शेयेर गर्नुहोस
अर्जुन खत्री
भजनी ३० साउन/ भजनी नगरपालिकामा आएको बाढीका कारण बिस्थापित भएका स्थानीयहरु सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै सामुदायिक वनको जग्गामा त्रिपाल टाँगेर बस्न थालेका छन् ।
साउन १४ गते आएको बाढीका कारण बिस्थापित भएका स्थानीय नागरिकहरुले सम्बन्धित निकायले आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल टाँगेर बस्न थालेका हुन् । लामो समयसम्म घरवारविहीन भई सडकमा बस्नु परेको भन्दै नगरपालिकाले आफूहरुलाई सुरक्षित ठाउँमा घरबासको व्यवस्थापन गर्नुपर्ने मागसहित आफूहरु सामुदायिक वनको जग्गामा बसेको भजनी नगरपालिका वडा नं. ३ बर्दवा फाँटाकी जयसरा ओडले बताएकी छन् ।
‘हामी घर फर्कने मनस्थिति बनाएर यहाँ आएका छैनौं । हाम्रो व्यवस्थापन नगर सरकारले यही कतै गर्नुपर्दछ ।’ ओडले भनिन्, ‘वर्सेनि बाढी र डुबानका कारण घरवार–विहीन हुनुपर्ने अवस्थाबाट नगरपालिकाले हामीलाई बचाउनु पर्छ ।’
त्यस्तै, भजनी नगरपालिका दैलेखी टोलकी कौशिला शाहीले कि त नगरपालिकाले सुरक्षित ठाउँमा घरबास दिनुपर्ने नभए यही ठाउँमा बस्नकै लागि आएको बताउँदै यही अवस्थामा घर फर्कन नसकिने बताएकी छन् । ‘कहाँ छ हाम्रो स्थानीय सरकार ? कहाँ छन् नगर प्रमुख र उप–प्रमुख ?’ शाहीले भनिन्, ‘अरुले दिएको चिउरा र चाउचाउले हप्तौ दिन बितायौं । तर, स्थानीय सरकार देख्न पाएका छैनौं ।’
बर्दवा फाँटाबाट आएका शिवराज ढुङ्गानाले नगरपालिकाले आफूहरुका लागि दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने भन्दै कोरोना भाइरसको महामारीसँगै वर्षातको समयमा सर्पदंशको त्रासका साथ त्रिपालमा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘हामी त्यसै यहाँबाट जाने मनस्थितिमा छैनौं । नगरपालिकाले हाम्रो व्यवस्थापनका लागि पहल
गरोस् ।’ ढुङ्गनानाले भने, ‘खाना, लाउन केही छैन । नगरपालिकाले केही गरेन । चुनावमा आए । भोट मागे आफू बने र आफ्नालाई बनाए ।’
बिहीबार अपरान्हसम्म करिब ६० परिवार महुन्याल सामुदायिक वनको जग्गा मधुवन बस्तीमा त्रिपाल टाँगेर बसिसकेका छन् भने बाढीबाट प्रभावित वडा नं. २, ३, ५, ७ र ८ का स्थानीय सो स्थानमा आउने क्रम जारी नै रहेको बताइएको छ । उनीहरु सम्बन्धित निकायले आफूहरुको व्यवस्थापन नभएसम्म उक्त ठाउँबाट उठ्ने बताउँदै आएका छन् ।