कहिले बन्ला छ लेन, कहिले बन्ला ब्लक ए ?

शेयेर गर्नुहोस

झलनाथ खनाल

टीकापुर ०२ भाद्र / टीकापुर नगरपालिका वडा नं. १, ब्लक नं. ए अन्तर्गत निर्माण भइरहेको सडक पूर्वाधार र जमरा पुलदेखि बसपार्कसम्मको ६ लेन सडकको काम चैतदेखि पूर्णरुपमा बन्द छ ।
कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीले निर्माणको काम बन्द भए पनि बन्दाबन्दी खुलिसकेपछि कामलाई निरन्तरता दिनुपर्ने भए पनि दुबै आयोजनाका ठेकेदार कम्पनीले कामलाई रोकेर बसेका छन् । एकातर्फ विकासबाट स्थानीय बञ्चित हुनुपरेको छ भने अर्कोतर्फ सडकको निकास नहुँदा वर्षातका कारण व्यवसायीहरुले ठूलो सास्ती खेप्नु परेको छ ।
२०७५ फागुन ६ गते रोमन केएस जेभी कैलालीले ६ लेन सडक निर्माणको लागि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो भने २०७७ फागनु ६ गते आयोजनाको काम सम्पन्न गरिसक्नु पर्ने छ । तर, अहिलेको कामको प्रगति हेर्ने हो भने अझै ६ लेन सडक सम्पन्न हुन दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ । ठेकेदार कम्पनीले बन्दाबन्दीका कारण काम सम्पन्न गर्न नसकेको भन्ने आधार बलियो भए पनि ६ लेन सडक निर्माणका लागि बलियो आधार ३३ केभी विद्युत लाइन बनिदिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर गगन शाहीले विद्युत पोल नै सडक निर्माणको ठूलो बाधक बनेको बताउँदै विद्युत पोल व्यवस्थापन नभएसम्म आयोजना सम्पन्न गर्न यति नै समय लाग्ने निश्चित नभएको बताएका छन् । उनले बन्दाबन्दीले पनि सडक निर्माणमा अवरोध पु¥याएको भन्दै ‘हामीले बीचको समयमा पनि काम गर्न चाहेका थियौं । तर, जिल्ला प्रशासन कार्यालय कैलालीले अख्तियारी नदिँदा काम गर्न सकिएन ।’
त्यस्तै, ब्लक नं. ए अन्तर्गत निर्माण भइरहेको सडकको काम पनि पूर्णरुपमा ठप्प छ । ठेकेदार कम्पनीले सडकको छेउमा निर्माण गरेको नालीको निकास नभएकै कारण यो वर्ष व्यवसायीहरुले ठूलो सास्ती समेत खेप्नुप¥यो । अझै पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन । महालक्ष्मी एमके जेभी धनगढीले २०७६ साउनबाट काम सुरु गरी २०७७ माघ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भए पनि आयोजनाको १० प्रतिशत काम भए पनि भएको देखिँदैन । जेभीसँग ८ करोड ४४ लाख २१ हजार ४ सय ९९ मा सम्झौता भएको छ ।
उता, सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाई मार्फत् निर्माण टीकापुरमा चारवटा आयोजना निर्माण भइरहेका छन् । त्यसमध्येको बसपार्क निर्माणको कार्य सम्पन्न भइसकेको छ भने घण्टाघर निर्माणको काम पनि अन्तिम चरणमा रहेको सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ धनगढीका आयोजना प्रमुख परिक्षित कडरियाले जानकारी दिएका छन् । उनले ६ लेन सडक र ब्लक ए अन्तर्गत निर्माणको काम बन्दाबन्दीकै कारण रोकिएको बताउँदै पुनः बन्दाबन्दी नभए भदौ १५ पछि काम सुरु हुने बताएका छन् ।
‘अहिले नै काम सुरु गर्न सकिने अवस्था छैन । अबको अवस्था के हुन्छ ? त्यसलाई हेरेर काम गर्ने÷नगर्ने निर्णय होला ।’ आयोजना प्रमुख कडरियाले भने, ‘विद्युत लाइनक कारण पनि ६ लेन सडकमा केही समस्या आएको छ । त्यसको लागि प्रोफाइल डिजाइन भई प्रक्रिया अगाडि बढिसकेको छ ।’
आयोजना प्रमुख कडरियाले ६ लेन सडकको नाली बाङ्गो विषयमा त्यसको अनुगमन गरेर बाङ्गो भएको ठाउँमा सुधार गरिने समेत बताएका छन् ।
यता, टीकापुर नगरपालिका योजना शाखा प्रमुख नवराज जोशीले दुबैतर्फको सडक निर्माणका लागि नरगपालिकाले दुबै ठेकेदार कम्पनीसँग छलफल गरेको बताएका छन् । शाखा प्रमुख जोशीले नाली बाङ्गोको विषयमा इन्जिनियरको डिजाइन स्टिमेट कहिल्यै बाङ्गो नहुने भन्दै ठेकेदारको लापरवाहीकै कारण नाली बाङ्गो भएको बताएका छन् । उनले संघीय इकाईको समन्वयमा काम सुरु हुनुपर्ने भन्दै त्यसको सबै जिम्मेवारी संघीय इकाई धनगढीलाई नै हुने बताएका छन् ।
‘हामीले आफ्नो तर्फबाट गर्न सकिने अनुगमनका कुराहरु गर्न सक्छौं ।’ शाखा प्रमुख जोशीले भने, ‘तर, त्यसको सबै जिम्मेवारी संघीय इकाईकै हुन्छ । समन्वय गर्ने÷नगर्ने कुराहरु उहाँहरुमै निर्भर छ । तर, आफ्नो ठाउँको विकासका लागि हामीले अनुगमन गर्नु फरक विषय हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *