टीकपुर नगरपालिकाको औपचारिकतामा मात्रै बजार अनुगमन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ असोज /
चाडपर्वहरु नजिकिँदै जादा टीकापुर नगरपालिकाले प्रतिनिधिमुलक रुपमा बजारमा पसलहरुको अनुगमन गरिएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा गरेको यो पहिलो अनुगमन हो । बजारको अनुगमनका क्रममा कुनैपनि बजारलाई कार्वाही गरेको छैन । नगरपालिकाले टीकापुर बजार क्षेत्रमा रहेका ७ वटा किराना पसल, ४ वटा होटल यथा नास्ता पसल, एक तरकारी पसल, एक कपडा पसल, एक डेरी उद्योग र एक कृषि सामग्री पसल गरि १५ वटा पसलको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद नाघेका बस्तुहरु सेन्चुरी मसाला ३९ पाकेट, पतञ्जलीको अचार १ डिब्बा, हाथी बेसन ७ पाकेट, अरहरको दाल २५.९० किलो, सुजी ६ पाकेट, गोल्ड फेसवास ३ थान, अशोका फुड कलर २ पाकेट, चकलेट २ पाकेट, अलाइट हेयर रिमुभल क्रिम २ थान, आरसी कोल्ड ड्रिङक्स २ बोत्तल, क्वीकस ९ पाकेट, टमाटरको बीउ १४ पाकेट, बरामद गरिएको छ ।
साथै अनुगमनका क्रममा कैफियत देखिएका व्यवसायीलाई आवश्यक निर्देशन दिईएको बताउँदै निरीक्षण अधिकृत रञ्जु आचार्यले बजार अनुगमनका क्रममा जफत गरिएका सामाग्रीहरु नष्ट गरिएको समेत जानकारी दिएकी छन् । उनले स्थानीय तहमा व्यवसाय दर्ता नगरेका पसल/फर्महरुले ७ दिन भित्र वडा कार्यालयमा व्यवसाय दर्ता गरि नगर कार्यपालिकाको कार्यालयमा सो को जानकारी गराउनुपर्ने, साइनबोर्ड र मूल्य सूची नराखेका पसल/फर्महरुले ३ दिन भित्र साइनबोर्ड र मूल्य सूची राखी नगर कार्यपालिकाको कार्यालयमा सो को जानकारी गराउनुपर्ने, म्याद नाघेका सामानहरु छुट्टै राख्न तत्काल एक्सपाएर जोनको व्यवस्था गर्नुपर्ने, व्यवसाय स्थलमा आवश्यक सरसफाईको व्यवस्था गर्नुका साथै बिक्री वितरण गरिने खाद्य पदार्थहरुको स्वच्छतामा ध्यान दिनुपर्ने, खरिद बिक्री सम्बन्धी बिल/बिजक अनिवार्य रुपमा राख्नुपर्ने, टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७६ र स्थानीय बजार व्यवस्थापन तथा अनुगमन नियमावली, २०७७ लगायत अन्य कानुनहरुको पालना गर्नुपर्ने कुराको जानकारी समेत दिइएको बताएकी छन् ।
नगरपालिकाले यस अघि पनि पटकपटक बजारको अनुगमन गर्ने गरेको छ । तर, ती अनुगमन नाममा मात्रै सिमित हुँदा त्यसको प्रभाकारीता नदेखिएको स्थानिय सरोकारवालाहरु बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिना पनि नगरपालिकाको बजार अनुगमनबाट सन्तुष्ट हुने ठाउँ नरहेको बताउछन् । “हामीले मासिकरुपमा बजारको अनुगमन हुनुपर्छ भन्ने हो । तर नगरपालिकाको बजार अनुगमन फितलो छ ।” तिमिल्सिनाले भने, “सकेसम्म सबै पसलहरुको अनुगमन गर्न जरुरी छ । औपचारिकतामा सिमित राखेर प्रतिनिधिमुलक रुपमा हुने अनुगमनले काम हुँदैन ।”
उनले सरोकारवाला सबैलाई सँगै राखेर नगरपालिकाले बजार अनुगमन गर्नु पर्ने बताउँदै एकाध पसलमा मात्रै धेरै कमजोरी भेटिएको अवस्थामा अधिकांश पसलहरुबाट उपभोक्ताहरु ठगिदै गएको बताएका छन् । अहिले पनि टीकापुर बजारमा कुनै पसलमा मूल्य सुचि छैन । कानुन अनुसार मूल्य सुची नराखेको पाइएमा पनि उसलाई कानुन अनुसारको कार्वाहीको व्यवस्था छ । बजारमा अनुगमन हुनथाल्यो भने अधिकांश ब्यापारीहरु पसलको सटर लगाउँछन् । त्यस्ले पनि ब्यापारीहरुले स्वच्छ रुपमा व्यावसाय गरेका छन् भन्नेमा शंका गर्ने थुप्रै ठाउँ रहेको सरोकारवाला बताउँछन् ।
नगरपालिकाले मूल्य सुची नराखेका, स्थानीय तहमा दर्ता नभएका, साइन बोर्ड नराखेका, म्याद नाघेका सामानहरुलाई छुट्टै नराखी कारोबार गरिरहेका सिमित पसलहरुको तथ्यांक सार्वजनिक गरेको छ । तर बजारमा यस्ता अधिकांश पसलहरुको अवस्था उस्तै छ भने, त्यसको मारमा उपभोक्ता परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *