शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ११ असोज /
मोहना नदीका कारण भजनि नगरपालिका वडा नं. ५ पगियाप्रसार क्षेत्र उच्च जोखिममा परेको छ ।
मोहना नदीको लगातारको कटानले सो क्षेत्र बाढी र डुवानको उच्च जोखिममा परेको हो । केही दिन अगाडि मात्रै भजनी नगरपालिकाको सहयोगमा स्थानीयको जनश्रमदान मार्फत निर्माण भएको जैविक तटबन्ध भन्दा माथी पानीको सतह पुग्ने खतरा बढेसँगै सो क्षेत्रमा सयौं परिवार विस्थापित हुने चिन्ता बढेको हो । “एकदमै त्रासको स्थिति सिर्जना भएको छ । यदि जैविक तटबन्ध भत्कियो भने सयौं परिवार विस्थापित मात्रै होइन हजारौं बिघा धान खेती नष्ट पनि हुनेछ ।” वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर बुढाले भने, “नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छौँ भने, पटकपटक जोखिम भएको क्षेत्रमा निगरानी बढाएका छौँ ।”
उनका अनुसार सो क्षेत्रमा एक सय मिटर मात्रै नदीले कटान गरे टापु बन्ने छ । “७ सय भन्दा बढी परिवार पुर्ण जोखिममा छन् ।” वडा अध्यक्ष बुढाले भने, “पानीको बहाव कम भयो भने जोखिम घट्ला नत्र केही भन्न सकिने अवस्था छैन । जैविक तटबन्ध नभएको भए अहिलेसम्म पगियाप्रसारसँगको सम्बन्ध बिच्छेद भैसक्थ्यो ।” नदीको जाेखीमका कारण स्थानीय निदाउन सकेका छैनन् ।
नगरपालिकाले बाढीका कारण कुनै धनजनको क्षति नहोस् भन्नका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राखेको नगरपालिकाका विपद शाखाका विष्णु प्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सहित नगरपालिकाको संयन्त्र आवश्यक स्रोतसाधन सहित तयारी अवस्थामा रहेको छ । भजनी कैलाली जिल्लाकै सबैभन्दा बढी बाढी र डुवानको जोखिम भएको स्थानीय तह हो ।










