शेयेर गर्नुहोस
टीकापुर २५ भदौ /
टीकापुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको नि:शुल्क दुर्घटना बीमा गरेको छ ।
संघ र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडबीच दुई पक्षीय सम्झौता अनुसार संघमा आबद्ध सदस्यहरुको नि:शुल्क दुर्घटना बीमा गर्ने भएको हो । सम्झौतामा संघका तर्फबाट अध्यक्ष सन्तोष खड्का र इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक प्रकाश रेग्मीले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार संघमा दर्ता भएर नविकरण भएका व्यापारी तथा व्यवसायीहरुले एक लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा लाभ पाउनेछन । यो सम्झौता एक वर्षसम्मका लागि लागु हुने अध्यक्ष खड्काले जानकारी दिएका छन् । उनले नि:शुल्क बीमा कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने बताएका छन् ।
नि:शुल्क दुर्घटना बीमा अन्तर्गत व्यापारी व्यवसायीहरुले दुर्घटना भएर मृत्यु भएमा शतप्रतिशत बिमांक रकम पाउने, किरिया खर्च वाफत बिमांक रकमको १० प्रतिशत वा १० हजार, घाईतेको अवस्था हेरेर बढीमा शतप्रतिशतसम्म र घाईते भई औषधी उपचार गर्नुपरेको अवस्थामा एक लाखसम्मको औषधी उपचार खर्च पाउने बताइएको छ ।
संघले पहिलो पटक व्यापारी तथा व्यवसायीहरुको नि:शुल्क दुर्घटना बीमा गरेको हो । संघका अध्यक्ष खड्काका अनुसार यो बीमा कार्यक्रम अन्तर्गत व्यापारी तथा व्यवसायीहरुले संघलाई अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
अध्यक्ष खड्काले सकेसम्म यस्तो बीमा दावी गर्नुपर्ने अवस्था कुनै व्यापारीहरुले भोग्न नपरोस भन्दै यदि त्यस्तो अवस्था आईहाले संघका तर्फबाट व्यापारी व्यवशायीहरुको अफ्ठ्यारोमा सानो राहत हुने विश्वास व्यक्त गरे । बीमा कम्पनीका शाखा प्रबन्धक रेग्मीले व्यापारी व्यवसायीहरुले सहजै बीमा दावी गर्न सक्ने बताउँदै उनले बीमा दावीमा कुनै अफ्ठ्यारो नहुने बताएका छन् ।










