छोरा पढाउनकै लागि गाउँ छोडेर शहरमा पानी पुरीको व्यापार

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १० माघ/
आमाबाबुको इच्छा हुन्छ आफ्नो बालबालिका राम्रो स्कुलमा अध्ययन गरोस् र राम्रो मान्छे बनोस् भन्ने । आफ्नो सन्तानले राम्रो शिक्षा हासिल गर्यो भने ठूलो मान्छे बन्छ भन्ने सबैको सोच हुन्छ । त्यसै मध्येकी एक हुन दुर्गा बुढा । कालिकोटको पचाल झरना गाउँपालिका वडा नं. ५ की दुर्गा आफ्ना भविष्यका सन्ततिलाई पढाउनकै लागि गाउँघर छोडेर शहर पस्नुभयो । तीन छोरालाई पढाउनको लागि भनेर कालिकोट छोडेर कैलालीको टीकापुर पुग्नुभएकी दुर्गाले कालिकोट मात्रै छोड्नुभएन उहाँले घर, भएको जग्गा जमिन, व्यापार सबै छोड्नुभयो ।
गाउँमा हुँदा चिया पसल, खेतीपाती, दुई भैंसी, एक घोडा र बाह्र खच्चर एक्लै दुर्गाले सम्हाल्नु भएको थियो । श्रीमानको राम्रो साथ नपाएकी उहाँले गाउँमा पनि मासिक ३० देखि ४० हजार कमाउनुहुन्थ्यो । पैसा मात्रै भएर पनि सबै कुरा पूरा हुन्छ भन्ने नहुँदो रहेछ । कमाई राम्रो भएपनि गाउँमा राम्रो स्कुल नभएका कारण तीन छोरालाई दुर्गाले राम्रो शिक्षाकै लागि टीकापुर पठाउनुपर्यो । निजि बिधालयमा तीनजनाको अध्ययन र होस्टेलको बसाइँका लागि उहाँको मासिक २० देखि २५ हजारसम्म खर्च हुनेगरेको थियो । उहाँलाई त्यो पैसा तिर्न समस्या त थिएन ।
“आफुहरुले कखरासम्म सिक्ने अवसर पाइएन । छोराछोरीलाई राम्रो शिक्षा पढाउनकै लागि टीकापुरमा पठाइयो । होस्टेलमा राख्यौं ।” दुर्गा भन्नुहुन्छ, “खानेकुरामा छोराहरूले कहिल्यै चित्त बुझाएनन । खान र बस्ने कुरामा छोराहरूले सधै गुनासो गर्न थाले । त्यसपछि सबै छोडेर उनीहरूको पढाइकै लागि टीकापुर आउनुपर्यो ।”
टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । भएको खेतबारी उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र पर्यो । त्यतिमात्र होइन, पैसा आउने सबै स्रोत सुके । तीन छोरालाई निजि स्कुलमा पढाउनको लागि उहाँलाई आर्थिक रुपले निकै समस्या भयो । गाउँमा हुँदा कमाएर बचत गरेको सबै पैसा सकियो । घरको भाडा, किनेर खानुपर्ने बाध्यता । श्रीमानको दैनिक मदिरा सेवनले उहाँलाई झन तनाव हुनथाल्यो । त्यसपछि बाख्रा पालन सुरु गर्नुभयो । एउटा बाख्रा किनेर घरको जोहो टार्ने जुक्ति बनाउनुभएकी दुर्गाले त्यसबाट घरको खर्च र छोराको पढाईको शुल्क तिर्न सहज भयो । त्यसपछि उहाँलाई आर्थिक रुपमा थोरै भएपनि सहज भयो ।
तर, विडम्बना अरुको घर भाडामा लिएर बस्नुपर्दा घरबेटीले घरमा बाख्रा नपाल्न भन्यो । बाख्रा पाल्ने भए कोठा छोड्न भन्यो । “विगतको दुख सम्झेपछी अहिले पनि पीडा हुन्छ । छोराहरूको पढाइका लागि टीकापुर आउँदा यहाँको वातावरण नौलो थियो ।” दुर्गाले भन्नुभयो, “आएका अप्ठ्यारालाई सामना गर्दै गए । आफुलाई भएको पिडाको अनुभुती छोराहरुलाई हुन दिएन । आज म खुसी छु ।”
हरेक दुखबाट पाठ सिक्दै दुर्गाले जेठो छोराले एसईई उतिर्ण गर्यो । बाख्रा पालन छोडेर दुर्गाले त्यसबेलासम्म टीकापुरमा पानी पुरी र चटपटेको व्यापार सुरु गरिसक्नुभएको थियो । आज त्यहीँ पानी पुरी र चटपटे बेचेर उहाँ जेठो छोरालाई काठमाडौ पढाइराख्नु भएको छ । जेठो छोरा एघारमा काठमाडौ अध्ययन गर्दैछन् भने अन्य दुई छोरा टीकापुरमै एउटा सातमा र अर्को पाँचमा अध्ययन गरिरहेका छन् ।
बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गर्नुभएकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता छैन । “दैनिक एक हजार देखि बाह्र सयसम्म कमाइ हुन्छ । महिनामा २५ हजारसम्म मेरो बचत हुन्छ ।” दुर्गा भन्नुहुन्छ, “काठमाडौ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाईले परिवार पालिएको छ ।”
उहाँका श्रीमान रतिमान बुढा मजदुरी गर्नुहुन्छ । जहाँ काम पायो त्यतै जानुहुन्छ । श्रीमानले कमाएको पैसा उहाँले बचत गर्दै आएको बताउनुभयो । कसैको भारी बोक्ने, ढुङ्गा बोक्ने लगायतका थुप्रै संघर्षका अनुभव रतिमानसँग छन् । नेपाल हुँदै भारतका थुप्रै शहरमा लामो समय बिताउनुभएका रतिमान अहिले अहिले भने अरुको काम गरेर थाक्नुभएको छ । भनेजस्तो काम नपाइने भएपछि यतिबेला रतिमान घरमै हुनुहुन्छ । उमेरसँगै मजदुरी गर्दा चाहिने ताकत कम भएपछि उहाँ पनि व्यापार गरेर बस्ने सोचमा रहेको बताउनुहुँन्छ । “उमेर ढल्कदै गयो । शरीरको ताकत कम हुँदै गएपछि काम गर्न निकै गाह्रो हुनथाल्यो ।” रतिमान भन्नुहुन्छ, “मैले पनि एउटा ठेला किनेर त्यहीँ पानी पुरी र चटपटेको व्यापार गर्ने सोचमा छु ।”
आफ्ना सन्तानकै लागि आफुसँग भएको सबै जायजेथा त्यागेर नयाँ शहरमा आएको दुर्गाको परिवार कालिकोट फर्कने सोचमा छैन । जति दुख गरेपनि टीकापुरमै बसेर छोराहरूलाई राम्रो शिक्षा दिनका लागि गरिरहेको संघर्ष समुदायका लागि पनि एक उदाहरण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *