चोरीका घटना बढ्दै जाँदा त्रास बढ्यो

शेयेर गर्नुहोस


टीकापुर २८ भदौ /
 टीकापुरमा बढ्दै गएका चोरीका घटनाले स्थानीयमा दिनप्रतिदिन त्रास बढ्दै गएको छ ।
  एकपछि अर्को चोरीको घटना हुन थालेपछि शान्तिसुरक्षामा गम्भीर प्रश्न उठ्नुको साथै नागरिकहरुमा त्रास बढ्दै गएको हो ।
पछिल्लो पटक टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं.२३ स्थित शिवशक्ति सिद्धेश्वर महादेव मन्दिरको ढोका फुटाएर दान पेटी फोडेर चोरी भएको छ । मन्दिरमा रहेको दानपेटीमा दान करिब २० हजार रुपैयाँ सम्म रहेको हुनसक्ने स्थानीय खगेन्द्र रिमालले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार भदौ २६ गते राति मन्दिरको ढोका फुटाइएको थियो । मन्दिरभित्र रहेको दान पेटीबाट केही रकम चोरी भएको छ । मन्दिर नजिकै करिब दुई साताअघि गायत्री भट्टराईको घरमा समेत चोरी भएको स्थानीयको भनाइ छ । ब्लक नं. २३ मा मात्रै एकदुई महिनाको फरकमा ५/६ वटा घरमा चोरी भैसकेको छ । पटकपटक चोरीका घटना भइरहँदा पनि हालसम्म चोरीमा संलग्न व्यक्तिहरू पक्राउ पर्न नसकेको स्थानीयले प्रहरीको कामप्रति शंका व्यक्त गरेका छन् ।
रिमालले मन्दिरमा चोरी भएको घटनाबारे जानकारी दिँदै मन्दिर परिसरमा भदौ २६ गते एउटा चप्पल फेला परेको बताएका छन् । उक्त चप्पल चोरीमा संलग्न व्यक्तिले प्रयोग गरेको हुनसक्ने स्थानीयको अनुमान गरिएको छ । चप्पलको पहिचान वा सोसँग सम्बन्धित कुनै जानकारी भए नेपाल प्रहरीलाई जानकारी गराउन स्थानीयले आग्रह गरेका छन् ।
प्रहरीले शान्तिसुरक्षाका लागि समुदाय स्तरमा शान्तिसुरक्षाको प्रत्याभूती दिलाउन नसकेको बताउँदै स्थानीय सागर विश्वकर्माले बढ्दै गएको चोरीको घटनाले नागरिकहरू त्रसित बनेको बताएका छन् । “दिनमा टीकापुर भित्रै एक घरमा वा अन्य क्षेत्रमा चोरी भएको सुन्न पाइन्छ ।” उनले भने, “यो क्रम एक वर्षदेखि चलिरहँदा प्रहरी प्रशासनले एकजना मान्छेलाई पनि चोरीको घटनामा समात्न सकेको छैन ।”
चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय टिकापुरमा निवेदनसमेत दिएको बताएका छन् । स्थानीयले नियमित प्रहरी गस्ती बढाउन र चोरीका घटनाको अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न माग गर्दै आए पनि प्रहरीको कार्यसम्पादनबाट नागरिकहरु सन्तुष्ट हुन भने सकेका छैनन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *