शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी १६ चैत/
भजनी नगरपालिका भित्रका अधिकांश सामुदायिक बिद्यालयले बिद्यालयको वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण नगरेको पाइएको छ ।
सामुदायिक बिद्यालयले हरेक आर्थिक वर्षको कार्तिक मसान्तसम्म अनिवार्य सामाजिक परिक्षण गरिसक्नुपर्ने भनिएको भए पनि भजनीका अधिकांश बिद्यालयले सामाजिक परिक्षण नगरेको पाइएको हो । चालू आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदासम्म नगरपालिकामा रहेका ३९ सामुदायिक बिद्यालय मध्ये १५ बिद्यालयले सामाजिक परिक्षण प्रतिवेदन नगरपालिकामा बुझाएका छन् । अन्य २४ बिद्यालयले शैक्षिकसत्र सकिन १५ दिन बाँकी हुँदासम्म सामाजिक परिक्षण गरेका छैनन् ।
नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाहले बिद्यालयलाई सामाजिक परिक्षणका लागि बर्सेनि ताकेता गर्दा पनि सफल नभईएको बताएका छन् । “पटकपटक सामाजिक परिक्षणको प्रतिवेदन माग गरिरहेका हुन्छौं । समयमा कुनै बिद्यालयले उपलब्ध गराउँदैन ।” उनले भने, “अब हामी कडाइका साथ लाग्छौं । सामाजिक परिक्षण नगर्ने बिद्यालयलाई नगरपालिकाले मुल्यांकन गरेर गलत नजिर राख्छ ।”
उसो त बिद्यालयले सामाजिक परिक्षण नगरे पनि सामाजिक परिक्षण बापत भुक्तानी हुने १५ हजार रुपैयाँ बर्सेनि नगरपालिकाले भुक्तानी गर्दै आएको छ । नगरपालिकाका लेखा प्रमुख रविन्द्र देउवाले बिधालयलाई एकमुष्ट अनुदान भुक्तानी गरिँदै आएको बताएका छन् । उनले भनेअनुसार सबै बिधालयले सामाजिक परिक्षण नगरे पनि पाउने वार्षिक १५ हजार रुपैयाँ भने पाइरहेका छन् ।
राष्ट्रिय माद्यामिक बिद्यालय पोल्टुपुरका प्रधानाध्यापक लालबहादुर झाले आर्थिक हिसाब मिलाउन नसक्दा सामाजिक परिक्षण रोकिएको बताएका छन् । उनले गत आर्थिक वर्षमा खर्च भएको झण्डै ७ लाख रुपैयाँको हिसाब मिलाउन नसक्दा विवाद भएको उल्लेख गरे । “खाजामा, पुस्तकालयमा र अन्य गरि लगभग ७ लाख रकम घाटा देखिएपछि विवाद भएको थियो । त्यसको छानबिन समिती पनि बनेको छ । त्यसले प्रतिवेदन पनि दिएको छैन ।” उनले भने, “बिद्यालय पहिले नै ११ लाख घाटामा थियो । अब गत वर्षको दायित्व थप भएपछि झन समस्या हुने देखिएको छ ।” प्रधानाध्यापक झा भन्दा पहिले बिद्यालयमा डबल बहादुर बम प्रधानाध्यापक थिए ।
अन्य बिद्यालयमा पनि कुनै न कुनै समस्या भएरै सामाजिक परिक्षणको काम रोकिएको देखिन्छ ।
त्रिपुरासुन्दरी आधारभूत बिद्यालय कृष्णनगरले चार वर्षदेखि सामाजिक परिक्षण गराएको छैन । चार वर्षको लेखा परिक्षण समेत नगरेको बिद्यालयले नगरपालिकाबाट सामाजिक परिक्षणका लागि बर्सेनि १५ हजार भुक्तानी लिइरहेको छ । बिद्यालय व्यवस्थापन समिती अध्यक्षका कारण लेखापरीक्षण गराउन समस्या भएको बिद्यालयका प्रधानाध्यापक चित्रबहादुर बस्नेत बताउँछन् । “अध्यक्ष कहिले भारत, कहिले काठमाडौं गर्दा अन्य प्रशासनिक काम गर्न पनि निकै असहज हुँदै आएको छ । सामाजिक लेखा परिक्षण पनि अध्यक्षकै कारण रोकिएको छ ।” उनले भने, “यो महिनाभित्र जसरी पनि लेखापरीक्षण सक्ने भनेको छु । नगरपालिकाले पनि ताकेता गरिरहेको छ ।”










