शेयेर गर्नुहोस
झलनाथ खनाल,
टीकापुर २१ फागुन /पछिल्लो समय इलाका प्रहरी कार्यालय टीकापुरले शान्ति सुरक्षामा विगतका जस्तो सफलता हासिल नगरेको भन्ने जनगुनासो आइरहेका बेला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले आफूहरु हल्लाखल्लाभन्दा पनि सुक्ष्म ढङ्गले काम गर्दै आएको बताएका छन् ।
गत जेठमा नेपालगञ्जबाट सरुवा भई आएका न्यौपानेको इलाका प्रहरी कार्यालय टीकापुरको बसाइ छोट्टिदै गएको बताउँदै भने, ‘काम धेरै भएका छन् । हामीले धेरै कुरामा सफलता हासिल गरेका छौं । तर, पहिलेको जस्तो कामको प्रचार–प्रसार भएन । त्यही भएर काम नभएको हो कि ? भन्ने महसुस हुनु स्वभाविक हो ।’
उनले विद्यालय सञ्चालन भएयता करिब २० वटा विद्यालयमा लागू औषध दुव्र्यसनी तथा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्रत्येक वडामा वडाअध्यक्षकै नेतृत्वमा सुरक्षा समिति गठन गरिएको बताएका छन् । ‘नागरिकहरुबाट हामीले राम्रो सहयोग पाएका छौं । मलाई प्रचार–मुखी काम गर्न मन पर्दैन ।’ डीएसपी न्यौपानेले भने, ‘मलाई नाम चाहिँदैन । काम देखिनु पर्छ । काम गरे÷नगरेको मूल्याङ्कन नागरिकले गर्ने कुरा हो ।’
इलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध दुव्र्यसन न्यूनीकरणका लागि लगातार काम गर्दै आएको छ । विशेषगरी, तीन वर्षयता प्रहरीले लागू औषध न्यूनीकरणको योजनालाई महत्वका साथ अगाडि बढाएको छ । अहिले पनि लागूऔषध दुव्र्यसनीका प्रयोगकर्ता तथा कारोबारीहरु पक्राउ पर्ने क्रम नरोकिएको बताउँदै डीएसपी न्यौपानेले आफूहरुकै पहलमा टीकापुरमा सहारा सुधार केन्द्र स्थापना गरिएको बताएका छन् । ‘लागू औषध कारोबारीहरुलाई हामीले छोड्न मिल्दैन । मुद्दा चलाउनै पर्छ ।’ डीएसपी न्यौपानेले भने, ‘अवस्था हेरेर प्रयोगकर्ताहरुलाई भने सुधार केन्द्र पठाउने गरेका छांै ।’
सामाजिक सञ्जाल र बढ्दो आधुनिकताका कारण पछिल्लो समय आत्महत्यका घटनाले भयावह स्थिति लिएको डीएसपी न्यौपाने बताउँछन् । ‘एउटा १० वर्षको बालकले आत्महत्याको प्रयास गर्छ भने ८० वर्षको बृद्धले पनि ।’ डीएसपी न्यौपानेले भने, ‘त्यसको कारण बढ्दो आधुनिकता र सामाजिक सञ्जालको गलत प्रयोग नै हो ।’
अहिले अधिकांश मानिसहरु कुनै न कुनै व्यवसायमा आबद्ध छन् । बाँकी रहेको समय पनि सामाजिक सञ्जालकै प्रयोगमा व्यतित गर्छन् । परिवारमा कसैलाई कसैको मतलब हुँदैन । त्यसैको कारण पनि आत्म–हत्याका घटनाहरु बढेको हुनसक्ने न्यौपाने बताउँछन् । ‘आत्महत्याका घटना यसैगरी बृद्धि हुँदै जाने हो भने भोलि त्यसलाई नियन्त्रण गर्न सकिने अवस्था छैन ।’ डीएसपी न्यौपानेले भने, ‘हामीसँग पनि अन्तिम अवस्थाका केसहरु मात्र आउने हुन् । आत्महत्याका प्रयासहरु कति हुन्छन् कति ? ती घटनाहरु गाउँघरभित्रै हराउँछन् ।’
उनले नागरिकहरुलाई सचेत गराउने उद्देश्यले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको समन्वयमा २५ वटा जनचेतनामूलक होडिङ बोर्डका लागि छलफल भइरहेको बताउँदै प्रहरी एक्लैले मात्र चाहेर मात्र शान्ति सुरक्षा कायम हुन नसक्ने बताएका छन् । उनले आफ्नो टीकापुरको हालसम्मको कार्यकाल सुख र सफलतापूर्वक अगाडि बढ्दै गएको बताउँदै त्यसमा सबै निकायको भूमिका पनि महत्वपूर्ण रहेको बताएका छन् ।