दुई महिनामा झण्डै डेढ करोड राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर ०९ असोज /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा झण्डै डेढ करोड भन्दा बढी आन्तरिक राजश्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको साउन र भदौ महिनामा नगरपालिकाले झण्डै डेढ करोड आन्तरिक राजश्व संकलन गरेको हो । यो दुई महिनाको अवधिमा नगरपालिकाले एक करोड ४० लाख ४३ हजार एक सय ४६ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष नगरपालिकाले संकलन गरेको राजश्व करिब ७ लाख ४५ हजार कम हो ।
नगरपालिकाका सुचना अधिकारी देवि प्रसाद आचार्यले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको दुई महिनाम एक करोड ४७ लाख ८ हजार तीन सय ७१ रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्ष साउन महिनामा ७८ लाख ३९ हजार पाँच सय १९ रुपैयाँ र भदौ महिनामा ६९ लाख ४८ हजार ८ सय ५२ रुपैयाँ राजश्व उठेको थियो ।
सुचना अधिकारी आचार्यले दिएको जानकारी अनुसार यसवर्षको साउनमा नगरपालिकाको आन्तरिक राजश्व ५७ लाख ११ हजार तीन सय संकलन हुँदा भदौमा ८३ लाख ३१ हजार ८ सय ४६ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले यसवर्ष भुमी कर गतवर्षको भन्दा घटाएको छ । तुलनात्मक रुपमा राजश्वको दायरा बढाउन नसकेको नगरपालिकामा राजश्व संकलनका कैयौं स्रोतको सदुपयोग नगरपालिकाले गर्न नसकेको आरोप लाग्दै आएको छ ।
नगरपालिकाको सपिङ्ग कम्प्लेक्स भवनका अधिकांश कोठा यतिबेला खाली छन् । प्रयोगमा आएका कोठाको पनि व्यापारीले भाडा तिर्दैनन । सम्झौताको म्याद सकिएको पनि वर्ष भन्दा बढी भैसक्यो । भाडाको विवादका कारण नगरपालिकाको लागि अहिले टाउको दुखाइको विषय सपिङ्ग कम्प्लेक्स भवनका भाडामा दिइएका कोठा भएका छन् । तीन करोड भन्दा बढी ती कोठाको बक्यौता व्यापारीले तिर्न बाँकी छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा ९ करोड ९ लाख ७० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । ८ करोड ५० लाख राजश्व संकलनको लक्ष्य गतवर्ष लिएको नगरपालिकाले १० करोड ४८ लाख भन्दा बढी राजश्व संकलन गरेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *