शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १२ फागुन/
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन इकाईले टीकापुरमा शीत भण्डार निर्माण हुने भएपछि किसान उत्साहित भएका छन् । कार्यान्वयन इकाई र उपभोक्ताको लागत सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि कृषकहरू उत्साहित भएका हुन ।
आफुले उत्पादन गरेको वस्तु टाढाको शीत भण्डार सम्म पुर्याउनुपर्ने बाध्यताको अन्त्य हुनेमा रामबहादुर चौधरी विश्वस्त हुनुहुन्छ । “बीउका लागि उत्पादन भएको वस्तु घरमा राखेर सम्भव हुँदैन । त्यसलाई शीत भण्डारमा लिएर राख्दासम्म निकै महंगो हुने गरेको छ ।” उहाँले भन्नुभयो, “टीकापुरमै शीत भण्डार निर्माण भएपछि मजस्ता सयौं किसानले त्यसबाट फाइदा लिनेछन् ।” उहाँले उत्पादन भएको तरकारीले राम्रो बजार पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
टीकापुरकै लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएको वस्तुलाई राम्रो मुल्यमा बजारीकरण गर्न शीत भण्डारले मद्दत गर्ने बताउनुभयो । “सिजनमा ३०/३५ क्विन्टल आलु उत्पादन हुन्छ । त्यसैअनुसार प्याज उत्पादन हुने गरेको छ ।” उहाँ भन्नुहुन्छ, “त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन मुस्किल भएको बेला शीत भण्डारमा स्टोर गरेर अफसिजनमा बिक्री गर्न पाउने हो भने कृषिमा राम्रो सम्भावना छ । त्यो सम्भावनालाई निर्माण हुन लागेको शीत भण्डारले पूरा गर्ने विश्वास गरेका छौँ ।”
एक हजार मेट्रीकटन क्षमताको शीत भण्डारमा लागतको २५ प्रतिशत लगानी किसानको रहेको छ । लागतको ७५ प्रतिशत कार्यान्वयन इकाईको रहेको छ । त्यसमा एक हजार देखि १० हजारसम्मको शेयर लगानी किसानको छ । टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका किसान त्यसबाट लाभ लिन सक्नेछन् । ७ करोड ६ लाख ६९ हजार ६ सय ९० रुपैयाँको लागतमा निर्माण हुन थालेको शीत भण्डार रानी जमरा कुलरीया मुल कुलो समितिको मातहत रहने गरी निर्माण भैरहेको छ । जसमा करिब ७४ लाख रुपैयाँ किसानको छ भने ६७ लाख रुपैयाँ टीकापुर नगरपालिकाले खर्च गर्ने भएको छ । बाँकी रकम आयोजनाले खर्च गरेको मुल कुलो समितिका अध्यक्ष कुमार राज शाही बताउनुहुँन्छ
“यो आयोजनामा आयोजनाको भित्रभित्रका अधिकांश किसानहरूको लगानी रहेको छ । किसानहरूको लागत सहभागितामा शीत भण्डार निर्माण हुँदा त्यसको फाइदा पनि किसानहरूलाई नै हुनेछ ।” अध्यक्ष शाहीले भन्नुभयो, “अधिकांश किसानको लगानी भएको आयोजना भएको हुँदा त्यसको संरक्षण र सम्बर्द्धन हुनेमा पनि हामी विश्वस्त छौँ ।” उहाँका अनुसार शीत भण्डारमा केही कृषि सहकारीहरुले पनि शेयर लगानी गरेका छन् ।
किसानहरूबाट समयमा लागत संकलन हुन नसक्दा तीन वर्ष कार्यान्वयन इकाईले विनियोजन गर्दै आएको ६ करोड बजेतट फ्रीज जाने गरेको थियो । अन्तिममा भएपनि कार्यक्रम प्रक्रियामा जानू आयोजनाका लागि सुखद पक्ष भएको कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले बताउनुभयो । “शीत भण्डारको ठेक्का सम्झौता भएर जग फाउन्डेसनको काम भैसकेको छ । त्यसको विश्व बैंकका प्रतिनिधिहरुले अनुगमन समेत गरिसक्नु भएको छ ।” कार्यान्वयन इकाई प्रमुख चौधरीले भन्नुभयो, “त्यो गरेको अनुगमनको अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।”
उहाँका अनुसार आउने डिसेम्बर १५ भित्र शीत भण्डारको काम सम्पन्न गरिसक्नुपर्ने छ । निर्माणको काम एएम किनारा जेभीले पाएको छ । शीत भण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानहरूलाई ठूलो राहत हुने इकाई प्रमुख चौधरीको भनाइ छ । “राज्यले कृषि क्षेत्रकै लागि भनेर अर्बौंको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा त्यसको बजारीकरणमा सहजीकरण शीत भण्डारले गर्ने छ ।” चौधरीले भन्नुभयो, “किसानले मौसममा उत्पादन गरेको वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्ने छ ।”
किसानहरूबाट लागत रकम संकलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि शीत भण्डार निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । कृषि र पर्यटन क्षेत्रलाई प्रमुख स्रोतको रुपमा हेरेको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शीत भण्डार निर्माण भएपछि किसानहरूलाई सहज हुने बताउनुभयो । “हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ ।” उहाँ भन्नुहुन्छ, “त्यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौं लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला किसानहरूलाई उत्साहित बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याइरहेको छ ।”
उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन इकाई र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना समेत उत्पादन गरेर किसानलाई वितरण गरिने नगर प्रमुख थारुले बताउनुभयो । “टीकापुर क्षेत्रको कुरा गर्दा किसानहरूले उत्पादनको हिसाबमा सुखद परिणाम दिइराख्नुभएको छ । समस्या अहिले पनि बजारीकरणको हो ।” उहाँ भन्नुहुन्छ, “शीत भण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जाने छ । मौसममा उत्पादन भएको वस्तु बेमौसममा बिक्री गर्न सक्यो भने किसानले उत्पादन भएको वस्तुको राम्रो मूल्य पाउनेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *