शेयेर गर्नुहोस
खेम राज पाण्डेय, भजनी ०५ भदौ /
कैलालीको भजनी नगरपालिकामा जिल्ला परियोजना सल्लाहकार समितिले विभिन्न साझेदारी संस्थामार्फत सञ्चालन भइरहेका परियोजना तथा गतिविधिहरूको स्थलगत अनुगमन गरेको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढी, बाल कल्याण संघ टीकापुर र दिगो विकास समाज भजनीद्वारा सञ्चालन भइरहेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको अनुगमन गरिएको हो ।
भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा रहेको अनुगमन टोलीले यार्ड धनगढीद्वारा सञ्चालित बालमैत्री तथा पोषणमैत्री पालिका घोषणाका लागि निर्धारित सूचकहरूको अवस्था, हासिल भएको प्रगति, विद्यमान समस्या तथा आगामी आवश्यकताका विषयमा जानकारी लिएको थियो ।
अनुगमनका क्रममा आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक सहभागिता, स्पोन्सरसिप, अभिभावक शिक्षा तथा कृषि उत्पादन समूहलगायतका विभिन्न गतिविधिको स्थलगत अवलोकन गरिएको थियो। साथै, कार्यक्रमबाट स्थानीय समुदाय तथा बालबालिकामा परेको प्रभावका विषयमा लाभग्राही, अभिभावक, विद्यालय तथा कृषक समूहसँग अन्तरक्रियासमेत गरिएको थियो ।
कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्ने उद्देश्यले दिगो विकास परियोजनाअन्तर्गत गठित सृजनशील जलवायु कृषक समूहकी अध्यक्ष लक्ष्मी चौधरीले अनुगमन टोलीसमक्ष समूहको प्रगति तथा उपलब्धिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यसैगरी, भजनी नगरपालिका वडा नं. २ रजवराकी आरसी बालबालिकाकी अभिभावक आरतीदेवी कुमालले आफ्नो छोराको हात भाँचिएपछि परियोजनाबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले प्राप्त सहयोगले उपचारमा ठूलो राहत पुगेको बताउनुभयो।
त्यस्तै, भजनी नगरपालिका वडा नं. ७ स्थित गणेशमान आधारभूत विद्यालयका प्रधानाध्यापक जादोलाल रायले साझेदारी संस्थाहरूले विद्यालयको शैक्षिक तथा बालमैत्री वातावरण विकासमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
अनुगमन टोलीले स्थलगत रूपमा प्राप्त सुझाव, समस्या तथा समुदायका आवश्यकताहरूलाई सम्बन्धित पालिका तथा सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक पहल तथा कार्यान्वयनमा लैजाने जनाएको छ। अनुगमनले परियोजनाका गतिविधिहरूको प्रभावकारिता, उपलब्धि र आगामी कार्यदिशा पहिचान गर्न सहयोग पुगेको जनाइएको छ।
अनुगमन टोलीमा नगरप्रमुख चौधरीसहित स्वास्थ्य शाखा प्रमुख कैलाश थारु, विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपाने, कृषि शाखा प्रमुख गीता थापा, महिला तथा बालबालिका शाखा प्रमुख रिजु चौधरी, शिक्षा शाखा मिना चौधरी, पशु सेवा शाखा प्रमुख त्रिलोचन चौधरीलगायत सहभागी हुनुहुन्थ्यो। साथै, बाल कल्याण संघ टीकापुर, यार्ड धनगढी तथा दिगो विकास समाज भजनीका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। दिगो विकास समाज भजनीबाट रामबहादुर सुनार, विनोद शाह र प्रेमा विकलगायतको सहभागिता रहेको थियो।











