शेयेर गर्नुहोस
टीकापुर २७ माघ /
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले देशको महत्त्वपूर्ण नीति शिक्षा नीति भएको बताउनुभएको छ ।निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलाली शाखाको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख जोशीले राष्ट्रलाई बलियो बनाउन राष्ट्रिय शिक्षा नीतिको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको हो ।
“अहिले छलफलमा रहेको राष्ट्रिय शिक्षा नीतिको सान्दर्भिकताका विषयमा प्रश्नहरु उठिरहेका छन् । त्यसलाई पुनःबिचार गरिनुपर्ने भन्दै आवाज उठेको छ ।” प्रदेश प्रमुख जोशी भन्नुहुन्छ, “शिक्षा सबैलाई सर्वमान्य हुनुपर्छ । जसका कारणले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन मद्दत पुगोस् ।” उहाँले नेपालको सन्दर्भमा शैक्षिक क्षेत्रमा निजि क्षेत्रको भुमिका निकै प्रशंसनीय रहेको पनि बताउनुभयो । राज्यले गर्नुपर्ने कामलाई निजि क्षेत्रले सहयोग गरेर त्यसलाई टुंगोमा पुर्याउने काम गरेको भन्दै प्रदेश प्रमुख जोशीले राज्यको शिक्षा नीति पनि सामुदायिक र निजी क्षेत्रलाई सँगसँगै लैजाने खालको बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शैक्षिक क्षेत्र पछिल्लो समय अस्तव्यस्त अवस्थामा जान लागेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ । “आज देशका ठुला बिधालय र क्याम्पस खाली हुने अवस्थामा पुगेका छन् । सबै अभिभावक र बिद्यार्थीहरुको ध्यान विदेश केन्द्रित भएको छ ।” उहाँ भन्नुहुन्छ, “यसलाई समयमा रोक्न सकिएन भने निकट भविष्यमा यसको ठूलो असर राज्यले बेहोर्नुपर्छ । राज्य र राज्यका संयन्त्र समयमै जिम्मेवार बन्न सक्नुपर्छ ।”
प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगविर थापाले शिक्षा क्षेत्रमा निजि क्षेत्रको मात्रै ६ खर्ब लगानी भैसकेको बताउँदै राज्यले हेर्ने दृष्टिकोण एउटै हुनुपर्ने बताउनुभएको छ । देशको राजनीतिक अस्थिरताका कारण शिक्षा क्षेत्र पनि माथी उठ्न नसकेको उहाँको बुझाई रहेको छ । केन्द्रिय उपाध्यक्ष थापाले सस्तो लोकप्रियताका कारण राजनीतिक दलहरू उचित निर्णयमा पुग्न नसकेको बताउनुभएको छ ।
प्याब्सन सुदुरपश्चिम प्रदेशका अध्यक्ष ललित राज पन्तले निजि क्षेत्र सबैका आँखाको तारो बनेको आरोप लगाएका छन् । उनले राज्यको दृष्टिकोणमा सुधार नआएसम्म शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने पनि बताए । अध्यक्ष पन्तले बिधालय सञ्चालकहरु आफै समस्या बल्झाउने र त्यसको समाधान प्याब्सनले गरेन भनेर दोष लगाउने काम पनि गर्ने भन्दै कुनै कुरामा हतोत्साहित नभएर काम गर्न आग्रह गरेका छन् । उच्च शिक्षा बचेपछिमात्रै शैक्षिक क्षेत्र बलियो बन्न सक्ने बताउँदै अहिले उच्च शिक्षा अध्ययन गराउने बिधालय संकटमा परेको बताएका छन् । प्याब्सन केन्द्रिय सदस्य सिबी चन्दले शिक्षामा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै शिक्षालाई गुणात्मक बनाउन ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र बहादुर रावलले भौतिक क्षेत्रको लगानीलाई तुलना गर्दा राज्यले अझै पनि शैक्षिक क्षेत्रमा लगानी गर्न नसकेको बताएका छन् । उनले शिक्षामा लगानीसँगै दीर्घकालीन र गुणात्मक परिणाम आउने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । शैक्षिक क्षेत्रमा राज्यको भन्दा निजि क्षेत्रको भुमिका बलियो रहेको बताउँदै क्याम्पस प्रमुख रावलले उत्पादन जनशक्तिमा पनि निजि क्षेत्र अब्बल रहेको बताएका छन् ।
नागरिक अगुवा तथा शिक्षाविद् डिल्ली राज रेग्मीले राज्यमा लगानी गर्ने संयन्त्रलाई राज्यले नै बन्देज लगाउने काम गरेको बताएका छन् । उनले बिधालय सञ्चालक एउटा नागरिक समाज पनि भएको बताउँदै नागरिकले खेल्नुपर्ने भुमिका खेल्न पनि आवश्यक रहेको बताएका छन् । निजि क्षेत्रको परिक्षा प्रणाली पैसासँग बिक्री हुने गरेको भन्दै रेग्मीले हाजिर लगाउने रजिस्टर हेरेर बिद्यार्थीलाई पास गर्ने नितिले शिक्षा प्रणाली बलियो बन्न नसक्ने बताएका छन् । केन्द्रदेखि पालिकासम्म शिक्षा क्षेत्रलाई रमिते बनाउँदा उच्च शिक्षा धोष्त भैसकेको बताएका छन् ।
प्याब्सन केन्द्रिय सदस्य योगेन्द्र हमालले राज्यले गर्नुपर्ने काम निजि क्षेत्रले गरिरहेको बताउँदै शैक्षिक क्षेत्रमा मात्रै नभई रोजगारी दिने कार्यमा पनि निजि बिधालयले गरिरहेको बताएका छन् । प्याब्सन कैलालीका सल्लाहकार संयोजक डिल्लीराज रेग्मीले एकता नै सबैभन्दा ठूलो बल भएको बताउँदै त्यसका लागि एकता आवश्यक रहेको बताएका छन् । प्याब्सन कैलाली जिल्ला अध्यक्ष टोपेन्द्र बहादुर शाहको शाहको अध्यक्षतामा भएको वार्षिक साधारण सभाको स्वागत वरिष्ठ उपाध्यक्ष डिल्ली राज देवकोटाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचीव चेतराज देवकोटाले गरेका थिए ।