शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ३० वैशाख /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाट बजारमा मकै पोल्नमै व्यस्त हुनुहुन्छ । दैनिक अरुको मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएकी सुकदेवी एक महिनादेखि मकै पोलेर बेच्ने काम गर्दै आउनुभएको छ ।
दैनिक मजदुरी गरेर कमाइ हुनेभन्दा राम्रो कमाइ मकै बेचेर हुने भएपछि उहाँले विगत देखिनै सिजनमा यहीँ काम गर्दै आउनुभएको छ । “दिनभर मजदुरी गर्दा छ सय कमाई हुन्छ भने मकै बेचेर दिनको एक हजारसम्म हुन्छ ।” उहाँ भन्नुहुन्छ, “काम नगरेर घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै कामबाट बढी सन्तुष्टि पाइन्छ ।”
सुकदेवी जस्तै जितरानी चौधरीले पनि आजभोलि त्यहीँ मकै बेच्ने काम गर्दै आउनुभएको छ । अरुबाट प्रती मकै १४ रुपैयाँमा खरिद गरेर २५ रुपैयाँमा उहाँले मकै बिक्री गर्नुहुन्छ । कृषि हाट बजार भएको दिन हाट बजारमा र अन्य दिन बजारको चौराहमा पोलेको मकै बेचेर उहाँले बालबालिकाको नयाँ शैक्षिकसत्रको लागि चाहिने पाठ्यपुस्तक र स्कुल ड्रेसको व्यवस्थापन गरेको बताउनुभयो ।
“मकै बेचेर दिनमा पाँच सय देखि एक हजारसम्म बचाउन सकिन्छ । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनु पर्छ भने बाँकी रकमले अन्य आवश्यकता पूरा हुन्छन् ।” उहाँले भन्नुभयो, “बालबालिकाको पढाईको केही रकम पनि मकैबाट आम्दानी गर्नुपर्छ । काम नपाएर तड्किनु भन्दा अहिले विकल्पमा मकै बेचेर पनि घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”
सुकुम्बासी शिविरका केही महिलाहरू दैनिक ज्यालादारीको काम छोडेर मकै बेच्न ब्यस्त हुने गरेका छन् । विजयनगर शिविरका पल्टु चौधरी श्रीमतीलाई त्यहीँ काममा सहयोग गर्दै आउनुभएको छ । कृषि हाट बजार नभएको दिन पल्टुको श्रीमती सम्झना चौधरी बजारमा एक्लै मकै पोलेर बिक्री गर्नुहुन्छ । हाट बजारको दिन बढी मकै खपत हुने हुँदा पल्टु ज्यालादारीको काममा नगएर श्रीमतीलाई सघाउनुहुन्छ । “अरुको काम गरेर दैनिक एक हजार कमाउनु भन्दा आफ्नै कामबाट आएको पाँच सय पनि धेरै लाग्दो रहेछ ।” उहाँ भन्नुहुन्छ, “आम्दानी राम्रो भन्दा पनि सन्तुष्टि बढी पाइने हुँदा पनि केही वर्षदेखि अहिलेको सिजनमा मकै बेच्न सुरु गरेका हौं ।”
पछिल्लो समय सिँचाइको सुविधा पुगेपछि किसानहरु पनि मकै खेतीमा आकर्षित बन्दै गएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले मकै खेती विस्तारमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाईले खाद्यान्न बाली अन्तर्गत मकैमा ६७ कृषक तथा समुहलाई मकै खेती विस्तारमा अनुदान दिएको आयोजनाकी सुचना अधिकारी आकृती ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार १२ हेक्टरमा बिज वृद्धि कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
किसानहरूको मागका आधारमा मकै खेती विस्तारको काम बर्सेनि बढ्दै गएको कार्यान्वयन इकाईका आयोजना प्रमुख भरत कडेलले जानकारी दिनुभयो । “विगतमा किसानहरू मकै खेतीमा कमै गर्नुहुथ्यो । अहिले गहुँ खेती भित्र्याए पछि मकै खेती गर्ने गर्नुभएको छ ।” उहाँ भन्नुहुन्छ, “वर्षमा किसानले तीन पटक खेती गर्न थाल्नुभएको छ ।” आम्दानी पनि राम्रो हुने भएपछि मकै खेतीमा किसानहरू थपिँदै गएको कार्यान्वयन इकाईको तथ्यांकले देखाएको कडेल बताउनुहुँन्छ ।