४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान

शेयेर गर्नुहोस


समाधान समाचार,
काठमाडौं २८ भाद्र /
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
प्राधिकरणका कर्मचारीले  उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्‍याउने गरी प्रस्ताव पुगेको छैन ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।सरकारले कुलमानलाई नदोहोर्‍याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्‍याउन दबाव छ । दवावका कारण कुलमान दोहोरिने सम्भावना पनि छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।
यो पनि पढ्नुहोस
तराजुमा कुलमानका चार वर्ष : के–के गरे ? कहाँ चुके ?
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे ऊर्जा मन्त्रालय मौन छ ।

विद्युत प्राधिकरण ऐनको दफा १७मा प्राधिकरणको कार्य सञ्चालनको निमित्त मुख्य प्रशासकीय अधिकृतको रुपमा समितिले एकजना महाप्रवन्धक र आवश्यकता अनुसार सल्लाहकार र कर्मचारीहरु नियुक्ति गर्न सक्ने व्यवस्था छ । साधारणसभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्ति गर्ने ऐनको व्यवस्था छ ।यसका आधारमा घसिङलाई पुनः नियुक्ति दिन कुनै कानूनी बाधा अड्चन छैन । ऊर्जामन्त्रालय भने कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गर्ने मनस्थितिमा छ ।लोकप्रिय बनेका कुलमान घिसिङलाई दोहोर्‍याउँदा प्राधिरकणले गरेका कामको जस आफूले नपाउने डर सरकारलाई छ ।ऊर्जा मन्त्रालयले प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने गरी प्रक्रिया पनि सुरु गरेको छैन । यसका कारण कुलमान दोहोरिने वा नदोहोरिने भन्ने निश्चित हुन सकेको छैन । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *