शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०१ असार /
कैलालीको भजनी नगरपालिका वडा नं. ८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा बेस्त हुनुहुन्छ । रामप्रसादलाई एकातिर वर्षे धान रोपाइको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । उहाँले लगाएको धान काटेर वर्षे धानको रोपाइँको तयारी गर्दै आउनुभएको छ । रासायनिक मलको खोजिमा रहनुभएका रामप्रसादले मल पाएको भए आजसम्म खेत रोपिसक्ने योजना बनाएको बताउनुभएको छ ।
रामप्रसादले तीन बिगाहा क्षेत्रफलमा चैते धान रोप्नु भएको छ । भजनीका अधिकांश किसान चैते धान भित्र्याउनमै ब्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन । “मौसमले निकै साथ दिएको छ । धान काट्न सुकाउनका लागि मौसमको साथ भएपछि खेत रोपाइँ भन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौं ।” रामप्रसादले भन्नुभयो, “हाम्रालागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षे धान त बाढी र डुवान भएन भनेपछि मात्रै भित्र्याउन पाइन्छ । त्यै पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।”
भजनीका किसानले हिउँदे खेती गर्न पाएपनी वर्षे खेतिमा किसानको आकर्षण निकै कम हुने गरेको छ । वर्षातमा बाढी र डुवानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुवानमा पर्छ । लामो समयसम्म डुवान रहयो भने लगाएको अन्न बाली कुहिएर जाने भएकोले पनि किसानहरुको लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालिमा आकर्षण कम हुँदै गएको भजनीका किसान सुन्दर चौधरीले बताउनुभयो । “कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गतको नगरपालिकाकोनआसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुनेगरेको छ ।” सुन्दरले भन्नुभयो, “चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन । मौसम राम्रो भयो भने चैते धान नै दुईदेखि तिन पटकसम्म भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाझै राख्ने गरेका हुन ।”
भजनी नगरपालिका वडा नं. ६ का विष्णुप्रसाद डगौंराले दुई बिगाहा जमिनमा चैते धान रोप्नुभएको छ । उहाँले केही धान भित्र्याइसक्नुभएको छ भने, अहिले पनि विष्णुप्रसाद खेतमै ब्यस्त हुनुहुन्छ । वर्षे धान भन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्टाबाट सुरु गर्नुभएको चैते धाकको खेती दुई बिगाहामा पुर्याएको बताउनुभएको छ । “वर्ष भरिको लागि खाने धान हामी असारमै भित्र्याउने गर्छौ । वर्षातको त भरै हुँदैन ।” विष्णु प्रसादले भन्नुभयो, “खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नु पर्ने बाध्यता रहेको छ ।”
वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा छ । विशेषगरी सिँचाइका लागि बढी समस्या हुने गरेको किसान बताउँछन् । घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भएपनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएको कारण विद्युतको बिल महंगो हुन जाने गरेको किसान जंगबहादुर साउँद बताउनुहुन्छ । उहाँले सरकारले अनुदान दिनु भन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुने बताउनुभएको छ । “दिनभर सिँचाइ गर्यो भने दुई हजारसम्म पनि बिजुलीको बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिन सकेको भए सहज हुनेथियो ।” जंगबहादुरले भन्नुभयो, “स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौं । आश्वासन आउँछ तर, बिजुलीमा किसानलाई अनुदान आउँदैन ।”
चैते धानको लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउन पछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मुल्यमा नभई व्यापारीले तोकेको मुल्यमा धान बिक्रि गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्मा बताउनुहुन्छ । “उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ । उत्पादन भएको बस्तुको भनेजस्तो मूल्य पाइदैन ।” राजेन्द्रले भन्नुभयो, “बजारीकरणमा सरकारले ध्यान दिएको भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।”
भजनी, जोशीपुर, कैलारी लगायतका क्षेत्रमा सयौं बिगाहा क्षेत्रफलमा चेते धानको रोपाइँ हुने गरेको छ । गहुँ खेती भित्र्याए पछि रोप्ने र असारमा भित्र्याउन सकिने भएकोले कतिपयले वर्षमा तिन खेती सम्म गर्दै आएका छन् । दुई पटक धान खेती गर्न सकिने भएपछि किसानको आम्दानीको स्रोत समेत बढेको छ । स्थानिय सरकरले अनुदानमा धानको बीउ उपलब्ध गराउने भएपछि किसानहरूमा चैते धान प्रतिको आकर्षण झन बढ्दै गएको हो । समयमा मलखादको अभावले उत्पादनमा समस्या हुने गरेको किसान बताउँछन । साथै सामुदायिक छाडा चौपायाका कारण किसानलाई झनै आजित बनाएको छ । सामुदायिक चौपाया व्यवस्थापन हुन नसक्दा अधिकांश किसानहरूले खेती गर्न समेत छोडिसकेका छन् ।