शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ८ असोज / रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरले बुधबार सरोकार–वालाहरुसँग अन्तरक्रिया गरेको छ ।
कोरोना भाइरसका कारण कृषिमा परेको असर र त्यसको न्यूनीकरणका उपायहरुका लागि सरोकारपालाहरुसँग अन्तरक्रियात्मक छलफल गरिएको हो । कोरोनाका कारण वैदेशिक रोजगारबाट फर्केका तथा रोजगारी गुमाई कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरुका लागि के कस्ता कार्यक्रमहरु ल्याउँदा प्रभावकारी हुन सक्छ ? भन्ने उद्देश्यका साथ भएको कार्यक्रममा उत्पादन भएको वस्तुलाई बजारीकरणमा समस्या हुँदै आएको भन्दै त्यसको समाधान खोजिनु पर्ने किसानहरुले माग गरेका छन् ।
व्यवसायी ललित थापाले रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रमले किसानहरुलाई ठूलो राहात दिएको भन्दै उत्पादनमा किसानहरु सफल भए पनि बजारीकरणमा समस्या हुँदा किसानहरु मारमा परेको बताएका छन् । उनले कृषियोग्य उर्वर भूमिमा भइरहेको लिप्टिस खेती तत्काल बन्द गरिनु पर्ने भन्दै रोजगारी गुमाई रोजगारीमा आबद्ध हुन चाहने युवाहरुलाई आयोजनाले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालबीर चौधरीले कृषिमा काम भए पनि गुजारा गर्ने काममात्र भइरहेको भन्दै त्यसलाई बृहत रुपमा लगिनु पर्ने बताएका छन् । पत्रकार मातृका तिमिल्सिनाले योजनाहरु मात्रै शास्त्रीय हुन थालेको भन्दै समस्या उत्पादन र बजारीकरण के हो ? भन्ने कुराको पहिचान गर्नुपर्ने बताएका छन् ।
केरा व्यवसायी देवीराम कोइरालाले कोरोनाका कारण केरा खेतीमा ठूलो क्षति भएको भन्दै रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रमकै कारण टीकापुर केराको हब बन्न सफल भएको बताएका छन् । कोरोनाका कारण दुबईमा रोजगारी गुमाई फर्केका अमित ढुङ्गानाले विदेशमा ठूलो दुःख कष्ट भएको भन्दै आफ्नै क्षेत्रमा केही गर्न चाहेको बताएका छन् । उनले ब्रोइलर तथा लोकल कुखुरा र तरकारी खेतीका लागि योजना बनाएको भन्दै आयोजनालाई सहयोगका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष दीर्घबहादुर ठकुल्लाले कुरा गर्न धेरै सजिलो भन्दै यसलाई कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । उनले आयोजनाले गरेको कामहरुमा सहकारीसँग रहेको बीज बृद्धि कार्यक्रम, केरा खेती कार्यक्रम लगायत दुई÷चारवटा कार्यक्रमहरु परिणममुखी भएको भन्दै त्यसलाई अझै प्रभावकारी रुपमा लैजानु पर्ने बताएका छन् । उनले आयोजनाले आफ्नो कार्यक्षेत्रभित्रका व्यवसायमा संलग्न हुन चाहने वा संलग्न भएकाहरुलाई वडा स्तरमै व्यवसायिक तालिमको व्यवस्था गर्न सके राम्रो हुने बताएका छन् ।
रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कँडेलले किसान–हरुरले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको स्वीकार गर्दै त्यसका लागि स्थानीय सरकारले पहल गनर््ुपर्ने बताएका छन् । उनले कोरोनाका कारण रोजगारी गुमाई व्यवसायिक कृषिमा लाग्न चाहने युवाहरुलाई प्राथमिकतामा राखिने भन्दै थप कार्यक्रमका लागि समन्वय भइरहेको बताएका छन् ।
कार्यक्रममा विभिन्न कृषि सहकारीका प्रतिनिधि, स्थानीय तह कृषि शाखाका प्रतिनिधि, कृषि समूह, कृषक र वैदेशिक रोजगारबाट फर्केका युवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण आयोजना अधिकृत दिलिपजङ्ग राणाले गरेका थिए ।
रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईमा चालु आर्थिक वर्षका लागि २८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।