सुत्केरी पशु स्याहार’ कार्यक्रम सुरु

शेयेर गर्नुहोस


चन्द्र प्रसाद खनाल, लम्की ०५ असोज/
कैलालीको गौरीगंगा नगरपालिकाले सुत्केरी भएका गाई तथा भैँसीको स्वास्थ्य संरक्षणसँगै दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ‘सुत्केरी पशु स्याहार पोषण प्याकेज कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सुत्केरी पशुपालक कृषकलाई पाँच लिटर क्षमताको क्याल्सियम वितरण गर्ने कार्यक्रमको थालनी गरिएको हो । सुत्केरी अवस्थामा गाई तथा भैँसीलाई उचित स्याहार, पोषण र स्वास्थ्य संरक्षण आवश्यक पर्ने भएकाले पशुको स्वास्थ्य अवस्था सुधार गर्न तथा दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा गौरीगंगा नगरपालिका क्षेत्रभित्रका सुत्केरी गाई तथा भैँसी पाल्ने कृषकलाई लक्षित गरिएको छ । नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रमका लागि योग्य कृषकले आवश्यक कागजातसहित सम्बन्धित पशु सेवा केन्द्रमा आवेदन दिन सुचना जारी गरिएको थियो ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राज जोशीले हस्ताक्षर गरिएको सुचनामा पशुपालक कृषकलाई जानकारी गराइएको थियो । आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयबाट जारी बसाइँसराइ प्रमाणपत्र वा नगरपालिकाको स्थायी बासिन्दा प्रमाणित हुने कागजात आवश्यक पर्नेछ । त्यस्तै, कृषकले गाई वा भैँसी ब्याएको जानकारी तथा आवश्यक कागजातसहित आफ्नो पायक पर्ने पशु सेवा केन्द्रमा १५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो ।
निवेदन प्राप्त भएपछि सम्बन्धित केन्द्रका प्राविधिकले ३० दिनभित्र कृषकको गोठ तथा पशुको स्थलगत अनुगमन गरी फोटो/भिडियोका आधारमा आवश्यक पोषण सामग्री वितरण गर्ने व्यवस्था उल्लेख गरिएको छ । नगरपालिकाका अनुसार कार्यक्रममा साना, सीमान्तकृत, विपन्न तथा दलित समुदायका कृषकलाई प्राथमिकता दिइने बताइएको छ । साथै, एक कृषक परिवारले एक आर्थिक वर्षमा बढीमा दुई वटा गाई वा भैँसीका लागि मात्र यो पोषण प्याकेज सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा २०८३ साल साउन १ गते वा सोभन्दा पछि ब्याएका गाई तथा भैँसीलाई कार्यक्रममा समावेश गर्ने जनाएको छ । पशुपालनलाई व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमले सुत्केरी पशुको स्वास्थ्य सुधारसँगै कृषकको उत्पादन र आम्दानीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गौरीगंगा नगरपालिका पशु सेवा शाखाले योग्य कृषकलाई आज असोज ५ गते शनिबार ७ जना कृषकलाई वितरण गरिएको छ । पशु सेवा शाखा प्रमुख भिम बहादुर राना , कर्मचारी रामबाबु चौधरी , विक्रम बहादुर सिंह , पदम बहादुर बुढा ऐरले कृषकलाई क्याल्सियम हस्तान्तरण गरेका हुन् । गौरीगंगा -१० का कृषक लक्ष्मण चौधरी , ९ का दुर्गा भण्डारी , ८ अप्सरा कठायत , ९ का रितुदेवी सापकोटा , ८ का मनिराम चौधरी , १० का ललि बहादुर चौधरी र ७ का गोविन्द बहादुर ताडीलाई कार्यालयमा नै क्याल्सियम हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *