क्षति भएका संरचनाको अनुगमन गर्दै सुरक्षा निकाय

शेयेर गर्नुहोस


टीकापुर २६ भदौ /
नेपाल तथा सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रदेश प्रमुखको नेतृत्वमा जेन जि आन्दोलनका क्रममा भएको भौतिक क्षतिको अनुगमन थालिएको छ ।
जेन जि आन्दोलनका क्रममा भएको भौतिक क्षतिको प्रारम्भिक अनुगमन तथा शान्तिसुरक्षाको स्थिति बुझ्न नेपाल प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विक र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक प्रदिप पालको नेतृत्वमा अनुगमन थालिएको हो । सोही क्रममा बिहिवार कैलालीको टीकापुर नगरपालिकाको भौतिक क्षतिको अनुगमन गरिएको छ ।
आन्दोलनका क्रममा भएको नगरपालिका तोडफोड तथा सवारीसाधन आगजनीको निरीक्षण गर्दै प्रहरी नायब महानिरीक्षक विकले आन्दोलनका क्रममा तल्लो तहमा भएको क्षतिको विवरण गर्ने काम भएको बताउनुभएको छ । “अहिले भएको क्षतिको प्रारम्भिक अध्ययन गर्दै छौँ ।” उहाँले भन्नुभयो, “अनुगमन तथा निरीक्षण गरेर क्षतिको विवरण माथिल्लो निकायमा पठाउने काम हुने छ ।” उहाँका अनुसार सबै क्षेत्रमा भएको क्षतिको विवरण प्रहरीले संकलन गर्नेछ ।
अनुगमनका क्रममा प्रहरी नायब महानिरीक्षक विकले नागरिकहरूको शान्तिसुरक्षाका लागि तिनै तहको सुरक्षा निकायले संयुक्तरूपमा काम गरिरहेको बताउनुभएको छ । उहाँले नागरिकहरूलाई गाउँगाउँसम्म शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र लागिरहेको बताउनुभयो । “आपराधिक घटना घट्न नदिन हामी निकै जिम्मेवार भएर काम गरिरहेका छौँ ।” उहाँ भन्नुहुन्छ, “विस्तारै नागरिकहरुको जनजीवन सामान्य बन्दै जाने छ ।”
टीकापुर नगरपालिकामा पनि ठूलो क्षति भएको छ । नगर प्रहरी प्रमुख पहल बहादुर शाहले दिएको प्रारम्भिक तथ्यांक अनुसार पाँच करोड २२ लाख ३५ हजार बराबरको क्षति भएको छ । “हामीले प्रारम्भिक रुपमा निकालेको तथ्यांक हो ।” उहाँले भन्नुभयो, “भोलि यो तथ्यांक भन्दा केही तलमाथि पनि हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *