बिकासमा बढ्दो अनियमितता: काङ्ग्रेस

शेयेर गर्नुहोस

समाधान समाचार

टीकापुर ३० साउन / मानेपाली काँग्रेस नगर समिति टीकापुरले तीनै तहको सरकारबाट भइरहेका विकास निर्मााणका काममा आर्थिक अनियमितता बढ्दै गएको बताएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजनामार्फत् टीकापुर नगरपालिकाभित्र निर्माण भइरहेका र सम्पन्न भइसकेका तीनै तहको सरकारको आयोजनाको अनुगमन पश्चात् प्रतिवेदन सार्वजनिक गर्दै काँग्रेसले यस्तो बताएको हो । टीकापुर नगरपालिकाका नगर प्रमुखका उम्मेद्वार रहेका जंगबहादुर साउँदको संयोजकत्वमा गठित अनुगमन समितिले टीकापुर नगरपालिकाभित्रका आयोजनाहरुको अनुगमन गरी त्यसको प्रतिवेदन नगर समितिका सभापति धनराज उपाध्यायलाई हस्तान्तरण गरेका छन् ।
पत्रकार सम्मेलनमा अनुगमन समितिका संयोजक साउँदले केही आयोजनाहरुको अवस्था हेर्दा विकासमा नैराश्यता छाउने स्थिति टीकापुरमा देखिएको बताएका छन् । उनले केही वर्ष पहिले २० हजारको लागतमा निर्माण भएका कल्भर्ट अहिले १५ लाखसम्म्ममा पनि त्यति गुणस्तरीय नबनेको बताएका छन् । ‘विकासको अवस्था दयनीय छ । विकासको नाममा आर्थिक अनियमतता नभएको कुनै योजना नै देखिएको छैन ।’
संयोजक साउँदले भने, ‘विद्यालयमा बनेका संरचनामा भने चित्त बुझाउन सक्ने बाटो देखिए पनि अन्य विकासले नागरिकहरुमा उत्साह जगाउन सकेको छैन ।’
उनले टीकापुर नगरपालिका वडा नं. ५ मा निर्माणाधीन खेलकूद मैदान, वडा नं. १ मा रहेको टेकबहादुर साउँद स्मृति चिल्ड्रेन पार्कमा बढी आर्थिक अनियमितता भएको ठहर समितिले गरेको बताएका छन् ।
संयोजक साउँदले आर्थिक वर्षको मसान्त सकिएपछि अनुगमनका लागि जिल्लाबाट पत्र आएका कारण आफूहरुसँग आयोजनाको स्टिमेट नहुँदा अनुगमनमा समस्या भएको बताएका छन् । उनले स्थानीयबासीको आवाजलाई आधार मानेर मात्र आयोजनाको अनुगमन गरेको भन्दै चालु आर्थिक वर्षमा असोज महिनाभित्रै तीनै तहको रातो पुस्तिका प्राप्त गर्न सके अनुगमनलाई अझै प्रभावकारी बनाउन सकिने बताएका छन् ।
अनुगमन प्रतिवदनका अनुसार निर्माण कार्य गर्दा सूचना पाटी अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्था भए पनि अधिकांश आयोजनाको सूचना पाटी नै नभएको, संघीय आयोजनाका निर्माण कार्यहरु निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका लापरवाहीका कारण गुणस्तरहीन र ढिलासुस्ती भइरहेको, स्थानीय तहबाट भएको माटो पटानी, ग्राभेल सम्बन्धी कार्यमा वर्षाका कारण कुन नयाँ, कुन पुरानो ? भनेर छुट्याउन सक्ने अवस्था नै नरहेको, उपभोक्ताबाट हुने निर्माण कार्यलाई निरुत्साहित गर्ने र वास्तविक उपभोक्तामार्फत् सम्पूर्ण राजनीतिक दलको उपस्थिति रहने गरी उपभोक्ता समिति गठन गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको असार २८ गतेको पत्रानुसार साउन १७ गते प्राप्त भएको पत्रलाई आधार मानी साउन २२ गतेबाट नेपाली काँग्रेसले नगरक्षेत्रका योजनाहरुको अनुगमन गरेको हो । समितिमा ९ वटै वडाका वडाअध्यक्षका उम्मेद्वार गरी १९ जनाको कार्य समितिले स्थलगत अनुगमन गरेको थियो ।
पत्रकार सम्मेलनमा टीकापुर नगरपालिका वडा नं. १ का वडाअध्यक्षका उम्मेद्वार रणबहादुर रावलले अनुगमन प्रतिवेदन नगर हुँदै जिल्लामा पठाइने र आर्थिक अनियमितता देखिएका आयोजना–हरुको छानबिनका लागि अख्तियारमा उजुरी समेत गरिने बताएका छन् । उनले आयोजनाको
अवस्था हेर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि टीकापुरसम्म पछ्याउन नसकेको हो कि ? भन्ने प्रश्न उब्जिएको बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *