बिज वृद्धिको १८ औं वार्षिक साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर १४ पुस /
बिज वृद्धि कृषक सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष रामफल बडायकको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कृषि क्षेत्रमा सहकारी संस्थाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । उनले किसानहरूलाई उन्नत बीउ उपलब्ध गराउनमा सहकारी कैलाली जिल्लामै नमुना भएको भन्दै अन्य किसानहरूलाई पनि सहकारीमा जोडेर अगाडि बढ्न सुझाव दिएका छन् ।
विशुद्ध बीउ उत्पादनसँग जोडिएको सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १५ लाख १९ हजार ३५ रुपैयाँ ७५ पैसा खुद नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीले ११ लाख ४१ हजार पाँच सय ५५ रुपैयाँ ३७ पैसा खुद नाफा कमाएको थियो । सहकारीका आर्थिक वर्ष २०७९/०८० को १२ करोड ७७ लाख ७० हजार ४७ रुपैयाँ ८१ पैसाको कारोबार गरेको छ । त्यसभन्दा अघिल्लो वर्ष ८ करोड ७९ लाख ५७ हजार ९ सय ४० रुपैयाँ ३४ पैसाको कारोबार गरेको थियो ।
सहकारी संस्थाको अन्तिम मालशेष एक करोड ४३ लाख १९ हजार २२ रुपियाँ ५० पैसा रहेको सहकारी संस्थाका व्यवस्थापक गोविन्द राज रावतले बताएका छन् । उनकाअनुसार सहकारीले दुई लाख ५० हजारको क्रियाकाज कोष, दुई लाखको शिक्षा कोष, एक लाख ९० हजार सात सयको विपद व्यवस्थापन कोष, ४१ हजार दुई सय २४ रुपैयाँ बचत ब्याज, पाँच हजार ९ सय ७६ ऋण ब्याज, ह्रास कट्टी १३० बाट १४ लाख ७८ हजार दुई सय ७३ रुपैयाँ र १४० बाट दुई लाख ३९ हजार ६ सय ८३ रुपैयाँ मालशेष रहेको छ ।
सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ताको रुपमा बृज बिहारी चौधरीलाई पुरस्कृत गरेको छ । त्यसैगरी बीउ उत्पादनमा कमल प्रसाद कठरिया प्रथम, कैबु कठरिया दोस्रो र भक्त बहादुर बडायक तेस्रो भएका छन् । सहकारीले उनीहरूलाई बीउ भण्डारण गर्ने ड्रम उपलब्ध गराएको थियो । त्यसैगरी बिना धितो बीउ खरिदका लागि ऋण उपलब्ध गराउने मुक्तिनाथ विकास बैंक लम्की शाखाका प्रमुख ओमकार जोशीलाई समेत सम्मान गरेको थियो ।
सहकारी संस्थाका सदस्य बिरबहादुर कठरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक रावतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *