पद छोडेर चुनाव लडेका दुबै जना पराजित

शेयेर गर्नुहोस


टीकापुर २६ फागुन/
स्थानीय तहमा कार्यकाल बाँकी रहँदै राजिनामा दिएर चुनाव लडेका कैलालीका दुबै जनाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भोग्नुपरेको छ ।
२०७९ को स्थानीय तहमा ९ हजार ६ सय ४२ मत ल्याएर टीकापुर नगरपालिकाको नगर प्रमुख बनेका रामलाल डगौरा थारु र भजनी नगरपालिका वडा नं. ३ को अध्यक्षमा एक हजार एक सय पाँच मत ल्याएर निर्वाचित भएका विक्रम चौधरीको संसद पुग्ने सपनामा ब्रेक लागेको हो । थारु कैलाली क्षेत्र नं. १ बाट पराजित हुँदा चौधरी क्षेत्र नं. ३ बाट पराजित भएका छन् । कैलाली जिल्लामा यी दुई जना जनप्रतिनिधिले स्थानीय तहको कार्यकाल पूरा नहुँदै पदबाट राजिनामा दिएर प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका थिए । उसो त २०७४ को स्थानीय तहको निर्वाचनमा पनि दुबैले चुनाव जितेका थिए । थारु टीकापुर नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित हुँदा चौधरी त्यहीँ वडा नं.३ को अध्यक्ष निर्वाचित भएका थिए ।
२०७९ को स्थानीय तहको निर्वाचनमा दुबै जना तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । यसपटकको प्रतिनिधि सभा सदस्यमा भने थारु नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्दा चौधरी नागरिक उन्मुक्ति पार्टी नेपालबाट चुनाव लडेका थिए । थारुले प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा ल्याएको मतलाई समेत जोगाउन सकेनन् । उनले प्रतिनिधि सभाको निर्वाचनमा ८ हजार तीन सय ९२ मत प्राप्त गरे । जुन स्थानीय तहमा उनले ल्याएको मत भन्दा एक हजार दुई सय ५० मत कम हो । त्यसैगरी नाउपाका चौधरीले ६ हजार ७ सय ४७ मल ल्याएर कैलाली क्षेत्र नं. ३ मा चौथो बने ।
निर्वाचनमा पराजित भएका थारुले आफुले पहिले नै उद्घोष गरेअनुसार निर्वाचनमा गएको प्रतिक्रिया दिए । “वडा अध्यक्ष हुँदा नगरपालिकाको नगर प्रमुख बन्ने सपना देखेको मैले २०८४ मा प्रतिनिधि सभाको निर्वाचन लड्ने उद्घोष गरेको थिए ।” उनले भने, “परिस्थितिले २०८४ को निर्वाचन २०८२ मा भएपछि पहिले नै कार्यकारी पद छोड्नुपर्यो ।” उनले पदको लोभ आफुमा नभएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको माझमै रहने बताका छन् ।
सार्वजनिक भएको मत परिणामलाई शंका व्यक्त गर्दै थारुले नतिजा एकदमै अप्रत्याशिक भएको उल्लेख गरे । “यो निर्वाचन जेनजीको सरकारले गराएको हो । मत परिणामले कतै आन्तरिक चलखेल भएको त छैन भन्ने शंका मलाई मात्रै होइन कैयौंले बहसको विषय नै बनाइ रहेका छन् ।” उनले भने, “यदि त्यस्तो कुनै चलखेल नभए विकट पहाडी जिल्लामा रास्वपा किन कम्जोर भयो ? तराई तथा शहरमा एकलौटी हुँदा पहाडमा किन हुन सकेन ? शंकाको विषय चाहिँ छ ।” स्थानीय तहमा निर्वाचित हुँदा ल्याएको मत भन्दा कम मत आउनुको पहिलो कारण दल फरक पर्नु पनि हुनसक्ने उनको भनाइ छ ।
थारुले आगामी दिनमा निर्वाचित सांसदसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्दै विगतमा एउटै पार्टीमा सँगै काम गरेको कारणले उहाँसँग बिचार र भावना मिल्ने बताए ।
उता कैलाली क्षेत्र नं. ३ बाट पराजय भोगेका नागरिक उन्मुक्ति पार्टी नेपालका नेता विक्रम चौधरीले परिवर्तन लहर अनि बालेनको क्रेजले आफुहरु पराजित भएको स्वीकार गरेका छन् । उनले पुराना दलहरू प्रतिको आक्रोश मत परिणामले देखाएको उल्लेख गर्दै जनताको फैसालालाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । “यो पुराना दल प्रतिको आक्रोश अनि बालेन शाह प्रतिको क्रेजको परिणाम हो ।” उनले भने, “अब दुई तिहाईको सरकार बन्ने छ । स्थिर सरकारले यो देशमा परिवर्तन गर्ला भन्ने अपेक्षा हामीले गरेका छौँ ।”
पार्टीले उठाएको पहिचानको मुद्दा एउटा निर्वाचनमा पराजित हुँदैमा नसकिने उल्लेख गर्दै चौधरीले जनताले एकपटक पक्कै त्यसको महसुस गर्ने विश्वास व्यक्त गरे । “हाम्रो मुद्दा पहिचानको हो । यसमा हामी कटिबद्ध छौँ ।” उनले भने, “अहिले जनताले यसलाई बुझ्न सकेका छैनन् । जुन दिन बुझ्छन् त्यसै दिन थाहा पाउछन् ।” चौधरीले आगामी निर्वाचनमा पनि त्यहीँ पहिचानको मुद्दालाई सशक्त रुपमा उठाएर मिसन ८४ को निर्वाचनमा सफल हुने दाबी गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *