गोलमाल मै मलातिकोटको बिधुत

शेयेर गर्नुहोस


समाधान समाचार

अछाम ३२ साउन /अछाम रामारोशन गाउँपालिका वडा नं. १ को मलातीकोट लघु–जलविद्युत आयोजना समय समयमा गोलमाल जस्तै हुदा चार वर्षदेखि वडाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
२०६२ सालमा साबिकको मलातीकोट गाविसको वडा नं. ८ र ९ बाहेकका वडामा बिजुली बत्ती पुगे पनि मेसिन बिग्रिएका कारण लघुजलविद्युत आयोजना बन्द हुन पुगेपछि रामारोशन गाउँपालिकाले लघुजलविद्युत आयोजना निर्माणका लागि उपभोक्तामार्फत् ९० लाखको बजेटमा काम सुरु भए पनि अझै वडाबासीले बिजुली देख्न नपाएका हुन् ।
२०५८ सालमा जनताको श्रमदान सहितमा निर्णय भएको बिधुत आयोजना सुरुवाती देखिनै रामकाहानी जस्तै बन्दै गएको छ। बिधुत आयोजनालाई प्रभावकारी बनाउने भन्दै पटक पटक कार्यसमिति पनि फेरबदल भए तर बिधुतको अबस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।अहिले पनी गाउँपालिकाको अधिकांश क्षेत्रमा बुधुत प्रबाह भयो तर त्यति बेला नै बलेको बत्ती अहिले अनिश्चित बनेको छ।
वडा क्षेत्रभित्र हुँदै राष्ट्रिय प्रशारण लाइन गइसके पनि लघुजलविद्युत आयोजनाको काममा भएको बदमासीका कारण आजसम्म न त काम नै सम्पन्न भयो, न त वडाबासीले बिजुली बत्ती नै बाल्न पाए । त्यतिमात्र नभई निर्माणको काममा स्थानीयले गरेको कामको ज्याला समेत पाउन सकेका छैनन् । आर्थिक बर्ष २०७४/०७५ मा गाउँपलिकाले बिधुत आयोजनाको लागि ९० लाख बजेट बिनियोजन गरेको थियो। त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा सुदुरपश्चिम प्रदेशले ५० लाख रुपैया बिनियोजन गर्यो।तर प्रदेशको बजेटको स्टिमेट र बिधुतको आयोजनाको स्टिमेट फरक परेको भन्दै बजेट खर्च हुन सकेन र फ्रीज गयो।
गत आर्थिक वर्षमा गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेपछि साबिकको वडागत रुपमा पचास हजार रुपैयाँका दरले रकम वितरण भएको छ । तर, कामको हाजिरीका आधारमा उक्त रकम प्रति दिन २१ देखि २९ रुपैयाँसम्मका दरले कामदारले पाएको बताइएको छ ।
गाउँपालिकाले पहिलो चरणमा ९० लाख र दोस्रो चरणमा २० लाख गरी हालसम्म १ करोड १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । उपभोक्ता समितिले ९० लाख बराबरको भरपाई बुझाई भुक्तानी लिइए पनि सामाग्रीहरु अझैसम्म प्राप्त हुन नसकेको छैन। स्टिमेट हेर्दा भुक्तानी भएको तर, भरपाई अनुसार उपलब्ध हुनुपर्ने मेसिनरी सामान उपलब्ध भएका छैनन् । ती सामान उपभोक्ता समितिले यथाशीघ्र उपलब्ध गराउनु पर्ने छ । सामान खरिदका लागि कम्पनीलाई ५५ लाख रुपैयाँ बुझाएको भरपाईहरु प्राप्त भए पनि सामाग्रीहरु प्राप्त भएका छैनन् । कामको मूल्याङ्कनका आधारमा गाउँपालिकाले पुनः २० लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको बताउँदै सामाग्रीहरु उपलब्ध भएको अवस्थामा मात्र उक्त रकम भुक्तानी हुने बताएका छन् ।
अध्यक्षको आश्वासन मात्र
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद ‘भाष्कर’ ले वडाबासीलाई निर्वाचनको समयदेखि आश्वासन दिने मात्र गरेको पाइएको छ । स्थानीय तहको निर्वाचनको बेला अध्यक्ष साउँदको वडा नं. १ का लागि मुख्य एजेण्डा नै बिजुली बत्ती थियो । निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि वडाबासीको माग सम्बोधन हुन सकेन । त्यतिमात्र नभई समाधान न्यूज दैनिकको वर्ष ९ अंक ७, २०७६, श्रावण ७ गते प्रकाशित समाचारमा समेत अध्यक्ष साउँदले २०७६ को दशैं अगावै वडामा बिजुली बाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको लघुजलविद्युत आयोजनाको काम सम्पन्न हुन नसकेको अवस्थामा पनि केन्द्रीय प्रशारण लाइनमार्फत् विद्युत प्रवाह गर्ने प्रतिबद्धता थियो । दशैंसम्म राष्ट्रिय प्रशारण लाइन गाउँपालिका क्षेत्रमा नपुगे पनि माघ–फागुनतिर गाउँपालिकाका अध्यक्षले नै गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गरे । तर, त्यो लाइन बस्तीसम्म पुर्याउन अध्यक्ष साउँद सफल भएनन्।
किसानलाई खेती लगाउनै समस्या
बिधुताका लागि बनाइएको कुलो पहिले देखिनै किसानको सिचाईको कुलो हो। तहि कुलोलाई फराकिलो बनाएर बिधुत संगै किसानको खेतको सिचाइ पनि हुन्थ्यो। २०७४ सालमा कुलो भत्काएर पुनः निर्माण सुरु भएपनि हालसम्म पनि कुलो निर्माण हुन सकेको छैन। किसानले ठूलो कस्ट गरेर खोलाको पानीका भरमा खेती गर्दै आएका छन।त्यो पनि पानीको सहज आपूर्ति हुन नस्क्दा किसानले तीन बर्ष देखि खेती पनि गर्न सकेका छैन। लगाएको खेती पनि पानी अभावकै कारण उब्जनिमा गिरावट आएको दुखेसो किसानको छ। फेरि जगड देखि मुजाबगर सम्मको सडक कालोपत्रे गर्ने क्रममा निर्माण भएको बिधुतको कुलो समेत भत्काइएको छ।
असफलतापश्चात् पुनः आयोजनाको ठेक्का
२०७४ माघ महिनादेखि उपभोक्तामार्फत् सुरु भएको लघुजलविद्युत आयोजनाको काममा पुनः २०७६ माघ २५ गते पुनः ठेक्का प्रक्रियाबाट निर्माण सुरु भएको छ । उपभोक्ता समितिले काम गर्न नसकेको भन्दै न्यू दुर्गा कन्स्ट्रक्सन अछामलाई १ करोड ८४ लाखमा ठेक्का दिइएको छ । कन्स्ट्रक्सनका सञ्चालक बमबहादुर साउँदले सुदूरपश्चिम प्रदेश र गाउँपालिकाको संयुक्त बजेटमार्फत् आफूले ठेक्का पाएको बताउँदै २०७८ असार ३० गतेसम्म काम सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको बताएका छन् । उनले गाउँपालिकाले पहिलेको कामको मूल्याङ्कन गरी उतैबाट रकम भुक्तानी हुने र बाँकी रहेको काममात्र आफूले गर्ने गरी सम्झौता भएको भन्दै पुरानो उपभोक्ता समिति मार्फत् भएको काम र खर्चको आफूलाई कुनै जानकारी नभएको र त्यसको जिम्मेवारी समेत नरहेको बताएका छन।सञ्चालक साउँदले पहिले उपभोक्तामार्फत काम गराउँदा आफनो समूहले काम गरेको तर रकम नपाएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *