जोखिम मोलेर दाउरा संकलन

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर २१साउन /
कर्णाली नदी किनारमा बस्ने नागरिकहरु जोखिम मोलेर नदीले बगाएर ल्याएका दाउरा संकलनमा जुटेका छन् ।
यतिखेर टीकापुर नगरपालिका क्षेत्र भई बग्ने कर्णाली नदीको वहाव उच्च भए पनि स्थानीयहरु जोखिम मोलेरै दाउरा संकलनमा जुटेका हुन् । बर्सेनि बाढीले बगाएर ल्याउने रुख तथा काठहरुलाई स्थानीयहरुले समूहमार्फत् संकलन गर्ने गरेका छन् । जसले आफूहरुलाई वर्षभरि चाहिने दाउराको पूर्ति त्यहीबाट गर्ने गरेको टीकापुर नगरपालिका वडा नं. ८ की रानी चौधरी बताउँछिन् । उनको पाँच जनाको परिवार छ । जसमा श्रीमान्, दुई छोरा र उनी कर्णाली नदीले बगाएर ल्याएका दाउरा संकलनमा जुटेका छन् । ‘काम केही छैन । दाउरा संकलन गरेरै दिन कट्ने गरेका छन् ।’ रानीले भनिन्, ‘यो हाम्रो रहर होइन बाध्यता हो । काम खोजौं भने वर्षात्मा काम कसैले दिदैन ।’
उनले डरैडरमा दाउरा संकलन गर्नुपरेको बताउँदै कर्णाली नदीको उर्लदो भेलमा छोराहरुले हाम फालेर दाउरा निकाल्दा आफ्नो सातो जाने गरेको बताईन् । ‘नदीमा नजान भनेर बारम्बार भन्ने गरेका छौं ।’ रानीले पुनः भनिन्, ‘भनेको मान्दैनन् । छिमेकीको लहलहैमा लागेर पनि गइहाल्छन् ।’
त्यस्तै, टीकापुर नगरपालिका वडा नं. ८ कै रमेश चौधरी पुल निर्माणमा ज्यालादारीमा काम गरेर गुजारा गर्दै आएका थिए । बन्दाबन्दीपछि कामहरु बन्द भएसँगै उनी पनि अहिले कर्णाली नदीमा जोखिम मोलेर दाउरा संकलनमै लागेका छन् । ‘काम सबै कोरोनाले खायौं, ज्यान र परिवार त पाल्नै प¥यो ।’ रमेशले भने, ‘समूहमा दाउरा संकलन गर्ने गरेका छौं । त्यही बेचेर भए पनि घर खर्च चल्छ कि भन्ने आशा छ ।’
रमेशले सत्ती पुल निर्माण हुँदा पनि ज्यालादारीमा काम सुरु गरेको बताउँदै बन्दाबन्दीपहिले दाङमा काम गर्दै आएको बताएका छन् । उनले आफूहरुसँग जग्गा जमिन पनि नभएका कारण घर परिवार पाल्ने एकमात्र माध्यम ज्यादालारी भए पनि बन्दाबन्दीले सबै काम बन्द हुँदा ठूलो समस्या आइपरेको बताएका छन् ।
सोही ठाउँका राजकुमार चौधरी पनि कर्णाली नदीमा दाउरा संकलन गर्ने समूहमै छन् । उनले हालसम्म ६÷७ डन्लप दाउरा संकलन गरेको बताउँदै केही काठ फर्निचरमा समेत प्रयोग गर्न मिल्ने र केही प्लाइउडका लागि जाने भएका कारण वर्षाको कमाई कर्णाली नदीबाट दाउरा संकलन नै भएको बताएका छन् । ‘नदीमा ७÷८ वटा समूह दाउरा संकलनमा छन् । जसले बढी जोखिम मोल्यो, त्यसले राम्रै आम्दानी गर्छ ।’ राजकुमारले भने, ‘गतवर्ष एकै जनाले ५० हजारदेखि २ लाखसम्म काठ, दाउरा बेचेरै आम्दानी गरेका थिए ।’ उनले वर्षात्मा संकलन गरेको काठ, दाउरा वर्षभरिका लागि प्रयोग गर्दै आएको बताउँदै नदी तटीय क्षेत्रका स्थानीयहरुको दैनिकी नै काठ, दाउरा संकलन भएको बताएका छन् ।
सत्ती पुल आसपासको क्षेत्रमा सयौंको संख्यामा काठ, दाउरा संकलनका लागि नदी क्षेत्रमा मानिसहरु देखिने गरेका छन् । टीकापुर–८ कै बनगाउँ, फाँटा, अर्नुवाफाँटा, कर्मीडाँडा, बटनपुर, बन्जरिया लगायतका क्षेत्रबाट पनि दाउरा संकलनका लागि समूहमार्फत् कर्णाली नदीमा आउने गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *