शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २४ भदौ /
रानी जमरा कुलरीया सिचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा भएको कृषकहरुलाई सस्तो र सुलभ कर्जामा पहुँचका लागि सरोकारवालाहरुसँग एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा किसानहरुले उत्पादन भएको बस्तुलाई धितो राखेर पनि कर्जा पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । किसान शिव थापाले किसानले उत्पादन गरि भण्डार भएको वस्तुलाई अथवा बिमा गरेका पशुपंक्षिलाई पनि धितो राखेर कर्जा पाउने व्यवस्था भए थुप्रै किसानलाई राहत मिल्ने बताएका छन् । “व्यावसायीहरुसँग भएको वस्तुलाई बैंकले धितो राखेर कर्जा दिन सक्नु पर्छ । घर जग्गा धितो राखेर मात्रै कर्जा पाइनेहो भने व्यावसायी कहिल्यै माथी उठ्न सक्दैन ।” थापले भने, “भएको बस्तुलाई धितो राख्नु पर्ने हो । सरकारले पनि वस्तुलाई धितो राखेर कर्जा पर्वाहमा सहजीकरण गर्न आवश्यक देखिएको छ ।
बैंकहरुले किसान तथा उद्धमीहरुलाई सुलभ कर्जाको विषयमा बोल्दैँ सन्राइज बैंकका टीकापुर शाखा प्रबन्धक दिपकराज चटौटले किसानलाई अहिले ३ दशमलव ३० प्रतिशतमा कृषि कर्जा लिने व्यवस्था रहेको बताएका छन् । उनले अन्य ब्याजदर बैंकको ८ दशमलव ७० प्रतिशत कायम रहेको बताउँदै नेपाल सरकारले ५ प्रतिशत कृषिमा र महिला उद्धमीका लागि ६ प्रतिशत सहुलियत दिएको बताएका छन् । उनले सरकारले दिएको सहुलियत कर्जाको निश्चित ब्याजदर घटाएर बैंकले आफ्नो कायम भएको ब्याजदर निर्धारण गर्ने गरेको बताएका छन् । ” ब्याक्तिगत रुपमा हामिले १५ लाखसम्मको कर्जा उपलब्ध गराउँदै आएका छौ । तर एक करोड भन्दाबढी कर्जा लिने व्यावसायीले प्रालिमा दर्ता भएको प्रमाणपत्र पेस गर्नुपर्छ ।” चटौतले भने, ” बैंकले विना धितो कर्जा उपलब्ध गराउन सक्दैन । धितो अनिवार्य हुन्छ । बरु सानो कर्जा दुई तीन दिनमा कर्जा उपलब्ध गराउन सक्छ ।”
कृषि विकास बैंक टीकापुर शाखाका प्रमुख पंकज चापागाईंले कृषि विकास बैंकमा दुई सरकारको फरकफरक सुलभ कर्जाको व्यवस्था रहेको बताएका छन् । “संघीय सरकार र प्रदेश सरकारले आ-आफ्नो कृषकहरु र उद्धमी महिलाको लागि कर्जामा सहुलियत दिएको छ ।” चापागाईंले भने, “संघीय सरकारको सुलभ कर्जामा ३ दशमलव ५ प्रतिशत ब्याज पर्न आउँछ भने प्रदेश सरकारको सुलभ कर्जामा एक प्रतिशत मात्रै ब्याज पर्छ । त्यो पाँच वर्षमा चुक्ता भने गरिसक्नुपर्ने हुन्छ ।”
कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कडेलले व्यवसायीक किसानहरूलाई बैंकहरुमा कर्जाको लागि सहज होस र कृषि कर्जाको व्यवस्थाको बारेमा सहज होस भन्दै कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनले किसानहरूलाई र महिला उद्धमीहरुलाई सरकारले सुलभ कर्जाको व्यवस्था गरेको भएपनि त्यसबारे अझै कैयौं किसानहरु अन्योलमा रहेको भन्दै त्यसबारे बैंकिङ व्यवस्थाको जानकारीका लागि बैंक र किसानहरुसँग प्रत्यक्ष समन्वय गराउने उद्देश्यले कार्यक्रमले भुमिका खेल्ने बताएका छन् ।
आयोजनाको तथ्यांकअनुसार कमान्ड क्षेत्र भित्र बसोबास गर्ने कुल जनसंख्याको ८० प्रतिशत नागरिकहरु कृषि पेसामा लागेको देखाउँछ । नेपालमै पनि ६५ प्रतिशत रोजगारी कृषि क्षेत्रले पुर्ती गरेको देखिन्छ, भने २७ प्रतिशत जिडिपीमा कृषि क्षेत्रको योगदान रहेको छ । कार्यान्वयन इकाईका प्रमुख कडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु स्वास्थ्य प्राबिधिक पुष्पराज भारतीले गरेका थिए भने कार्यक्रमको स्वागत बाली विकास अधिकृत जयबहादुर महतराले गरेका थिए ।