शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २८ साउन/
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ की कुन्ती देवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले वर्षातको समयमा निन्द्रा नै पर्दैन । रातिको समयमा चारदेखी पाँच पटक उहाँले कर्णाली नदीतिर नजर लगाउने गरेको बताउनुभएको छ । गत वर्ष कार्तिकको बाढीले निकै त्रास फैलाएको बताउँदै यसपटक नदी झन नजिक आइसकेको बताउनुभएको छ ।
“दिनभर काम गरेर निकै ज्यान निकै थकानमा हुन्छ । नदीको त्रासले त्यैपनि निन्द्रा लाग्दैन ।” कुन्तीले भन्नुभयो, “सुतेको बेला पनि बाढी बस्तीमा पसेको सपना पर्छ ।” सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भएपनि वर्षायाममा कहिल्यै शान्तीको सास फेर्न नपाएको बताउनुहुँन्छ । उहाँले कर्णाली नदी आफुहरुका लागि अभिसाप बनेको बताउनुभयो । “अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ती नै छ । त्यो शान्त मन कतिबेला विछिप्त हुने हो थाहा छैन ।” इन्द्रबहादुरले भन्नुभयो, “तराईमा पानी नपर्दा पनि बाढी आउँछ । तराईमा पानी पर्दा पुर्व तयारीमा बस्दा पनि कहिल्यै बाढी आउँदैन ।”
कृषि व्यवसायी धनसिंह साउँदले करिब २५ देखि ३० बिघा धान खेती गर्नुहुन्छ । उहाँले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नु परेको बताउनुभएको छ । समयमै बिउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निराश हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । “एकातिर कृषि योग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर वर्षातको समयमा नागरिकहरुले शान्तिको सास फेर्न समेत पाउँदैनन् ।” साउँदले भन्नुभयो, “नदी तटबन्धनको लागि कैयौंपटक प्रयासहरु भए तर, परिणाममा अझै शुन्यको अवस्था छ । समस्या जस्ताको त्यस्तै छ ।” वडा नं. ८ कै श्रीलंकामा खेतियोग्य सयौं बिघा जमिन नदीमा मिसावट भैसकेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानहरुसँग छैन ।
अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयहरुले जैविक तटबन्धको काम सुरु गरेका छन् । स्थानीयहरु वस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा लागेका हुन । टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला यतिबेला स्थानीयसँग जनश्रमदानमा व्यस्त हुनुभएको छ । कर्णाली नदीको कटानलाई रोक्नको लागि वडाको बनगाँउ क्षेत्रमा जैविक तटबन्धनको काममा वडा अध्यक्ष ठकुल्लाको अगुवाइमा जैविक तटबन्धको काम भैरहेको स्थानीय जितराम चौधरी बताउनुहुँन्छ । “जनप्रतिनिधिहरु नै नदी नियन्त्रणको प्रयासमा लाग्दा सिंगो समुदाय जैविक तटबन्धका लागि लागिपरेको छ ।” चौधरीले भन्नुभयो, “यो सामान्य रोकथामका लागि मात्रै हो । ठूलो बाढी आयोभने यस्ता तटबन्धन बाट बस्ती जोगाउन सकिने अवस्था छैन ।”
वडा अध्यक्ष ठकुल्लाले नगरपालिका वडा नं. ७, ८ र ९ कर्णाली नदीको निकै जोखिममा रहेको बताउँदै नदी नियन्त्रणका लागि पटकपटक संघीय सरकारसँग गरेका पहलहरु असफल भएको बताउनुभएको छ । उहाँले स्थानीय सरकारको बजेटले नदी नियन्त्रण गर्न नसकिने बताउँदै पटकपटक संघीय सरकारलाई आग्रह गर्दा पनि कतैबाट सुनुवाइ नभएको बताउनुभएको छ । वडा अध्यक्ष ठकुल्लाले माथिल्लो निकायले नसुनेकै कारण बर्सेनि स्थानीयहरुको माटोका बोरा र तार जाली बोक्नुपर्ने बाध्यता नहटेको बताउनुभयो ।”वर्षौ भयो नदी नियन्त्रणका लागि तटबन्धको योजना परेको । तर, समयमै निर्माण कम्पनीले काम नगर्दा बर्सेनि वर्षातको समयमा हाम्रो दैनिकी यसैगरी बित्ने गरेको छ ।” वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, “नदी नियन्त्रणको विकल्प नखोजौं बस्ती जोगाउन मुस्किल छ । बर्सेनि माटोका बोरा र झारपात बोक्नु हाम्रो बाध्यता हो । हामिले जनताको दुखमा साथ दिएनौं भने यस्तो अवस्थामा जनताले विश्वास गर्ने गर्ने आधार पनि रहदैनन ।”
नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौं बिघा जंगल नदीमा परिणत भैसकेको छ । बर्सेनि नदीले कटान गर्न थलेपछी जंगलको क्षेत्र खुम्चिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रिया मार्फत काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ । “नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएका छन् ।” सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भन्नुभयो, “गौरवको आयोजनाको लापरबाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौं बिघा जंगल नदी बनिसकेको छ ।”
गतवर्ष कार्तिकमा टीकापुर नगरपालिका वडा नं. ५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं. ६,७,८ र ९ का अधिकांश स्थान डुवानमा परेका थिए । जसबाट ठूलो धनमालको क्षति भएको थियो ।