संसद बिगठनको बिरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

शेयेर गर्नुहोस


झलनाथ खनाल,
टीकापुर ०५ पौष /
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सरकारको चौतर्फी बिरोध हुन थालेको छ ।
प्रधानमन्त्री ओलीबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता तथा कार्यकर्ताहरु संसद पुनःस्थापना र केपी शर्मा ओली र राष्ट्रपतिको राजीनामा माग गर्दै बिरोध प्रदर्शनमा उत्रिएका छन् । नेकपा टीकापुरले गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य मदनकुमारी शाह ‘गरिमा’ ले तीन करोड नेपाली जनताको त्याग, तपस्याले गठन भएको संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्ने बताएकी छन् । उनले सुसी नेपाली सम्बद्ध नेपालको नारा बोकेका प्रधानमन्त्री ओलीको सम्बृद्ध नेपालको सपना संसद विघटन गरेर पूरा भएको बताईन् । उनले सडक र कानूनी उपचारबाट भए पनि नेपाली जनताले संसद पुनःस्थापना गरेरै छोड्ने दाबी गरेकी छन् । ‘हिजो नेपाली जनताले राणा शासनलाई झुकाए, पञ्चायती व्यवस्थालाई झुकाए र शाहतन्त्र पनि टिक्न सकेन ।’ शाहले भनिन्, ‘केपीतन्त्र जनताको लागि ठूलो कुरा होइन । केपीतन्त्रलाई पनि नेपाली जनताले घुँडा टेकाउने छन् ।’
कार्यक्रममा नेकपाका कैलाली जिल्ला सदस्य नन्दसिंह बि.क. ‘हेमन्त’ ले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दाको त्याग, तपस्याप्रति प्रधानमन्त्री र राष्ट्रपति जिम्मेवार छैनन् भन्ने कुरा प्रमाणित गरेको बताएका छन् । ‘करोडौंको मतदानबाट दुईतिहाइको सरकारलाई विघटन गर्ने प्रस्तावको घोर भत्र्सना गर्दछौं ।’ हेमन्तले भने, ‘यही संसद गठनका लागि हजारौंको बलिदान र लाखौंको त्याग, तपस्या र कुर्बानी रहेको छ ।’
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय सदस्य केशरी रेग्मीले केपी शर्मा ओलीले सिङ्गो नेपाली जनताको अपमान गरेको बताउँदै त्यसको मूल्य ओलीले चुकाउनु पर्ने बताएकी छन् । उनले आफूमात्र सर्वेसर्वा ठान्ने विधि र पद्धतिलाई लात हान्ने ओलीले देशलाई नै धोका दिएको भन्दै जनताको जनमतको समेत अपमान भएको बताएकी छन् ।
‘नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुसरह हो भन्ने केपी ओली कसरी गणतन्त्रको पक्षधर हुनसक्छन् ?’ रेग्मीले भनिन्, ‘गुण्डा, नाइके र भ्रष्टाचारीको संरक्षण गर्ने ओलीले जनताको संरक्षण गर्छन् भन्नु हाँस्यास्पद मात्र हो ।’
त्यस्तै, अखिल नेपाल–भारत एकता मञ्चका केन्द्रीय सचिव सुरेन्द्र देवकरले पार्टीभित्र अन्तरबिरोध रहँदा पार्टीभित्रको बदला लिने भन्दै गरेको निर्णयले नेपाली जनतासँग बदला लिन केपी ओली पुगेको बताएका छन् । उनले गणतन्त्र विरोधको हातबाट गणतन्त्रको रक्षा नहुने भन्दै नैतिकताको आधारमा पनि प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिएर गणतन्त्र पक्षधरलाई नेतृत्व सुम्पिनु पर्ने बताएका छन् ।
नेकपाका टीकापुर नगर सदस्य रंग अधिकारीले लोकतान्त्रिक गणतन्त्रका युगपुरुष भनेर आफूलाई चिनाउँदै आएका प्रधानमन्त्री ओलीले दुईतिहाइ सरकारको लामो रजाइँ गरिसकेपछि आफ्नो उन्मादलाई रोक्न नसकेर संंसदको चाभी राष्ट्रपतिलाई बुझाएको बताएका छन् । उनले युगपुरुष ओलीकै कारण नेपाली पुनः सडकमा आउनु पर्ने अवस्था आएको बताउँदै नेपाली जनताका सपनाहरु चकनाचुर भएको बताएका छन् । उक्त कोण सभाको सञ्चालन नगर सदस्य देवेन्द्र शाहले गरेका थिए । संसद विघटनको बिरोधमा टीकापुरको खडक चोकमा प्रधानमन्त्री ओलीको पुत्लासमेत जलाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि बिरोध प्रदर्शन गरिएको छ । नेकपानिकट युवा संघले ओलीको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी हुन् । मन्त्री परिषदको सिफारिसमा आइतबार राष्ट्रपतिले संसद विघटन गर्दै ताजा जनादेशका लागि २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तय गरेकी हुन् ।
संसद विघटनप्रति आफ्नै धारणाः
सामाजिक सञ्जालमा हामीले गरेको प्रश्नमा गणेश जैशीले प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपालाई दिएको मतको वैद्यता सकिएको बताएका छन् । उनले नेकपाको सरकारले विकास र सम्बृद्धिका सपनाहरुको अनैतिक रुपमा घाँटी निमोठेको बताउँदै नेपालको शासकीय प्रणालीमा रहेको त्रुटिलाई सच्याउने कुरालाई पुष्टि गरेको बताएका छन् ।
जैशीले संसद विघटनले देशमा एक नयाँ राजनीतिक घटनाक्रम निम्त्याउने संकेत देखिएको बताए ।
त्यस्तै, सामाजिक अगुवा धिरेन्द्रचन्द सोडारीले नेकपा र विगतको नेपाली काँग्रेसले पाएको चुनावको बहुमतको अनादर गरी संसद विघटन गरेका उदाहरणले नेपालमा लागू गरेको राजनीतिक प्रणालीमै समस्या छ भन्ने कुराको प्रमाणित गरेको बताएका छन् । उनले बहुनेतृत्वमा आधारित संसदीय प्रणाली नेपालको लागि असान्दर्भिक, अनुपयुक्त र अहितकारी रहेको हुनाले एउटा पार्टीको सट्टा अर्को पार्टी र एकजना प्रधानमन्त्रीको सट्टा अर्को प्रधानमन्त्री परिवर्तन गरेर समस्या समाधान नहुने बताएका छन् । सोडारीले नेपालका लागि सान्दर्भिक, उयुक्त, हितकारी राजनीतिक प्रणालीले विशिष्ट व्यक्तित्व, सामूहिक कर्तव्य एवम् संस्थाको स्वामित्वको पद्धति र सभा समिति एवम् परिषदको संरचना अवलम्बन गर्नुपर्ने बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *