बाढी प्रभावित भन्छन् : “न राहत पाइयो न जग्गा रह्यो”

शेयेर गर्नुहोस


झलनाथ खनाल, अछाम १५ माघ /
२०७७ भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्यो । बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौं परिवार पुर्णरुपमा विस्थापित भए ।
संघ तथा प्रदेशका मन्त्री लगायत त्यस क्षेत्रबाट निर्वाचन संघ, प्रदेशका जनप्रतिनिधिहरुको केन्द्र बन्यो रामारोशन गाउँपालिका । सबभन्दा बढी क्षति भएको रामारोशनमा तत्कालीन सुदुरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्रीले स्थलगत प्रभावित क्षेत्रको अनुगमन समेत गरेको भएपनि अहिलेसम्म पिडित परिवारले सरकारबाट एक केजि चामल समेत नपाएको गुनासो गर्दै आएका छन् । तत्कालीन गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री लगाएतको टोलि हेलिकप्टर नै लिएर बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।
गाउँपालिकाको वडा नं. ५ मा सबभन्दा बढी क्षति भएका पिडित र मृतकका परिवारहरुले केही राहत पाएपनी दर्जनौं स्थानीयहरुले लगाएको धानबाली सहित खेतीयोग्य जमिन बगर बन्दा पनि कुनै राहत पाउन सकेका छैनन् ।
रामारोशन गाउँपालिका वडा नं. १ का बेदराज खनालको कैलाश खोला किनारमा रहेको आधाभन्दा बढी खेत बगर बन्यो । परिवारको खाद्यान्नका लागि मुख्य स्रोत रहेको खेत नै बगर बनेपछि अहिले परिवार पाल्न नै खनाललाई निकै चुनौती छ । “खेतमा २० देखि २२ क्विन्टल धान मात्रै फल्थ्यो । गत वर्षको बाढीले अधिकांश खेत बगर भएपछि अहिले के खाने भन्ने चिन्ता बढ्दै गएको छ ।” खनालले भन्नुभयो, “अहिलेसम्म त पुरानो अन्नपनि भण्डार थियो, त्यसैले परिवारलाई खानको समस्या भएन । अब भने चिन्ता बढ्दै गएको छ ।”
सोही ठाउँका भक्तप्रसाद खनालको ४० क्विन्टल धान फल्ने अधिकांश खेत बगर बन्यो । नदी किनारमा रहेको खेत बगर बनेपछि उनलाई पनि चिन्ता खानै को छ । आमदानीको मुख्य स्रोत नै त्यहीँ खेत भएका भक्तप्रसाद आफ्नो आम्दानीको स्रोत नै गुमेको बताउनुहुँन्छ । बालबालिकाको पढाई लेखाइदेखि घरको सबै खर्च धान्ने खेत बगर बनेपछि निराश भएका भक्तप्रसाद राज्यबाट थुप्रै आश्वासनहरु आएपनि ती आश्वासन पूरा गर्न कोही फर्केर नआएको बताउनुहुँन्छ । “सबैले आश्वासन दिएर केहि दिनमै राहत दिन्छौं भनेर गएका थिए । राहत ल्याएर कोहि फर्किएन । गाउँपालिकाले क्षतिको लगत समेत संकलन गर्यो तर त्यसको कुनै अर्थ भएन ।” खनालले भने, ” एकातिर बाढीले खेतीयोग्य जमिन लग्यो । अर्कोतिर नदीकै कारण पहिरोले मलाता गाउँ नै जोखिममा छ । घर छोडेर जानसक्ने ठाउँ पनि कतै छैन ।”
रामारोशन गाउँपालिकाले बाढीका कारण क्षति भएको क्षेत्रको तथ्यांक समेत संकलन गरेको थियो । त्यो तथ्यांक संकलन मै सिमित भएको स्थानीय सुरत विक बताउनुहुँन्छ । “गत वर्षको बाढीका कारण गजड बजारसम्म जोखिममा ।छ । किसानहरुले निकै मिहेनत गरेर बनाएका खेतहरु बगर बनेका छन् ।” सुरतले भन्नुभयो, “तिनै तहको सरकारले ठुलो तामझामका साथ अनुगमन गरेको क्षेत्रमा डेढ वर्ष बितिसक्दा पनि सरकारले कुनै प्रतिक्रिया दिनसकेको छैन ।”
बान्नीगढी जयगड गाउँपालिकाको वडा नं. ६ पाटेखेतमा २५ देखि ३० परिवार बसोबास गर्दै आएका छन् । गत वर्षको बाढीको कटानले खोला स्थानीयको घरको आगन हुँदै बगिरहेको छ । वर्षातको समयमा बढी वर्षा भएको दिन घर छोडेर भाग्नुपर्ने अवस्थाको सिर्जना भएको झनक थापाले बताउनुभएको छ । “राज्यसँग कित खोलामा तटबन्ध नभए बस्ती स्थानान्तरणका लागि माग गर्दै आएका छौ । त्यसको सुनुवाइ अझै हुन सकेको छैन । हिउँदमा कतैबाट तटबन्ध बन्छ कि भन्ने आशले बित्छ भने, वर्षातको समयमा कैलाश खोलाको भेलसँग जान्छौं कि भन्ने चिन्ताले ।” झनकले भन्नुभयो, “एकातिर खेतीयोग्य जमिन बगर बनेका छन् भने, अर्कोतिर बस्ने घर नै जोखिममा पर्दा निकै बिचलित अवस्थामा कष्टकर जिबन बिताउनुपरेको छ ।”
सोही क्षेत्रका चक्र थापाले घर कैलाश खोलाको जोखिममा परेको बन्दै आफू त्यो ठाउँबाट स्थानान्तरण भएर सुरक्षीत ठाउँमा घर निर्माण गर्न लागेको बताउनुभयो । “सरकारले सहयोग गर्ला भन्ने आश मरेपछि म आफै सुरक्षित ठाउँमा घर निर्माण गर्न लागेको हु ।” चक्रले भन्नुभयो, “मसँग आम्दानीको स्रोत भएका कारण सहजरूपमा जग्गा किनेर घर लगाउन सकेपनी अरुले त्यो गर्न सम्भव छैन । र, यस्तै अवस्थामा त्यो ठाउँमा बस्न सक्ने अवस्था पनि छैन ।” उहाँले स्थानीय सरकारमार्फत पटकपटक प्रदेश र संघीय सरकारलाई घरबास जोगाउनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएको बताउनुभएको छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले गतवर्षको बाढीका कारण विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको बताउँदै घरवारविहीन भएका परिवारको घर निर्माणको लागि ५० परिवारका लागि चालू आर्थिक वर्षमा संघीय सरकारबाट पहिलो चरणमा ५० हजारका दरले रकम उपलब्ध गराएको बताउनुभएको छ । “हामीले संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै आएका छौं । जसरी समन्वय संघ र प्रदेश सरकारले गर्नुपर्थ्यो त्यो भने हुनसकेको छैन ।” गाउँपालिकाका अध्यक्ष साउँदले भन्नुभयो, “एकैपटक सबै कुरा हुन सक्दैन । स्थानीय सरकार बस्ती बिस्तार र राहतको विषयमा निकै गम्भीर छ ।”
बान्नीगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पाटेखेत गाउँ कैलाश खोलाको उच्च जोखिममा परेको बताउँदै गाउँपालिकाको बजेटबाट कुनै पनि काम सम्भव नदेखिएको बताउनुभयो । “बस्ती निकै जोखिममा छ । बस्ती स्थानान्तरण गर्ने कि खोलामा तटबन्ध बस्ती बचाउने भन्ने कुरा मुख्य हो । तर, गाउँपालिकाको बजेटले त्यो सम्भव छैन ।” गाउँपालिकाका अध्यक्ष खड्काले भन्नुभयो, “प्रदेश र संघीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि कुनै प्रतिक्रिया दिएको छैन । बस्ती निकै जोखिममा छ । त्यहाँ तटस्थ तत्काल गर्न आवश्यक देखिन्छ ।”
बाढीका कारण जयगड – माझेठाना – रामारोशन सडक खण्डको खोला किनारको भागमा बाढीले क्षति पुर्याउँदा अहिले पनि यातायातको आवागमन सहज हुन सकेको छैन भने निर्माण कम्पनीले काम गर्नसक्ने बाताबरण समेत बनिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *