“बाढी र डुवान नियन्त्रण भजनीको पहिलो आवश्यकता”

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०२ साउन /
कैलालीको भजनी नगरपालिकाका लालबहादुर कामीको घर कान्द्रा नदीबाट पाँच सय मिटर भित्र छ । उहाँको घर सधैं कान्द्रा नदीको बाढीले बर्खाको समयमा डुवान हुन्छ । घर डुवानमा परेपछि हुलाकी राजमार्गमा त्रीपालमा दुई महिनासम्म बिताउनुपर्ने बाध्यता लालबहादुरको परिवारलाई छ । “बर्खा सकिएपछि हाम्रो दुख सकिन्छ । बर्खा लाग्यो भने हाम्रा दुखका दिनको सुरुवात हुन्छ ।” लालबहादुर भन्नुहुन्छ, “त्यो दुख कान्द्रा नदी हो । बाजे, बुवाले भोग्दै आएको दुख हामी पनि भोग्दैछौं । हाम्रा पछिका सन्ततिले पनि छुटकारा पाउने आश छैन ।”
लालबहादुर मात्रै होइन उहाँसँगै भजनी नगरपालिका वडा नं. ५ र ७ का अधिकांश स्थानीयको दुख कान्द्रा नदी बन्दै आएको छ । बर्सेनि जमीन कटान गर्दै नदी वस्तीमा केन्द्रित हुँदै आएको छ । हजारौं बिघा खेतीयोग्य जमीन कान्द्रमा विलय भैसकेको छ । कैयौं परिवार विस्थापित भैसकेका छन् । नदी नियन्त्रणका लागि पटकपटक आश्वासन पाएका स्थानीयको त्यो आश्वासन पूरा हुन सकेको छैन । “चुनावदेखि अन्य एजेण्डाको विषयमा बहस र छलफल हुँदा नदी नियन्त्रणको कुरा पहिला उठ्छ । पूरा भने कहिले हुन्छ थाहा छैन ।” स्थानीय मञ्जु चौधरी भन्नुहुन्छ, ” अब त आशा लाग्न पनि छोडिसक्यो । हिउँदमा त्यो दुख नसम्झनेहरु पिडामा आश्वासन दिँदा पनि आफुहरुलाई अपहेलना गरेको महसुस हुन्छ ।”
कान्द्रा नदी नियन्त्रणका लागि उच्च जोखिम भएको क्षेत्रमा स्थानीय, वडा कार्यालय र हुलाकी राजमार्ग आयोजनाले जैविक तटबन्धको काम थालेको छ । आयोजनाले कान्द्रा नदीको तटीय क्षेत्रमा एक किलोमीटर सडक कालोपत्रे गर्ने आयोजनाअनुरुप तत्काल नदी नियन्त्रणका लागि जैविक तटबन्ध गरिएको आयोजनाका इन्जिनियर दिपक सुनारले बताउनुभयो । “बर्खाको समयमा काम गर्न सकिने अवस्था नभएपछि सडकको भाग जोगाउनको लागि जैविक तटबन्ध गरेका छौँ । अर्को वर्षसम्म तटबन्ध सहितको सडक कालोपत्रेको काम सम्पन्न गर्छौं ।” इन्जिनियर सुनारले भन्नुभयो, “अहिलेको जैविक तटबन्धले सडकको भाग कटान हुनबाट रोक्ने छ । बर्खा सकिएपछि काम गर्न सजिलो हुने विश्वास छ ।” आयोजनाले कान्द्रामा छ लाख बराबरको जैविक तटबन्ध गरेको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले कान्द्रा र काढा नदी नियन्त्रण गर्न सके भजनीको दुख सकिने बताउनुभएको छ । उहाँले बर्सेनि कान्द्रा र काढा नदीले करोडौंको क्षति गर्दै आएको बताउँदै स्थानीय सरकारको ध्यान कान्द्रा र काढामा केन्द्रित हुँदै आएको बताउनुभएको छ । “स्थानीय सरकार नागरिकहरूको सुरक्षा र जिवीकोपार्जनका कुरामा निकै जिम्मेवार छ । आफ्नो स्रोतसाधनले भ्याएको काम नगरपालिकाले गर्दै आएको छ ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “अन्य कुरामा संघ र प्रदेश सरकारसँग पनि निरन्तर समन्वय र सम्पर्कमा छ । हामीले संघीय सरकारसँग नदी नियन्त्रणका लागि आवश्यक कामकारबाही अगाडि बढाउन आग्रह गर्दै आएका छौँ ।”
उता कैलाली क्षेत्र नं. १ प्रदेश क का सांसद घनश्याम चौधरीले चालू आर्थिक वर्षमा कान्द्रा नदी नियन्त्रणका लागि प्रदेशबाट ९ करोड बजेट विनियोजन भएको बताउनुभयो । उहाँले जनताको माझमा जाँदा बाढी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्नुहुँदै संघ र प्रदेश सरकारको समन्वयमा कान्द्र नदीमा तटबन्धको आयोजनालाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । “हामीले निर्वाचनमा पनि डुवान र बाढीको समस्या समाधान गर्ने एजेण्डामा प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काधमा छ ।” प्रदेश सांसद चौधरी भन्नुहुन्छ, “जनतालाई पाँच वर्षमा बाढी र डुवानको समस्याबाट मुक्त गर्ने उद्देश्य अनुसार काम हुनेमा विश्वास दिलाउन चाहान्छु ।”
कैलाली क्षेत्र नं. ३ का संघीय सांसद गंगाबहादुर चौधरीले कान्द्रा र काढा नदी नियन्त्रणका लागि संघीय सरकारबाट पनि बजेट विनियोजन भएको बताउनुभयो । उहाँले जनतको माझमा गरेका प्रतिबद्धताअनुसार कान्द्रा र काढा नदीलाई नियन्त्रण गरेर भजनीको वर्षौंदेखिको समस्यालाई समाधानका लागि आफु जिम्मेवार रहेको बताउनुभएको छ । “कैलाली जिल्लाकै सबभन्दा बढी बाढी र डुवानको जोखिम क्षेत्र नं. ३ मा छ । एकै वर्षमा नदी नियन्त्रण हुन नसके पनि पाँच वर्षमा भजनीका जनताले बाढी र डुवानको समस्याबाट विस्थापित हुनुपर्ने छैन ।” सांसद चौधरी भन्नुहुन्छ, “केही बजेट विनियोजन भैसकेको छ । केही बजेट सांसद विकास कोषबाट पनि त्यसैमा खर्च गर्छौं र डल्लो बजेटबाट पनि केही बजेट यसैवर्ष नदी नियन्त्रणका लागि खर्च गर्नेगरी सरकारसँग समन्वय भैरहेको छ ।”
उहाँले अब जनतको माझमा आउँदा त्यो क्षेत्रमा परिवर्तन गरेर मात्रै फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अब गाउँ पुग्दा त्यहाँको वस्तुस्थितिमा केही परिवर्तन भएको हुनेछ । त्यसका लागि संसदमा पनि मैले आवाज उठाउँदै आएको छु । तत्काल सो क्षेत्रमा बाढी र डुवानका कारण हुनसक्ने क्षति कम गर्नका लागि आवश्यक पुर्व तयारीको काममा लागेका छौँ ।” सांसद चौधरी भन्नुहुन्छ, “राज्यको संयन्त्रलाई भजनी केन्द्रित हुन निर्देशन दिने काम भएको छ । विगतका जस्तो बाढी र डुवानका कारण हुने धनजनको क्षति कम गर्न हामी लागेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *