हावाहुरीले केरा खेती नष्ट हुँदा किसान चिन्तित

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ३० जेठ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ का शंकर विश्वकर्माले आठ बिगाहा क्षेत्रफलमा केरा खेती गर्नु भएको छ । चारवर्ष देखि केरा व्यवसाय गर्दै आउनु भएका शंकरको अधिकांश केरा शनिबार आएको हावाहुरी नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शंकर निकै चिन्तामा देखिनुभएको छ । जग्गा भाडामा लिएर केरा खेती गर्दै आउनुभएका शंकर केरा बारीमा समेत जान सक्नुभएको छैन । बैंकबाट ॠण निकालेर व्यवसाय गर्नुभएका शंकरले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताउनुभयो ।
“एक हजार देखि १२ सय भन्दा बढी केराका बोट कामै नलाग्ने गरि ढलेका छन् । त्यसमा पनि अधिकांश केरा घारी दिएका छन् ।” शंकरले भन्नुभयो, “बारीमा गयो भने आखामा आशु आउछन् । यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।” उहाँले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताउनुभएको छ ।
टीकापुर नगरपालिकाकै दिनेश सुनारले यसवर्षबाटै केरा खेती सुरु गर्नुभएको छ । तीन बिगाहा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बाली समेत भित्र्याउन सक्नुभएको छैन । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निक पीडा बोध भएको छ । “एक महिनामा बजारका लागि तयार हुने केरा सबै हावाहुरीले सखाप पार्यो । पहिलो उत्पादनबाट जग्गाको भाडा र बैंकको केही ॠण कम गर्ने योजना थियो । सबै योजना चौपट्ट बनायो ।” दिनेशले भन्नुभयो, “कसरी जग्गाको भाडा तिर्ने अनि बैंकको ॠण ?”
दिनेशले केराको बिमा गर्नुभएको छ । बिमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बिमाले उपलब्ध गराउने क्षतिको रकम भन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु बेकार भएको बताउनुभयो । उहाँले किसानहरूले बिमा बैंकको ॠणको लागि मात्रै गर्ने गरेको बताउनुभयो ।
टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केरा खेती गर्दै आउनुभएको छ । उहाँले अहिले पनि ५५ बिगाहा क्षेत्रफलमा केरा खेती गरिराख्नुभएको छ । टीकापुरमा व्यवसायीक केरा खेती सिकाउने ब्याक्ती मध्येको एक विनोदको दुई हजार पाँच सय देखि तीन हजार बोट हावाहुरीका कारण नष्ट भएका छन् । “मेरो केरा सानै भएका कारणले धेरै क्षति भएको छैन । जुन घारी तयार भएका थिए ती सबै डलेका छन् ।” विनोदले भन्नुभयो, “अरु किसानको हेर्दा यसलाई मैले सामान्य लिएको छु । अकतिपय किसानहरूको ६० देखि ८० प्रतिशत केरा खेतीमा क्षति पुगेको छ ।”
केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केरा नष्ट गरेको भन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ । १२ बिगा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्त्व दिँदै आउनुभएको छ । उहाँले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आउनु भएको हो । तर, शनिवारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताउनुभयो ।
“मैले दुई लाख भन्दा बढी बेर्ना उत्पादन गरेको थिए । अहिले पनि मसँग डेढ लाख बेर्ना छन् । हावाहुरीले टनेल उडाएपछी बेर्ना घामबाट जोगाउन निकै मुस्किल भएको छ ।” टेकेन्द्रले भन्नुभयो, “आजसम्म मैले टनेल बनाउन सकेन भने मैले एउटा केराको बेर्ना पनि जोगाउन सक्ने छैन । त्यसो भयो भने मलाई लाखौंको क्षति मात्रै होइन केरा व्यवसायमा समेत निकै ठूलो असर पर्ने छ ।” उहाँले १२ बिगाहा क्षेत्रमा लगाएको केरा खेतीमा ६० देखि ७० प्रतिशत क्षति भएको बताउनुभएको छ ।
टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण एक सय बिगाहा क्षेत्रमा लगाएको केरा पुर्ण रुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सय भन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्द राज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भैरहेको बताउनुभएको छ । उहाँले अनुगमन पछि मात्रै कति क्षति भएको छ भन्ने कुराको एकिन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाउने तयारी भएको बताउनुभयो । “किसानको भनाइअनुसार करोडौंको क्षति भएको भन्ने छ । हामी अनुगमन गर्दै छौं । त्यसपछि थाहा हुन्छ कति क्षति भएको रहेछ भन्ने कुरा ।” प्रमुख जोशीले भन्नुभयो, “त्यसपछि राहतको लागि मन्त्रालयलाई पत्राचार गर्ने र केरको बिमा गरेको किसानलाई बिमा कम्पनीसँग समन्वय गरेर क्षतिपूर्ति दिलाउने काममा समन्वय गर्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *