शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १२ चैत /
कैलालीको टीकापुर बासीको एउटा सपना हो कर्णाली नदीको सन्कट्टीमा पक्कि पुल । पुल निर्माण भएर कर्णाली नदीमा डुङ्गाको जोखिम यात्रा गर्न बन्द हुने आशामा वर्षौं गुजारेका स्थानीय पुल बन्ने भएपछि यतिबेला निकै खुशी छन् । पटकपटक पुलका लागि बहस र छलफल भएपनि पुल निर्माण सार्थक टुंगोमा पुग्न सकेको थिएन ।
टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुशीको आभास भएको बताउनुहुँन्छ । उहाँ त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्नुहुन्छ । घर टीकापुर व्यापार बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजार । साझ घर फर्कनुपर्ने बाध्यता छ भने बिहानै शान्तिबजार । त्यहाँ पुग्नको लागि एकमात्र साधन डुङ्गा । “हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन ।” कमलले भन्नुभयो, “बर्खाको उर्लदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि आरामले आवागमन हुने आशा पलाएको छ ।”
टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्नुहुन्छ। उहाँ बिहानै चाउमिन लगायत अन्य सामान लिएर बर्दिया पुग्नुहुन्छ । उहाँको त्यो दैनिकी जस्तै हो । बर्दिया पुग्नको लागि उनी राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्नुहुन्छ । नभए त्यहीँ सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा । “दैनिक बर्दिया जाँदा खर्च बढेको छ । ज्यान कर्णालीको जोखिममा हुन्छ ।” चौधरी भन्नुहुन्छ, “आफुले चाहेको बेला डुङ्गा पाइँदैन । साझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ” पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गर्नुभयो ।
सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौं पटक बहस र छलफल भए भने संघीय सरकारमा डेलिगेशन पुगे । अन्ततः ती प्रयासहरु सार्थक भएका छन् । २०७४ मा सुदुरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षिय योजनाको रुपमा अघि सारेको थियो । तर, दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावल बताउनुहुँन्छ ।
“पुलका लागि निकै मिहेनत गर्नुपर्यो । कहिले संघीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो ।” डा रावलले भन्नुभयो, “अन्ततः संघीय सरकारले हाम्रो आवाज सुनेको छ । अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौं ।” व्यापारीहरुको संस्था टीकापुर उद्योग वाणिज्य संघले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना गर्यो । महोत्सव सम्पन्न भयो तर पुल निर्माणको योजनाले पुर्णता पाउन सकेन ।
अहिले पुल निर्माणका लागि संघीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मंसिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ । करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाईको रहने निर्माण कम्पनीका इन्जिनियर कृष्ण ढुङ्गेलले बताउनुभयो । उहाँकाअनुसार पुलमा करिब १४ वटा पिल्लर रहनेछन् ।
“सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भैरहेको छ । डिजाइनको काम सकिएपछि लगतै काम सुरु गर्छौं ।” उहाँले भन्नुभयो, “सम्भवत एक डेढ महिनामा डिजाउनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौं, नभए बर्खापछि काम सुरु हुन्छ ।” ढुङेलले सम्झौता भएअनुसारको समयमा पुल निर्माणको काम सम्पन्न भैसक्ने बताउँदै समयमा काम सम्पन्न हुन्नकी भनेर शंका नगर्न आग्रह गर्नुभयो ।
टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौं नागरिकहरूले डुङ्गाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । “वर्षौंदेखि त्यहीँ एउटा सपना थियो सन्कट्टीमा पक्की पुल । जसका लागि कैयौंपटक राज्यका अधिकांश निकायमा पुगेका थियौं ।” वडा अध्यक्ष चौधरीले भन्नुभयो, “आज त्यो राज्यले सुनेको छ । नागरिक खुशी छन् । पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ ।”