शेयेर गर्नुहोस
टीकापुर २२ भदौ /
टीकापुरमा बिधालय स्तरीय नृत्य प्रतियोगिता “टीकापुर डान्स आइकन” सुरु भएको छ ।
द क्राउन डान्स एण्ड जुम्बा सेन्टरको आयोजनामा टीकापुर डान्स आइकन सुरु भएको हो । प्रतियोगिताको अडिसन राउण्ड र मेघा अडिसन सम्पन्न भएको छ । अब सेमिफाइनल र फाइनल राउण्ड बाँकी रहेको छ । पाँच सय भन्दा बढीले प्रतियोगिताको अडिसन राउण्डबाट दुई सय जनाले मेघा अडिसनमा सहभागिता जनाएका थिए । त्यसबाट ५४ जना प्रतियोगी सेमिफाइनलका लागि छनोट गरिएको जुम्बा सेन्टरका सञ्चालक अर्जुन विकले जानकारी दिएका छन् ।
“नो भोट, नो टिकट सहितको प्रतियोगिता निकै उत्साहका साथ चलिरहेको छ ।” उनले भने, “सेमिफाइनल र फाइनल पनि निकै उत्साहका साथ हुने विश्वास लिएका छौँ ।” उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद सहित प्रमाणपत्र, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर प्राप्त गर्नेछ भने प्रतियोगिताको दोस्रो हुने प्रतियोगीले २५ हजार नगद, प्रमाणपत्र सहित कभर भिडियोमा अभिनयको अवसर सहित६ महिनासम्म निशुल्क नृत्य प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने प्रतियोगीले भने १० हजार नगद, प्रमाणपत्र र तीन महिनाको निशुल्क नृत्य प्रशिक्षणमा सहभागी हुन पाउनेछन् । सेन्टरका सञ्चालक विकले नृत्य बिद्यालाई थप उचाईमा पुर्याउनका लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले नृत्य बिद्यामा भविष्य देखेका कलाकारहरुका लागि टीकापुर डान्स आइकन एक राम्रो मञ्च भएको बताएका छन् ।
“अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा कला संस्कृतिसँग जोडिएका गतिविधि प्रायः कमै हुने गरेका छन् । एउटा कलाकारले मञ्च पाउनका लागि महोत्सव लगायतका कार्यक्रम कुरेर बस्नुपर्छ ।” उनले भने, “त्यो परिस्थितिलाई चिर्नको लागि टीकापुर डान्स आइकन सिजन एक सुरु गरेका हौं । अब यसलाई हरेक वर्ष निरन्तरता दिँदै जानेछौं ।”










