सुपमा गठबन्धनको फाइदा नेकपा एस र काँग्रेसलाई, माओवादी बन्यो केन्द्र प्रतिनिधि बिहिन

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १० मंसिर /
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि तर्फ सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसलाई फाइदा भएपनि नेकपा माओवादी केन्द्र भने प्रत्यक्ष तर्फ प्रतिनिधि बिहिन बनेको छ ।
सुदुरपश्चिमका १६ वटा क्षेत्र मध्ये चार क्षेत्रमा उम्मेदवारी पाएको माओवादी केन्द्रले एक क्षेत्रमा पनि जित निकाल्न सकेन भने तीन क्षेत्रमा उम्मेदवारी पाएको नेकपा एकीकृत समाजवादी पार्टीले तिनै क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेसले यसपटक सुदुरपश्चिम प्रदेशबाट सबैभन्दा बढी सात क्षेत्रमा जित हासिल गरेको छ । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमाले यसपटक दुई सिटमा खुम्चिएको छ । २०७४ सालको निर्वाचनमा एमालेले ११ सिट जितेको थियो ।
काँग्रेसलाई यसपटक सत्ता गठबन्धनको भागमा परेका मध्ये एक क्षेत्रमा मात्रै पराजय भोग्नुपर्यो । भने एमालेले दुई क्षेत्रमा मात्रै जित निकाल्न सक्यो । काँग्रेसले सुदुरपश्चिममा ९ क्षेत्रबाट उम्मेदवारी दिएको थियो । त्यसमध्ये बाजुराको नतिजा भने आउन सकेको छैन । बाजुरामा एमाले र सत्ता गठबन्धनबाट काँग्रेसले उम्मेदवारी दिएको छ । कैलाली क्षेत्र नं. १ मा भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग काँग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरी पराजित भए । काँग्रेसको भागमा परेका कैलालीका तीन क्षेत्र मध्ये दुईमा विजय हासिल गर्यो । कञ्चनपुरमा दुबैमा विजयी हासिल गरेको काँग्रेसका लागि गठबन्धन सफल भएको स्रोतको दाबी छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीको सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाको निर्वाचनमा शतप्रतिशत नतिजा आएको छ । अछामको क्षेत्र नं. १,डोटी र बझाङमा उम्मेदवारी दिएको समाजवादीका लागि पनि गठबन्धन फलदायी बन्यो । गठबन्धन गरेर पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र सफल हुन सकेन । कैलाली क्षेत्र नं. २ र ३ बाट उम्मेदवारी दिएको माओवादी नागरिक उन्मुक्ति पार्टीसँग पराजित हुन पुग्यो । क्षेत्र नं. २ मा माओवादी तेस्रो भयो । उता कञ्चनपुर क्षेत्र नं. १ मा पनि माओवादी केन्द्रकी उम्मेदवार बिना मगर नेकपा एमाले तारा लामा तामाङसँग पराजित भइन भने बैतडीमा पनि नेकपा एमालेसँग पराजय भोगेको माओवादीलाई ठूलो झड्का लागेको छ ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको माओवादीले सुदुरपश्चिम प्रदेशमा चार निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा तीन क्षेत्रमा जित निकालेको थियो । डडेल्धुरामा मात्रै नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्ट पराजित भएका थिए भने कैलाली क्षेत्र नं. ३,४ र कञ्चनपुर १ म माओवादीले जित निकालेको थियो ।
२०७४ सालको निर्वाचनदेखि माओवादी केन्द्रले एक्लै चुनावमा जान नसक्नु, सत्ताको वरिपरि घुम्नु, सांगीतिक संरचनामा ध्यान नदिएकै कारण माओवादी सुदुरपश्चिममा मात्रै नभई देशभर कम्जोर बन्दै गएको माओवादीका एक नेताले बताएका छन् । “चुनावमा एक्लै जान नसक्नुले पनि माओवादीलाई अहिलेको निर्वाचनले कम्जोर बनायो । त्यतिमात्र होइन, समानुपातिकमा पनि एक सय २५ निर्वाचन क्षेत्रमा उम्मेदवार नै नभएका कारण अहिले मत कम आएको छ ।” ती नेताले भने, “पार्टीमा मौलाएको सत्ता, परिवार मोह त्यागेर पार्टीलाई सुदृढीकरण गरी अगाडि बढ्नुको अब अर्को विकल्प छैन ।”
प्रदेश सभामा पनि नेपाली काँग्रेसलाई सबैभन्दा बढी फाइदा भएको छ । प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा काँग्रेसले जित निकाल्दा नेकमा माओवादी केन्द्रले ८ क्षेत्रमा जितेको छ भने नेकपा एकीकृत समाजवादीले दुई क्षेत्र जितेको छ । २०७४ को निर्वाचनमा प्रदेशमा पनि पहिलो बनेको नेकपा एमाले यसपटक तीन सिटमा खुम्चिएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा ५ सिटमा जित निकल्दा एक सिट स्वतन्त्रले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *