बिचौलियाका कारण केराले मूल्य पाएन

शेयेर गर्नुहोस


टीकापुर ०७ असोज/
बिचौलियाका कारण केराले मूल्य नपाएको भन्दै केरा व्यवसायीले सहजीकरण गरिदिन टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीलाई आग्रह गरेका छन् ।
उत्पादन भएको केरा मूल्य नपाएर बारीमै पाक्न थालेको गुनासो गर्दै केराको बजारीकरणमा सहजीकरण गरिदिन केरा व्यवसायीले आग्रह गरेका हुन । एक महिना अगाडि मात्रै प्रती दर्जन ७५ रुपैयाँसम्म बिक्रि भएको काचो केरा अहिले ४० रुपैयाँमा पनि बिक्री नहुने स्थितिमा पुगेको केरा व्यवसायी मख्खन रावलले जानकारी दिएका छन् । “एक महिना अगाडि प्रती दर्जन ७४/७५ रुपैयाँमा बिक्रि भएको केरा बिचौलियाको सिन्डिकेटका कारण अहिले ४० रुपैयाँमा पनि बिक्रि भैरहेको छैन ।” उनले भने, “बाहिरबाट केरा खरिद गर्न आउने व्यापारीलाई सहजरूपमा टीकापुर आएर केरा खरिद गर्ने वातावरणको बाधक बिचौलिया बन्दा किसानलाई समस्या भैरहेको छ ।
एक वर्षमा अर्बौंको केराको कारोबार हुने टीकापुरमा केराको मुल्यमा किसान सधैं ठगिने गरेको उनीहरूको गुनासो छ । किसानसँग प्रती दर्जन ४०/४५ रुपैयाँमा खरिद गरेको केरा उपभोक्ताले खरिद गर्दा एक सय भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता रहेको बताउँदै लालबहादुर रावलले किसान र उपभोक्ता बीचको दरी घटाउन आवश्यक रहेको बताएका छन् । “किसान र उपभोक्ता बीचको दुरी टाढा बनाएर बिचौलियाले राम्रो आम्दानी गरिरहेका छन् ।” उनले भने, “यो रोकिएन भने किसानले उत्पादन गरेको केरा बाध्यतामा बिचौलियाको मुल्यमा बिक्रि गर्नुपर्ने हुन्छ ।”
केरा व्यावसायि संघलाई पनि पटकपटक केरा किसानको पिडा बुझ्न आग्रह गरेको बताउँदै रावलले वास्तविक किसानसम्म संघ पुग्न नसकेको बताएका छन् । उनले केरा खरिद गर्ने व्यापारीलाई बिचौलियाले टीकापुर प्रवेश नै गर्न नदिएको आरोप लगाएका छन् । केराको उचित मुल्यका लागि नगरपालिकालाई सहजीकरणको आग्रह गर्दै रावलले भने, “किसानको बारीमा केरा पाक्न थालेका छन्, किन्ने कोहि छैन ।”
कार्यवाहक नगर प्रमुख नगार्जीले समन्वयको वातावरण बनाउने आश्वासन केरा किसानहरूलाई दिएका छन् । उनले बिचौलिया, केरा व्यवसायी संघ र पिडित किसानलाई संगै राखेर छलफल गर्ने आश्वासन दिएका हुन । “अहिले पनि उपभोक्ताले प्रती दर्जन एक सय रुपैयाँ भन्दा बढीमा केरा खरिद गर्दै आएका छन् भने किसानले आधा बन्दा कममा केरा बिक्रि गर्नुपर्ने स्थिति रोकिनुपर्छ ।” उनले भने, “यो परिस्थितिलाई रोक्नको लागि तीनै पक्षसँग सामुहिक छलफल गरेर अगाडि बढ्न सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *