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ ।” उहाँका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केरा खेती हुँदै आएको छ । त्यसमा पनि टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केरा खेती हुँदै आएको छ । तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन् ।
केरा व्यवसायी खेमप्रसाद ढुंगानाले केरामा देखिको रोगका कारण किसानलाई चिन्तित बनाएको बताउनुभयो । उहाँले केरामा राम्रो आम्दानी देखेर लाखौं खर्च गरेर भरखरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको बताउनुभएको छ । “एउटा किसानले एक बिघादेखी सय बिघासम्म केरा खेती गर्दै आउनुभएको छ । त्यो बारीमा पानामा रोग देखिएपछि कस्तो होला ?” ढुंगाना भन्नुहुन्छ, “यदी संक्रमण सबै ठाउँ फैलिएको भए, राज्यबाट उचित राहत प्याकेज नआउने हो भने कोहि किसान पनि उठ्न सक्ने स्थितिको रहने छैन ।”
टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाहले केही किसानहरूले केरामा समस्या देखिन थालेको भन्ने बताएपछि नार्कको टोलि टीकापुर आएको समयमा केरा खेतीको अवलोकनका लागि लिएको समयमा त्यहाँबाट नमुना लिइएको बताउनुभयो । “केरामा रोग लागेको शंकामा नमुना लिइएको थिएन । जुन शंका गरिएको थियो त्यहीँ देखियो ।” नगरउपप्रमुख शाहले भन्नुभयो, “हाम्रा लागि निकै ठूलो चिन्ताको विषय बनेको छ । किसानलाई सचेत हुन आग्रह गरेका छौँ । मातहतका क्षेत्रलाई अनुसन्धानका लागि निर्देशन दिने काम गरिसकेका छौं ।”
रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको संक्रमणले चिन्ता थपेको बताउनुभयो । उहाँले आयोजनाको केरा खेतीमा ठूलो लगानी रहेको बताउँदै त्यसको रोगको न्यूनीकरणका लागि छलफल चलाएको बताउनुभएको छ । “नमुना परिक्षणले रोग पुष्टि भैसकेको छ । अब यसलाई अन्य ठाउँमा फैलिन नदिनका लागि किसानहरूलाई सचेत गराउने काम सुरु गरेका छौं ।” इकाईका प्रमुख चौधरी भन्नुहुन्छ, “छलफल चलाएका छौं । छलफलबाट आएको निष्कर्ष अनुसार अगाडि बढ्छौँ ।” रानी जमरा कुलरिया सिँचाइ आयोजनाले मात्रै वार्षिक करोडौं रकम केरा खेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।
के हो पानामा रोग
यो प्रजाति रोग पहिलो पटक अस्ट्रेलियामा सन १९९७ मा देखिएको थियो । पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको संक्रामक रोग हो । यो रोग लागेमा शुरुमा पुराना पातको फेद पहेलो हुन्छ । त्यसपछि, पातको किनारा पहेंलिन थाल्छ र पात सुकेर डाँठहरू भाँचिन्छन् । थाम ठाडो चिरेर भित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन र सड्छन्, जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ ।
संक्रमण देखिएको बारीबाट अर्को बारीमा जाँदा जुत्ता, चप्पलमा लागेर गएको माटोले अर्को बारीमा संक्रमण पुग्ने खतरा हुन्छ । संक्रमण देखिएको केरा बारीमा प्रयोग भएको औजारबाट, सवारीसाधनको चक्काबाट पनि रोग सर्न सक्ने जोखिम हुन्छ । रोगको संक्रमणबाट बच्नको लागि बारीमा जाँदा हात र खुट्टामा प्लास्टिकको प्रयोग गर्ने, औजारको प्रयोग गर्दा सेनिटाइजरले निर्मुलिकरण गर्ने, सकेसम्म एउटा बारीमा गएको सवारीसाधनलाई अर्को बारीमा जानबाट रोक लगाउने जस्ता उपाय अपनाउन सकिने नेपाल कृषि अनुसन्धान परिषदका कृषि बैज्ञानिक खड्का बताउनुहुँन्छ ।
बर्खाको समयमा रोगको संक्रमण देखिएकाले जोखिम बढी छ । किनभने पानीबाट पनि यो रोग सर्छ । अर्कोतिर केरा व्यापारीहरु एक बारीबाट अर्को बारी सहजै आवतजावत गर्ने भएकाले पनि जोखिक बढी रहेको किसान बताउँछन् । केरामा पानामा रोगको पुष्टि भएपछि सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था,कृषी तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी लगायतको टोलिले केही शंकास्पद केरा बारीको अवलोकन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *