दिउँसोका समाजसेवी, रातिका अपराधी को ?

शेयेर गर्नुहोस


नृपजंग थापा (विचार) ०७ भदौ /
कैलाली जिल्लाको टीकापुर तराईको भूभागमा अवस्थित भए पनि यसको प्राकृतिक बनावट र वातावरणले धेरैपटक पहाडी भूभागको अनुभूति गराउँछ। आकाशमा बादल लाग्दा होस् वा वर्षा हुँदा, कर्णाली नदीको निकटता र वरिपरिका हरियाली वनजङ्गलका कारण टीकापुरको मौसममा छुट्टै शीतलता महसुस हुन्छ।
टीकापुर केवल एउटा नगरपालिका मात्र होइन, योजनाबद्ध ढङ्गले विकास गरिएको शहर हो । २०२८ सालमा तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष तथा पूर्वमन्त्री खड्गबहादुर सिंहको परिकल्पनामा अघि बढाइएको यो सहरको संरचना, सडक, हरियाली र बस्ती विकासमा विभिन्न समयमा योगदान गर्ने सबै व्यक्ति निश्चय नै धन्यवादका पात्र छन् । कुनै समय कैलालीको सदरमुकाम धनगढीसँग व्यापारिक गतिविधिमा प्रतिस्पर्धा गर्ने हैसियत बनाएको टीकापुरमा देशका विभिन्न जिल्लाबाट मानिसहरू आएर बसोबास गरे । यहीँ विविधता टीकापुरको सामाजिक र आर्थिक शक्तिको एउटा महत्वपूर्ण आधार पनि हो ।
पछिल्लो समय एउटा गम्भीर प्रश्न उठिरहेको छ, टीकापुरबाट मानिसहरू किन बिस्तारै बाहिरिँदै छन्?
यसको उत्तर खोज्दा केवल अपराधलाई दोष दिएर पुग्दैन । अपराध त काठमाडौं लगायत देशका ७७ वटै जिल्लामा हुन्छ । फरक यति हो कि कुन घटना कति चर्चामा आउँछ भन्ने हो । त्यसैले टीकापुरको समस्या अपराध मात्र हो भन्नु वास्तविकताको सरलीकरण हुनेछ । यहाँको सामाजिक मनोविज्ञान, राजनीतिक नेतृत्व, आर्थिक अवसर, युवाको भविष्यप्रतिको आशा, सामाजिक विभाजन र सार्वजनिक सुरक्षाप्रतिको विश्वास यी सबै पक्षलाई सँगसँगै हेर्न आवश्यक छ ।
टीकापुरको राजनीतिक इतिहासलाई हेर्दा पनि गम्भीर प्रश्न उठाउनुपर्ने ठाउँ छ । २०४८ सालदेखि २०८२ सालसम्मको प्रतिनिधिसभा निर्वाचनमा एउटै व्यक्ति निरन्तर दोहोरिएको इतिहास नरहेको अवस्थालाई परिवर्तनप्रतिको नागरिक चेतनाको संकेतका रूपमा पनि लिन सकिन्छ । तर प्रश्न यति मात्र होइन, हामीले नेतृत्व परिवर्तन गर्‍यौँ, तर नेतृत्वको गुणस्तरमा कति परिवर्तन ल्यायौँ ?
जनताले पटकपटक प्रतिनिधि चुने पनि संसदमा टीकापुर र यस क्षेत्रका जनताको आवाज कति प्रभावकारी रूपमा उठ्यो ? स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, नदी नियन्त्रण, कृषि र पूर्वाधारका दीर्घकालीन मुद्दामा कति दबाब सिर्जना भयो? यी प्रश्नको निष्पक्ष समीक्षा अब आवश्यक छ ।
कुनै समय ‘शैक्षिक नगरी’ का रूपमा चर्चा पाएको टीकापुरमा आज पनि दुईवटा क्याम्पससहित थुप्रै विद्यालय छन् । तर शिक्षित युवाले आफ्नो भविष्य यहीँ देख्न नसक्ने अवस्था सिर्जना हुँदै गएको हो भने त्यसको कारण खोज्नैपर्छ । शिक्षा मात्र भएर हुँदैन; रोजगारी, उद्यम, सुरक्षित वातावरण र भविष्यप्रतिको भरोसा पनि चाहिन्छ ।
अब अर्को संवेदनशील विषयतर्फ जाऔँ—समाजसेवाको आवरण र सामाजिक द्वन्द्व ।
टीकापुरमा धेरै मानिस साँच्चिकै समाजसेवी छन् । धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय छन्, मन्दिर धाउँछन्, पूजा गर्छन्, दुःखमा परेकालाई सहयोग गर्छन् । यस्ता व्यक्तिहरू समाजका सम्पत्ति हुन् । ती सबैलाई एउटै नजरले हेर्न मिल्दैन ।
समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ सार्वजनिक रूपमा समाजसेवा, सदाचार र सामाजिक एकताको कुरा गर्ने केही व्यक्तिहरू निजी व्यवहारमा भने जात, भूगोल, समूह र व्यक्तिगत स्वार्थका आधारमा मानिसलाई विभाजन गर्न थाल्छन् । अझ गम्भीर कुरा त तब हुन्छ, जब सामाजिक प्रतिष्ठाको आवरणभित्र व्यक्तिगत प्रतिशोध, गुटबन्दी, धम्की, हिंसा वा गैरकानुनी गतिविधिलाई संरक्षण दिने प्रवृत्ति जन्मिन्छ ।
यहाँ एउटा सावधानी पनि आवश्यक छ, प्रमाणबिना कसैलाई ‘अपराधी’ भन्नु स्वयं अन्याय हुन सक्छ । त्यसैले टीकापुरको वास्तविक समस्या व्यक्तिको चरित्रमाथि आरोप लगाएर होइन, प्रवृत्ति, प्रमाण र संस्थागत कमजोरीको आधारमा बहस गर्नुपर्छ । हामीले प्रश्न गर्नुपर्ने कुरा हो, दिउँसो समाजसेवीको परिचय बनाउने र राति गैरकानुनी गतिविधिमा संलग्न हुने अवस्था कतै हाम्रो समाजमा मौलाइरहेको त छैन ? यदि छ भने त्यसको संरक्षण कसले गरिरहेको छ ? किन यस्ता गतिविधि रोक्न स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दल र नागरिक समाज प्रभावकारी बन्न सकेका छैनन् ?
त्यसैगरी अर्को गम्भीर प्रश्न पनि छ, जात र भूगोलका नाममा बनेका अदृश्य घेराहरूले टीकापुरको सामाजिक सम्बन्धलाई कमजोर बनाइरहेका त छैनन् ? कुनै ठाउँको विकास सडक र भवनले मात्र हुँदैन । सामाजिक विश्वास, कानुनी शासन, समान व्यवहार र भविष्यप्रतिको आशाले पनि सहर निर्माण गर्छ । यदि नागरिकले आफू सुरक्षित छैन भन्ने महसुस गर्न थाले, युवाले अवसर देख्न छाडे, व्यवसायीले लगानी गर्न डराए र सामाजिक सम्बन्धमा अविश्वास बढ्दै गयो भने सुन्दर र योजनाबद्ध सहर पनि बिस्तारै रित्तिन सक्छ । त्यसैले आज टीकापुरलाई दोषी खोज्नेभन्दा पहिले समस्या खोज्ने सहर बनाउनुपर्छ।
राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ । प्रशासनले निष्पक्षता र सुरक्षा सुनिश्चित गर्नुपर्छ । नागरिक समाजले समाजसेवाको नाममा हुने गुटबन्दी र विभाजनलाई निरुत्साहित गर्नुपर्छ । शिक्षित युवाले केवल विदेश वा अन्य शहरतर्फ जाने बाटो मात्र होइन, आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने सम्भावना पनि खोज्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा जात, भूगोल, पार्टी र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर टीकापुरलाई साझा घरका रूपमा हेर्नुपर्छ ।
टीकापुर रित्तिँदैछ भने त्यसको कारण एउटा व्यक्ति, एउटा पार्टी वा एउटा घटनामा खोजेर पुग्दैन । यो हाम्रो सामूहिक असफलताको परिणाम हो कि होइन भन्ने प्रश्नसँग इमानदारीपूर्वक सामना गर्नुपर्ने बेला आएको छ ।
टीकापुरलाई साँच्चिकै जोगाउने हो भने समाजसेवाको आवरण होइन, वास्तविक समाजसेवा चाहिन्छ, भाषण होइन, जवाफदेही नेतृत्व चाहिन्छ, गुट होइन, एकता चाहिन्छ, आरोप होइन, प्रमाण चाहिन्छ र सबैभन्दा बढी नागरिकलाई आफ्नो भविष्य टीकापुरमै छ भन्ने विश्वास दिलाउन सक्ने वातावरण चाहिन्छ ।
नत्र कुनै दिन हामीसँग सुन्दर सडक, पुराना संरचना र इतिहास त बाँकी रहला, तर ती सडकमा हिँड्ने मानिसहरू नै कम हुँदै जानेछन् । टीकापुर रित्याउने खेल कसले खेलिरहेको छ भन्ने प्रश्नभन्दा ठूलो प्रश्न अब यो हो टीकापुरलाई फेरि भरिभराउ, सुरक्षित, समावेशी र सम्भावनायुक्त सहर बनाउने जिम्मेवारी कसले लिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *