रानी जमरा कुलरिया कृषिको खर्च न्यून

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०४ पुस/
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको खर्च न्यून भएको छ । आयोजनाले चालू आर्थिक वर्षका लागि चालुतर्फ २६ करोड ९५ लाख र पुजिगत तर्फको ४० लाख गरि २७ करोड ३५ लाख कुल बजेट पाएको आयोजनाले मंसिर मसान्तसम्म कुल बजेटको एक करोड ५० लाख ३२ हजार रुपैयाँ अर्थात ५ दशमलव ४९ प्रतिशत रकममात्र खर्च गर्न सकेको छ ।
आयोजनाको त्रैमासिक प्रगती प्रतिवेदन हेर्दा भने असोज मसान्तसम्मका लागि विनियोजन गरेको दुई करोड एक लाख ९९ हजार कुल बजेटमा ५९ दशमलव ८७ अर्थात एक करोड २० लाख ९३ हजार रुपैयाँ खर्च भएको आयोजना अधिकृत दिलिपजंग राना बताउँनुहुन्छ ।
आयोजनाले गत आर्थिक वर्षको मंसिर मसान्तसम्म ७ दशमलव ९० प्रतिशत प्रगति भएको थियो । आर्थिक वर्ष २०७७/०७८ को कुल बजेटको दुई करोड २८ लाख १०हजार रुपैयाँ खर्च भएको थियो । कोरोनाको संक्रमणका कारण ढिलो गरि काम सुरु गरेको आयोजनाले चालू आर्थिक वर्षमा भने समयमै कार्यक्रम सुरु गरेको थियो । गत आर्थिक वर्षसम्म चौमासिक प्रतिवेदन बनाउने आयोजनाले चालू आर्थिक वर्षदेखि त्रैमासिक प्रगति प्रतिवेदन बनाउँदै आएको आयोजना अधिकृत रानाले बताउनुभयो । “तुलनात्मक रुपमा गत वर्ष र चालू आर्थिक वर्षमा भएको खर्चको फरक धेरै छैन । कार्यालय प्रमुख परिवर्तन हुँदा योजना कार्यान्वयनमा केही असर पर्ने भएका कारण त्यो देखिएको हुनसक्छ ।” आयोजना अधिकृत रानाले भन्नुभयो, “आर्थिक वर्षको पहिलो त्रैमासिकमा खासै काम हुँदैन । कार्यालयको आन्तरिक कामहरू बढी हुने भएकोले पनि होला । कामले गति भने मंसिर पछि मात्रै बढ्ने गरेको छ ।”
उसरी हेर्दा आयोजनाले पुस दोस्रो त्रैमासिक प्रगती प्रतिवेदन सार्वजनिक गर्न पनि अब एक महिना मात्रै बाकी छ । आयोजनाले पुस मसान्तसम्म ८ करोड १७ लाख ५० हजार खर्च गर्नुपर्ने छ । तर, मंसिर मसान्तसम्म आयोजनाले जम्मा एक करोड ५० लाख ३२ हजार मात्रै खर्च गरेको छ त्यो पनि पहिलो त्रैमासिक प्रगती प्रतिवेदनलाई समेत मिलाएर हो । यसलाई हेर्दा आयोजनाले आफ्नो दोस्रो त्रैमासिकमा पहिलो त्रैमासिकको जतिको पनि प्रगति गर्ने अवस्था देखिएको छैन ।
आयोजना अधिकृत राना भने त्यो कुरालाई स्वीकार गर्नुहुदैन । उहाँले अहिले थुप्रै कार्यक्रमहरु कार्यान्वयनको चरणमा भएका कारण आयोजनाको खर्च कम देखिएको बताउँदै त्यो रकम भुक्तानी सुरु भएपछि खर्च भएको देखिने बताउनुभयो । “अहिले किसानहरूलाई दिएको गहुँको बिउको अनुदानको रकम खर्च भएको छैन । यस्ता अन्य तरकारीका कार्यक्रमहरुमा पनि कृषक समुह तथा कृषकहरूसँग कार्यक्रमको सम्झौता भैसकेको भए पनि भुक्तानी नभएका कारण खर्च कम देखिएको हो ।” रानाले भन्नुभयो, “गतवर्षको भन्दा कम हुन पनि सक्छ । किनभने, कार्यालयमा नयाँ कार्यालय प्रमुख आउनुभएको र उहाँलाई कार्यक्रमको बारेमा बुझ्न् केही समय लाग्ने भएका कारणले मात्रै हो । तर पनि त्यसले खासै प्रभाव पार्ला जस्तो देखिदैन ।”
पाँच वर्षका लागि दोस्रो चरणको कार्यक्रम सुरु भएको तीन वर्ष पूरा भएपनि आयोजनाले तीन वर्षको अवधीमा कुनै पनि आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्न सकेन । दुई वर्षदेखि टीकापुरमा आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागतमा निर्माण हुने भनिएको एक हजार मेट्रीकटन क्षमताको शीत भण्डार निर्माणको काम समेत अझै अन्योल अवस्थामै रहेको छ । यदि चालू आर्थिक वर्षमा शीत भण्डार निर्माणको काम सुरु नभएको अवस्थामा आयोजनाले शीत भण्डार निर्माणको कामलाई अगाडि बढाउन नसक्ने आयोजना अधिकृत राना बताउँन्हुन्छ । शीत भण्डार निर्माणको लागि ७ करोड खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *