प्राकृतिक स्रोत व्यवस्थापन कलेजका बिद्यार्थी आन्दोलित

शेयेर गर्नुहोस


टीकापुर १७ मंसिर/

प्राकृतिक स्रोत व्यवस्थापन कलेजका बिद्यार्थी आन्दोलित भएका छन् ।
क्याम्पसमा आवश्यक कुराहरू पूरा गर्नुपर्ने र शिक्षकहरुको कार्यशैलीमा सुधार आउनुपर्ने भन्दै १८ बुदे माग सहित बिद्यार्थीहरु आन्दोलित भएका हुन । उनीहरुले क्याम्पसको प्रशासनिक कक्ष र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गर्नुको साथै क्याम्पसको पठनपाठन समेत बन्द गराएका छन् । २०७४ सालमा स्थापना भएको कलेजले अध्ययनकको समयमा आवश्यक पर्ने आधारभूत कुराहरू समेत पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका क्याम्पस कमिटी अध्यक्ष दिकपाल धौलारीले जानकारी दिएका छन् ।
“यो कृषि क्याम्पस हो । यहाँ बिद्यार्थीका लागि अभ्यास गर्नको लागि एउटा कोदालो समेत छैन । क्याम्पसको पुस्तकालयमा पुस्तक पाइँदैन । ल्याबमा उपकरण छैन ।” धौलारीले भने, “हामीले सिक्ने के ? कसरी सिक्ने ? भोलि परिक्षामा सफल नहुँदा अभिभावकलाई जवाफ के दिने ?” उनले एक महिनाको पाठ्यक्रम शिक्षक दुई दिनमा सकेर फिर्ता हुने गरेको भन्दै बिद्यार्थीहरुलाई बेकुफ बनाउने काम मात्रै भएको आरोप गलाएका छन् । “बाहिरबाट आएका शिक्षक एक महिनाको पाठ्यक्रम दुई दिनमा सकेर जान्छन् । यता भएका शिक्षकलाई पनि पढाउनु भन्दा टीकापुरका कलेज धाउँदै समय बित्छ ।” धौलारीले भने, “कुनै विकल्प नहुँदा अन्तिममा बाध्य भएर आफै अध्ययनलाई रोकी क्याम्पसमा तालाबन्दी गर्नुपरेको छ ।”
हुन त क्याम्पसको मुख्य कार्यालय रामपुर चितवनमा पनि बिद्यार्थीहरुले तालाबन्दी गरेका छन् । त्यसको निरन्तरता सँगै प्राकृतिक स्रोत व्यवस्थापन कलेज भित्रका समस्या समयमै समाधानको माग गर्दै तीन बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा तालाबन्दी गरेको नेपाल विद्यार्थी संघका क्याम्पस कमिटी अध्यक्ष किरण उपाध्यायले बताएका छन् । उनले क्याम्पस प्रमुखको लापरबाहीका कारण पनि विद्यार्थीहरुको अध्यापनमा समस्या भैरहेको बताएका छन् ।
“क्याम्पस प्रमुख महिनमा दुईतीन दिन मात्रै क्याम्पसमा देखिनुहुन्छ । दुईतीन मात्रै क्याम्पस भित्र कस्ता समस्या छन् त्यो उहाँलाई जानकारी हुने कुरा भएन ।” उपाध्यायले भने, “अब हाम्रो समस्या क्याम्पस प्रमुखलाई थाहा हुँदैन भने समाधान कसरी हुन्छ ? क्याम्पस प्रशासनको ध्यान विद्यार्थीको समस्या माथी पुगोस् भन्नका लागि पनि तालाबन्दी गर्नुपरेको हो ।”
उनले विद्यार्थीहरुका लागि प्रयोगात्मक सिकाइका लागि प्रयाप्त जग्गाको व्यवस्थापन हुन नसकेको बताएका छन् ।उपाध्यायले क्याम्पसले भएको जग्गा अरुलाई भाडामा दिएको तर बिद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि जग्गाको व्यवस्थापन गर्न नसकेको बताए । “समस्या धेरै छन् । जुन ढंगले हाम्रो पाठ्यपुस्तकमा भएबमोजिमको शिक्षा हामीले पाएका छैनौं । त्यसको मुख्य दोषी क्याम्पस प्रशासन हो ।” उपाध्यायले भने, “यदि हाम्रा मुलभुत मागहरू पूरा भएनन् भने आन्दोलनका कार्यक्रमहरु अझै सशंक्त बन्दै जानेछन् ।”
विद्यार्थीहरुले क्याम्पसको प्रयोगशालामा प्रयोगात्मक सिकाइका लागि चाहिने उपकरणको व्यवस्था, आवश्यक पाठ्यपुस्तकको व्यवस्था, खेलकुद कार्यक्रम सहित सामाग्रीको व्यवस्था, बिद्यार्थीले चाहेको समयमा ल्याबका सिकाइ वृद्धि गर्न पाउनुपर्ने, विषयगत रुपमा क्याम्पस मैदानलाई बिभाजन गरि प्रयोगात्मक गतिविधि सञ्चालनको व्यवस्थापन मिलाइनुपर्ने लगायतका मागहरु राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *