शेयेर गर्नुहोस
सीता चौधरी, टीकापुर १२ असोज/
भुमी प्रशासन कार्यलय टीकापुरमा सेवा प्रवाहमा ढिलासुस्ती हुँदा समस्या झेल्नुपरेको गुनासो गरेका छन् ।
एउटै कामको लागि पटकपटक कार्यालय पुग्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीले ठुलो समस्या झेल्नुपरेको गुनासो गरेका हुन ।अछामको मंगलसैन नगरपालिका वडा नं. ८ का पुष्प विष्टले आफू दुई सातादेखि भुमी प्रशासन कार्यलयमा धाइरहेको भए पनि काम हुन नसकेको बताएका छन् ।
विशेष गरी कम्प्युटर फाँटमा काम नहुँदा काममा ढिलाइ भएको उनको गुनासो छ । सेवाग्राहीको सहजताका लागि व्यवस्थित टोकन न प्रणाली लागु भएको भए प्रशासन कार्यालयबाट सेवा लिन सहज हुने उनको विश्वास छ ।विष्ट जस्तै अर्का सेवाग्राही लम्कीचुहा नगपालिका वडा नं. १ का प्रकाश जैसीले आफू जग्गाको नामसारी गर्न एक सातादेखि कार्यलय धाइरहेको बताए । सरकारी कार्यलय दुई दिन बन्दा हुँदा कामको चाप बढ्नुको साथै प्राविधिक लगायतका समस्याका कारण पनि सेवा प्रवाह प्रभावित भएको भन्ने कर्मचारीबाट सुन्नमा आउने गरेको उनको भनाइ छ । उनले कर्मचारीहरुले पनि सेवाग्राहीको समस्यालाई हेरेर कामप्रति चासो नदिएको गुनासो गर्दै सेवाग्राहीको अधुरो काम समय भएपछि त्यसै छोडेर जाने प्रवृत्ति देखिएको बताए ।
राधिका भण्डारीले पनि आफू आठ दिनदेखि भुमी प्रशासन कार्यलय धाइरहेको भए पनि काम सम्पन्न हुन नसकेको बताएकी छन् । कहिले कर्मचारीको समस्या त कहिले प्रविधिको समस्या देखाउँदै सेवा प्रवाह असहज भैरहेको बताएकी छन् । त्यसैगरी लम्कीचुहा नगरपालिका वडा नं. ८ का कुमार भण्डारी प्रशासनको काम देखेर दिक्क भैसकेका छन् । लामो समयसम्म काम नहुँदा टाढाबाट आउने सेवाग्राहीले यातायात खर्च तथा खानामा अतिरिक्त खर्च गर्नु परेको बताए । कार्यलयमा थप कर्मचारीको व्यवस्था गरी सेवा प्रवाहलाई छिटोछरितो बनाउनुपर्नैमा उनको जोड छ
भुमी प्रशासन कार्यलय जस्तै अरु सरकारी कार्यलयमा पनि यस्तो समस्या देखिन्छ । आवश्यक जनशक्ति अभाव, सेवा प्रवाहका कर्मचारीको लापरबाही, सिमित समयमा धेरै सेवाग्राहीको काम सक्नुपर्ने बाध्यतासँगै हप्तामा दुई दिन हुने सार्वजनिक बिदाले सेवा प्रवाहको काममा नागरिकहरुलाई धेरै असहजता भैरहेको देखिन्छ ।










