शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०५ माघ /
कैलालीको टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा नदिजन्य पदार्थको उत्खननका लागि ठेक्का नदिएको भएपनि चोरी निकासी भने तिब्र भएको छ ।
कर्णाली नदीमा नदिजन्य पदार्थको उत्खनन कै कारण नदी आसपासका बस्तीहरु बाढी र डुवानको जोखिममा परेको र राष्ट्रिय गौरवको आयोजाना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको तटबन्धन समेत जोखिममा पर्दै गएको भन्दै नगरपालिकाले नदिजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाएको थिएन । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्धको आसपासबाट जदिजन्य पदार्थको उत्खनन बढेकै कारण तटबन्धको काम समेत कमसल बन्दै गएको भन्ने बिरोधहरु बाहिर आउन थालेपछि त्यसको उत्खनन नगरपालिकाले रोकेको थियोब। नगरपालिकाले ठेक्का नदिएपनि कर्णाली नदीमा नदिजन्य पदार्थको उत्खनन नरोकिएपछी नगरपालिकाले निगरानी बढाएको छ ।
नगरपालिकाले नगर प्रहरीलाई परिचालन गरि नदिजन्य पदार्थको उत्खननमा रोक लगाउन थालेको नगरपालिकाकि राजस्व शाखा प्रमुख दीला उपाध्याय रेग्मीले बताउनुभएको छ । “नदीको जोखिमलाई मध्यनजर गरेरै हामिले यसवर्ष नदिजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएका थिएनौं । ठेक्का नदिएपनि चोरो निकासी नरोकिएपछी नगर प्रहरीले परिचालन गरेका छौं ।” राजस्व शाखा प्रमुख रेग्मीले भन्नुभयो, “अहिलेसम्म त्यसबाट ७५ हजार राजस्व समेत संकलन भएको छ । अहिले नगर प्रहरीलाई प्रती ट्याक्टरको हिसाबमा रसिद काट्न लगाएका छौ ।”
विशेषगरी सनकट्टी क्षेत्रमा बिगतका बर्षहरुदेखी नै नदिजन्य पदार्थको दोहन तिब्र गतिमा हुँदै आएको छ । यसवर्ष कर्णाली नदीमा आएको बाढीले सनकट्टी क्षेत्रको स्वरुप नै परिवर्तन गरिदिएको छ । अत्याधिक दोहनका कारण बर्सेनि सामुदायिक वनको जग्गा कर्णाली नदीको बगरमा परिणत हुँदै आएको छ । उता दौलतपुर नजिक नदीले कटान गरेकै कारण गत कार्तिक तीन गते आएको बाढीले टीकापुर नगरपालिका वडा नं. ८ र ९ मा ठूलो क्षति भएको थियो ।
राजस्व शाखा प्रमुख रेग्मीले नदिजन्य पदार्थको उत्खननका लागि ठेक्का नहुँदा राजस्व चुहावट बढेको बढेको बताउनुभयो । उहाँले दिनभर केही ब्यक्तिहरुले कामदार लगाएर ढुङ्गा संकलन गर्ने र रातिको समयमा पैठारी गर्ने गरेको बताउँदै त्यसलाई रोक्नको लागि नगरपालिकाले काम अगाडि बढाएको बबताउनुभएको छ । “खुला ठाउँ छ । जताबाट सहज भएको छ त्यहाँबाट उत्खनन हुँदै आएको रहेछ । त्यसलाई रोक्न र संकलन भएर निकालिएको नदिजन्य पदार्थलाई मापदण्ड पुर्याएर राजस्व संकलनको कामलाई अगाडी बढाएका छौँ ।” राजस्व शाखा प्रमुख रेग्मीले भन्नुभयो ।
जानकी गाउँपालिका र लम्की चुहा नगरपालिकाले भने नदिजन्य पदर्थको उत्खननको ठेक्का दिएर उत्खनन गर्दै आएका छन् । स्थानीय तहले निश्चित मापदण्ड अपनाएर नदिजन्य पदार्थको उत्खननका लागि ठेक्का दिने गरेको भएपनि नदिजन्य पदार्थको उत्खननका लागि सहज भएको क्षेत्रबाट बढी दोहन हुँदा नदी नै बस्तीमा फर्किने जोखिम बढेको छ ।