शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०६ चैत /
टीकापुर नगरपालिकाको १४ औं नगर सभाले वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गर्यो ।
जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो वडाको रुपमा रहेको १ नं. वडालाई २०८४ सालको स्थानीय तहको निर्वाचनदेखि कार्यान्वयनमा आउने गरी नगर सभाले पारित गरेको हो । वडा विभाजनका लागि यसभन्दा पहिले थुप्रैपटक प्रयासहरु हुँदा पनि राजनीतिक दलहरूका कारण वडा विभाजन टुंगोमा पुग्न सकेको थिएन । विशेषगरी वडा नं. १ लाई विभाजन गरेर तीन वडा बनाउने वा ६ वडा भन्दा बढी बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन । यसपटक भने सहजै रुपमा सहमति जुटेको भएपनि बाहिरी रुपमा वडा विभाजनको विषयमा फरकफरक अभिव्यक्ति आउन थालेका छन् ।
नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले प्रशासनिक र आर्थिक रुपमा अहिलेको वडा विभाजनले भार थप्ने बताएका छन् । उनले स्रोतसाधनका हिसाबले तीन वडा बनाउनु उचित हुने धारणा व्यक्त गरे । “वडा विभाजन हुनुपर्ने थियो, त्यो राम्रो भयो । त्यसभित्र सबै विषयलाई समेटेर वडा विभाजन गर्नुपर्थ्यो । त्यो हुन सकेन ।” उनले भने, “कुनै वडामा अस्थायी बसोबास गरिरहेको जनसंख्यालाई पनि आधार बनाइएको छ । भोलि त्यो जनसंख्या अन्त व्यवस्थापन हुँदा वडाको आकार सानो हुनसक्ने स्थिति छ ।”
निवर्तमान नगर प्रमुख रावलको कार्यकालमा वडा विभाजनको विषयमा अध्ययन कार्यदल नै बनेको थियो । तीन सदस्यीय कार्यदलभित्र नै सहमति जुट्न नसक्दा वडा विभाजन हुन सकेन । राजनीतिक दलहरुले आफू अनुकुलको पकेट क्षेत्र बनाउन खोज्दा त्यसबेला सहमति जुट्न नसकेको निवर्तमान नगर प्रमुखको भनाई छ । “त्यसबेला संरचनागत रुपमा भनौं वा आर्थिक तथा स्रोतसाधनको हिसाबले तीन वडाभन्दा बढी बनाइनु हुँदैन भन्नेमा हामी थियौं ।” उनले भने, “सीमाको विवाद र काँग्रेस र केही अन्य दलको अड्चनले वडा विभाजन हुन सकेन । त्यसैमा कतिपयले ६ देखि ८ वडा बनाउनुपर्छ भन्ने अडान राख्दा वडा विभाजन टुंगोमा पुग्न सकेन ।”
नागरिक समाजका भीमराम चपाईले वडा विभाजन आवश्यकताको आधारमा भएक प्रतिक्रिया दिएका छन् । उनले दुई वर्ष अगाडि हुनुपर्ने भन्दै बसाइँसराइ गरेर आउने भन्दा जानेको संख्या बढी भएको बेला त्यसलाई मध्यनजर गरेर वडा विभाजन गर्न सकेको भए अझै उत्तम हुने बताए । “हिजो वडा विभाजनको कुरा आउँदा ६ /७ वडाको कुरा आउथ्यो । अहिले त्यो चार वडामा सहजै भएको छ ।” चपाईले भने, “राजनीतिक आस्थाको आधारमा हेर्दा अहिले पनि कसैलाई नराम्रो लाग्ला, समग्रमा आवश्यकताको आधारमा वडा विभाजन भएको छ । यो राम्रो पक्ष हो ।”
समाजसेवी नवराज रावलले भुगोलका आधारमा वडा विभाजन हुन नसकेको बताएका छन् । उनले भुगोल मिलाउनको लागि तीन वडा नभए ६ वडा उत्तम हुने भन्दै वडाको विभाजन राजनीतिक ढंगबाट भएको बताए । “वडाको विभाजन जनसंख्या र भुगोलको आधारमा हुनुपर्थ्यो । नभए अहिलेको बैज्ञानिक युगमा प्राविधिक रुपले मिलाएर वडाको विभाजन हुनुपर्ने हो ।” उनले भने, “यहाँ राजनीतिक हिसाबले वडाको विभाजन भयो । यसले के पुगेन के पुगेन जस्तो भैरहेको छ ।”
समाजसेवी भुवनेश्वर अधिकारीले वडा विभाजन पहिलो कार्यकालमा हुनुपर्ने भन्दै ढिलै गरेर भएपनि वडा विभाजनले जनतामा आशा जागेको बताएका छन् । उनले प्रशासनिक खर्च बढे पनि जनताले पाउने सेवामा छिटोछरितो हुन विश्वास व्यक्त गरे । “अहिलेको वडा विभाजनबाट म सन्तुष्ट छु । वडा विभाजनमा सबै कुरा मिलेको छ । जनताहरुमा पनि नकारात्मक असन्तुष्टि छैन ।” अधिकारीले भने, “स्रोतसाधनको हिसाबले पनि चारवटा वडासम्म हुनु सकारात्मक मान्न सकिन्छ ।”
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सबै विषयलाई मध्यनजर गर्दै वडा विभाजन गरिएको दाबी गरेका छ । उनले स्रोतसाधन र भौगोलिक दृष्टिकोणलाई मध्यनजर राख्दै वडा विभाजन भएको बताए । “सबै विषयवस्तुलाई हेरेर वडा विभाजन भएको छ । यो भन्दा बैज्ञानिक ढङ्ग अरु हुन सक्दैन ।” नगर प्रमुख थारुले भने, “अब केही व्याक्तीले आफुअनुकुल नभएपछि टीकाटिप्पणी गर्नु स्वभाविक हो ।” जनताको सेवा प्रवाहमा भैरहेको सास्ती न्यूनीकरणका लागि पनि वडा विभाजन आवश्यक रहेको नगर प्रमुख थारुले बताएका छन् । उनले जनताको भावनाअनुरूप काम गर्न सफल भएको दाबी पनि गरेका छन् ।