शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २९ पुस /
कैलालीको जानकी गाउँपालिका वडा नं. ७ का सीताराम चौधरी लगायतको एक हुल मानिसको सामुदायिक पशु चौपाया लखेट्दै गाउँबाट जगतपुर जंगल पुग्नुभयो ।
लगाएको हिउँदे बाली सामुदायिक पशु चौपायाले नष्ट गर्न थालेपछि सीताराम लगायत गाउँका सबै किसानहरू जम्मा भएर गाउँभर देखिएका चौपायाहरुलाई लिएर गाउँपालिकाले निर्माण गरेको गौशालामा पुर्याउने भन्दै गाउँपालिकाको वडा नं. ९ मा रहेको जगतपुर जंगलमा छोड्न जानुभएको हो । “खेतमा लगाएको गहुँ बाली भर्खर खेतमा हरियो पर्न थालेको के थियो । सामुदायिक पशु चौपायाबाट बचाउनै मुस्किल भएको छ ।” सीतारामले भन्नुभयो, “खेतमै बसोबास हुँदा पनि कतिबेला छक्याएर आउछन् थाहै हुदैन । के हिउँदमा के बर्खा खेती लगायो भने अन्य प्रकोपको भन्दा बढी चिन्ता सामुदायिक पशु चौपायाका कारण हुने गरेको छ ।”
सोही ठाउँका सुमन चौधरीले दुई बिगाहामा तरकारी खेती तथा गहुँ खेती गर्नुभएको। खेतमा तारबार छैन । सडकसँग जोडिएको खेत भएकै कारण सामुदायिक चौपायाले सबैभन्दा पहिला सुमनको खेत देख्ने गरेका छन् । “एकजनाको दैनिक काम नै सामुदायिक चौपायाको गोठालो बस्नुपर्ने भएको छ । रात दिन खेती जोगाउनका लागी खेतमै बस्नुपर्दा पुसको चिसोमा निकै कष्ट हुने गरेको छ ।” सुमनले भन्नुभयो, “अहिले त खेती लगाउने जागर पनि चल्दैन । खेती लगाएपछि छाडा पशु चौपायालाई ठिक्क हुन्छ । हुलमा देखिने चौपायाले एक दिन मै एक खेत नष्ट गर्छन् ।”
स्थानीय रामकृष्ण विश्वकर्माले स्थानीय सरकारले निर्वाचनको समयमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनको एजेन्डालाई प्रमुख बनाएको भएपनि अहिले किसानको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । सामुदायिक चौपायाको त्रासले कैयौं किसानहरूले खेती नै गर्न छोडिसकेको बताउँदै यस्तै अवस्था रहे खेतीयोग्य जमिन पुरै बाँझो राख्नुपर्ने अवस्था आउने रामकृष्ण बताउँनुहुन्छ । “खेती नलगाएर के खाने भन्ने चिन्ता हुन्छ । लगायो भने चौपायालाई ठीक्क हुन्छ । लगानी पनि नआउने डर । के गर्ने के नगर्ने ? किसानहरू निकै अलमलमा परेका छन् ।” रामकृष्णले भन्नुभयो, “हामिलाई प्राकृतिक बिपत्तिबाट खेती जोगाउनु भन्दा बढिको चिन्ता सामुदायिक पशु चौपायाबाट बचाउनु भएको छ ।”
सामुदायिक पशु चौपाया व्यवस्थापनको लागि भन्दै स्थानीय तहले गौशाला निर्माण समेत गरेका छन् । वार्षिक १५ देखि २० लाखभन्दा बढी सामुदायिक चौपाया व्यवस्थापनका लागि खर्च गर्दै आएको भएपनि त्यसको प्रभाव किसानहरूमा पर्न सकेको छैन । टीकापुर बजार क्षेत्रमा पनि सयौं सामुदायिक चौपायाहरु छन् । सामुदायिक चौपायाकै कारण बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनसँगै चौपायाको मलमुत्रबाट गोबर ग्यास उत्पादन गरि नागरिकहरुलाई वितरणको प्रक्रिया समेत सुरु गरेको छ । तर, नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि जिम्मेवारी दिएका कर्मचारीहरुको लापरबाहीका कारणले बजार क्षेत्रमा सामुदायिक पशु चौपाया कम हुन नसकेको स्थानीय व्यापारी नन्दसिंह विश्वकर्मा बताउँनुहुन्छ ।
अहिले अधिकांश स्थानीय बस्तीबाट सामुदायिक चौपाया लखेट्दै जंगल पुर्याउने गरेको भएपनि त्यसको व्यवस्थापनमा स्थानीय तहले खटाएका कामदारहरुले चासो नदिएकै कारण पुनः तिनै पशु चौपाया गाउँ पुग्ने र किसानको खेती नष्ट गर्ने गरेको स्थानीय किसानको गुनासो छ । स्थानीय नवराज बाब्लीले एक ठाउँबाट अर्को ठाउँ पुर्याउँदा सामुदायिक चौपायाले त्यस ठाउँका किसानहरूलाई सास्ती गर्ने गरेको बताउँदै एउटाले एक ठाउँ अर्कोले फेरि त्यहीँ ठाउँ चौपाया धपाउने र दीर्घकालीन समाधानको बाटो नखोज्दा निकै समस्या भएको बताउनुभएको छ । “गौशाला निर्माण गरिएका छन् । चौपाया सबै समुदायमै देखिन्छन् । स्थानीय तहले लाखौ बजेट खर्च गर्दै आएका छन् ।” बाब्लीले भने, “दीर्घकालीन समाधान नखोज्ने हो भने अधिकांश किसानको खेत बाँझो हुनेछ । यसले परनिर्भरता समेत बढाउने निश्चित छ ।”
समुदायका सबै नागरिकहरु मिलेर गाउँभर देखिने गरेका सामुदायिक चौपायालाई जंगलमा छोड्नको लागि गाउँमा बड्घरले नै स्थानीयलाई परिचालन गर्ने गरेका छन् । स्थानीयहरु सबैको सामुहिक प्रयासबाट गाउँभरका छाडा छोडिएका चौपायालाई लखेट्दै गौशाला पठाउनको लागि किसानहरूलाई अनिवार्य छ ।