शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी २७ साउन /
कैलाली जिल्लाकै बाढी र डुवानबाट बर्सेनि सबैभन्दा बढी क्षती भजनीले बेहोर्नुपर्छ । बाढी र डुवानका कारण वर्षातको समयमा भजनीका नागरिकहरू शान्तले सुत्न समेत पाउँदैनन् । भोकैप्यासै दिन काट्नुपर्ने बाध्यता भजनीका नागरिकहरूलाई छ ।
“बाढी बर्सेनि आउँछ, विस्थापित बर्सेनि बनाउँछ । दुईतीन महिना सडकमा बास हुन्छ ।” स्थानीय सुरेन्द्र चौधरी भन्नुहुन्छ, “त्यो बेला थाहा हुन्छ, भोक र प्यास कस्तो हुन्छ भन्ने कुरा । लाग्छ हाम्रालागि यो देशमा सरकार पनि छैन कि जस्तो ।” उहाँले पीडा भएको बेला आएर शान्त्वना दिनुभन्दा त्यो पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने बताउनुभएको छ ।
रामकृष्ण चौधरी पनि समस्याको बेला मात्रै दिने शान्त्वनाले भजनीको समस्या समाधान नहुने बताउनुहुँन्छ । उहाँले बाढी र डुवानको मुख्य समस्याको पहिचान गरेर कामको थालनी नहुँदासम्म भजनीको दुख नसकिने बताउनुभएको छ । “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती पनि भित्र्याउन पाइन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । अब आफ्नो र परिवारको कुरा गरेर साध्य छैन । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ ।” रामकृष्णले भन्नुभयो, “कि घरबास मात्रै भएपनि उच्च स्थानमा राज्यले दिनुपर्यो । नभए बाढी र डुवानको दीर्घकालीन समाधान गरी नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्यो ।”
भजनीले चाहेकै बाढी र डुवानको दीर्घकालीन समाधान भएपनि त्यसका लागि ठोस योजना भने अझै बन्न सकेको छैन । बर्सेनि बाढी र डुवानका कारण करोडौंको क्षति हुनेगरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुवानमा पर्ने गर्छन् । केही भाग भने आकाशे पानीका कारण पनि डुवानमा पर्छन् । “आकाशे पानी भन्दा पनि नदीको पानी वस्तीमा पसेपछि समस्या बढी हुन्छ । फेरि पानीको निकास नहुँदा पनि डुवानको जोखिम महिनौंसम्म रहन्छ ।” रिता बोहरा भन्नुहुन्छ, “घरभन्दा अग्ला अहिले सडक संरचना बनेपछि पनि डुवान महिनौंसम्म हुने गरेको हो । संरचना बनाउँदा पनि ध्यान दिनसक्यो भने डुवानको जोहिम केही हदसम्म कम हुनसक्छ ।”
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनी डुवानमा पर्नुका विविध कारणहरु रहेको बताउनुभएको छ । उहाँका अनुसार चारैतिर नदीले घेरेको नगरपालिका भएका कारण पनि नदी नियन्त्रणका लागि उचित काम हुन नसक्दा भजनी डुवानमा पर्ने गरेको छ । “भजनी डुवानमा पर्नुको मुख्य कारण नदी नियन्त्रण हुन नसक्नु र भारतको कैलाश बाध हुन । भारतले कैलाश बाध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “केही स्थानमा आकाशे पानीले पनि डुवान हुन्छ तर त्यो धेरै दिन टिक्दैन । मुख्य कारण कैलाश बाध भजनिको बाधक बनेको छ ।”
उहाँले त्यसको समाधानका लागि सरकारले कुटनैतिक तवरले समाधान गर्नुपर्ने बताउँदै नगरपालिकाको स्रोतसाधनले बाढी नियन्त्रण हुनसक्ने स्थिति नरहेको बताउनुभयो । “हामीले पटकपटक संघीय सांसद मार्फत सदनमा कैलाश बाधको विषयमा कुरा उठाउन आग्रह गर्दै आएका छौं । त्यसैका कारण भजनी महिनौंसम्म विस्थापित हुनेगरेको छ ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “अल्पकालीन रुपमा बाढी आउने, उद्वार र राहतको काम गर्ने कुरामा नगरपालिकाले गरिरहेको छ । गर्दै पनि रहला ।” दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग उहाँले आग्रह पनि गर्नुभएको छ । बाढी र डुवानको जोखिमबाट बच्नको लागि नगरपालिकाले नयाँ मापदण्ड कायम गर्दै उच्च घर निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी समेत गरेको नगर प्रमुख चौधरी भन्नुहुन्छ ।
कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगा चौधरीले बाढी आएको दिनदेखि नागरिकहरूको उद्वार र राहतमै व्यस्त हुनुहुन्छ । नागरिकहरूको साथमा रहनुभएका सांसद चौधरीले तपशिलका समस्या जस्तै बाढीको जोखिम बढाउने माध्यम हुलाकी राजमार्ग पनि बनेको बताउनु भएको छ । उहाँले पानीको निकास नहुनु र जमिन भन्दा राजमार्गको उचाई १०/१२ फिट अग्लो हुनुले पनि भजनी डुवानमा पर्ने गरेको बताउनुभयो । “पहिलो समस्या चार नदी नै हुन । जसका कारण भजनी डुब्छ । दोस्रो ठूलो समस्या भनेको हुलाकी राजमार्ग हो भने तेस्रो समस्या कैलाश बाध पनि हो ।” सांसद चौधरीले भन्नुभयो, “यहाँका नदी उल्टो र सुल्टो दुबैतिर बग्छ्न । त्यसको कारण कैलाश बाध हो ।”
उहाँले हुलाकी राजमार्गको पुर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुवान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको बताउनुभएको छ । “बाढी आउने, राहत तथा उद्वार गर्ने नागरिकहरूलाई भुलाए जस्तो गर्ने क्रम यस्तै रहने छ । यदि हामीले दीर्घकालीन समाधान खोजेनौं भने ।” सांसद चौधरी भन्नुहुन्छ, “मैले संसदमा पनि पटकपटक भजनीको बाढीको कुरालाई उठाएको छु । अब हुलाकी राजमार्गलाई व्यवस्थापन, बृहत योजना सहित चारै नदीमा तटबन्ध र कैलाश बाधको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।”
उता, राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अलपत्र हुँदा पनि भजनी नगरपालिकाको वडा नं. ८ मा बढी डुवान भएको स्थानीयको गुनासो छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्ती पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको र खाली रहेको ठाउँबाट वस्तीमा पानी पसेको साचो भएको बताउनुभएको छ । उहाँले उच्च जोखिम भएको क्षेत्रमा तटबन्ध भएको भन्दै बाँकी भाग बजेट अभावमा छोड्नुपरेको बताउनुभयो । “हामीले पथरैया नदीमा २० किलोमीटर तटबन्धको काम गरेका छौं । त्यो पनि विश्व बैंकको बजेटबाट भएको काम हो ।” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “चालू आर्थिक वर्षमा त बजेट नै छैन । अब त्यहीँ काम पनि गर्न सकिने स्थिति छैन । बजेट पुरै कटौती भएर आएको छ ।”
यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् भने दुई घर बाढीले बगाएको छ ।