शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २९ जेठ /
स्वास्थ्य क्षेत्रका दृष्टिकोणले टीकापुर अस्पताल कैलालीको एक महत्त्वपूर्ण अस्पताल हो ।
कैलाली जिल्लाकै पनि आधा स्थानीय तहका नागरिकहरु टीकापुर अस्पतालमा सेवा लिन पुग्छन् । त्यति मात्रै नभई लुम्बिनी र कर्णाली प्रदेशबाट पनि उपचारका लागि बिरामीहरु टीकापुर पुग्ने गरेका छन् । एकपछि अर्को सुधारको इट्टा थप्ने काम हुँदै आएको टीकापुर अस्पतालको स्तर वृद्धिका लागि सरोकारवालाहरुले चासो नदिएको देखिन्छ । राज्यकै दृष्टिकोणबाट भन्दा पनि स्वास्थ्य र शिक्षा प्रमुख प्राथमिकतामा भएपनि सुदुरपश्चिम प्रदेशले टीकापुरलाई उपेक्षा गर्दै आएको भन्ने कुरा पटकपटक उठ्ने गरेको छ । जसरी केन्द्र सरकारको नजरमा सुदुरपश्चिम प्रदेश छ त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारको नजरमा टीकापुर भएको भन्ने कुरा उठ्दै आएका छन् ।
त्यो कुरा टीकापुर अस्पतालमा पनि लागू भएको छ । नेपाल सरकारको स्विकृर्ति अनुसार सुदुरपश्चिमको सवैभन्दा ठुलो अस्पताल टीकापुर भएको दाबी अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीको छ । “हाल टीकापुर अस्पतालले ५१ शैयाको मान्यता पाएको छ । सेती प्रादेशिक अस्पतालले ५० शैया र महाकाली ५० शैया अनुमतिमा सञ्चालनमा छन । हेरौं ५० शैया वाला प्रादेशिक अस्पताल नामाकरण गरेर सम्पूर्ण सहयोग दिन्छन । अनुदान दिन्छन बजेट त्यतै केन्द्रित हुन्छ ।स्तरोन्नतिका लागि नितिगत त्यता निर्णय हुन्छ ।” सोडारी भन्छन्, ” टीकापुर अस्पताल हाल ५१ शेैया स्वीकृत र व्यावस्थापन समितिवाट २८ गरि ७८ शेैया सञ्चालन भैरहेको छ। पछिल्लो चरणमा विशेषज्ञ सेवा विस्तार भए पश्चात् अस्पतालमा उपचारको लागि शेैयाको अभाव रहेको छ ।”
अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म सेवाग्राहीहरु मानिसहरु सेवा लिन आउनेगरेका छन् । अस्पतालमा आउने सेवाग्राही बिरामीहरुका लागि प्रयाप्त शैया प्राप्त नहुँदा भुइँमा बिरामी राखेर अस्पतालले सेवा दिनुपरेको छ । “अस्पतालमा दरबन्दी छैन । आवश्यक बजेट छैन । हरेक काममा संघर्ष गर्नु परेको छ ।” अध्यक्ष सोडारी बताउँछन्, “समस्याको उल्झाउनका बाबजुद पनि अस्पतालले सक्ने सेवा प्रदान गरिरहेको छ । अझै सेवा विस्तारको क्रममा छौं ।”
उनले टीकापुर अस्पतालले टीकापुरका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो समेत गरेका छन् । “यसक्षेत्रका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकाय टीकापुर अस्पतालको नाम समेत लिन चाहँदैनन् ।” सोडारीले भने, “हामी विकासका साझा काममा त एउटा ठाउँमा आउन सकेका छैनौं । अनि टीकापुरको सुन्दर भविष्यको परिकल्पना कसरी गर्न सकेका हौंला ? अन्य ठाउँमा कुनै राम्रो कामका लागि सबैको एक्यवद्धता हुँदा हाम्रोमा भएको कुरालाई पनि समाप्त पार्ने रणनीति अपनाउन थालिन्छ ।”
उता राजनीतिक दलहरूले भने टीकापुर अस्पताल प्रती निकै जिम्मेवार रहेको बताएका छन् । नेपाली कांग्रेसका टीकापुर नगर सभापति नरेश कुमार खत्रीले अस्पतालको स्तर वृद्धिका लागि भरखरै प्रदेशका मुख्यमन्त्रीसँग छलफल भएको बताउँदै त्यसका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह गरिएको बताएका छन् । “हामीले भर्खरै अस्पतालको स्तर वृद्धिका लागि प्रदेश मार्फत प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेका छौँ । उहाँको राजनीतिक पृष्ठभुमि टीकापुरबाटै भएकोले हाम्रो माग पूरा हुन्छ भन्नेमा आशा गर्न सकिन्छ ।” खत्रीले भने, “अर्कोतिर पहिला जिल्ला तहबाट कामकाज हुनेबेला जुन टीकापुरलाई हेर्ने दृष्टिकोण थियो त्यो अहिले अलि फेरिएको छ । टीकापुरका सम्भावनालाई प्रदेशले सम्बोधन गरेको हाम्रो बुझाई छ ।”
नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्रीले अस्पतालले भनेजस्तो सेवा अझै प्रवाह गर्न नसकेको बताएका छन् । उनले अस्पतालमा थुप्रै समस्याहरु यथावत नै रहेको बताउँदै त्यसलाई समाधान गरि अगाडि बढ्न सुझाव दिएका छन् । “अहिले पनि सेवाग्राहीले घण्टौ लाइनमा लाग्नुपर्ने स्थितिको अन्त्य हुन सकेको छैन । चिकित्सकका समस्याहरु पनि आएकै हुन्छन् ।” अध्यक्ष खत्रीले भने, “अन्य सहकार्यका कुराहरूमा हामी सधै तयार छौं । अब स्थानीय देखि प्रदेश हुँदै संघीय सरकारको नेतृत्व बाहिर रहेको बेला यो गर्छौं, त्यो गर्छौं भन्नू व्यर्थ होला ।”